सगरमाथाको चुचुरोमा नयाँ संविधान
ठीक ५ बजेर सत्ताइस मिनेटमा सगरमाथामा बाइस वर्षे ठिटाले अर्को पाइला थपे। मे २१ का दिन प्रधानमन्त्री केपी शर्मा ओलीले दिएको संविधान बोकेर सगरमाथा पुगेका थिए-अनिश लुइँटेल। हुन त एक्काइस वर्षको हुँदा सगरमाथाको 'पिक टु'सम्म पुगे पनि भूकम्पले सपना तहसनहस बनाइदिएको थियो।
भन्छन्, 'संविधान लिएरै जान जुरेको रहेछ, एक वर्ष पाको भएँ। अरू केही दुखेसो छैन। पोहोर साल संविधान बनोस् भन्ने उद्देश्यका साथ सगरमाथा उक्लिँदै थिएँ। यो वर्ष ऐतिहासिक संविधान लिएर पुगेँ। राष्ट्रका लागि यति गर्नु मेरो कर्तव्य ठानेको छु मैले।'
'सगरमाथामा पुर्याएर ल्याएको संविधान प्रधानमन्त्रीलाई दिएपछि उहाँले खुसीले माथि उचाल्नुभयो। मेरो लागि त्यो क्षण निकै अविस्मरणीय भयो', उनी भन्छन्, 'तर, मेरो चिन्ता दुःखले पाएको संविधान सफल रूपमा कार्यान्वयन होस् भन्ने हो। यो विश्वको पहिलो संविधान हो, सगरमाथा पुग्ने।'
झापाका अनिश लुइँटेलको सगरमाथा पुग्ने चाहना त्यति बेला पलायो जति बेला उनले पासाङ ल्हामु शेर्पाबारे विद्यालयमा पढे। स्कुले शिक्षा सक्नेबित्तिकै माउन्टेरिङ व्यवसायमा लागे। सन् २०१४ मा 'आइरल्यान्ड पिक' चढे। अन्नपूर्ण र कञ्चनजंगा आधार शिविरसम्म दुईदुई पटक पुगिसकेका छन्।
संविधान लिएर सगरमाथा पुग्ने नेपाल स्काउटबाट सगरमाथा जाने पहिलो व्यक्ति बने उनी। वल्र्ड स्काउटबाट भने दोस्रो। स्काउटका संस्थापक रोबर्ट बाडेनको भनाइ छ, 'इफ यु गो फरवाड यु विल डाई, इफ यु गो वाकवार्ड यु विल डाई, सो इट्स बेटर टु गो फरवार्ड एन्ड डाई।' अनिश यही भनाइलाई मनन गर्दै अघि बढे।
...
उनलाई लाग्छ, युवाहरू मुलुकमा स्थिर राजनीतिक वातावरण खोजिरहेका छन्। राजनीतिक वातावरण अनुकूल भएमा, संविधान कार्यान्वयन भएमा देश विकासमा युवाहरू परिवर्तनको संवाहक बन्न सक्नेछन्। 'हाम्रो ऐतिहासिक संविधानको गरिमा अझ उच्च राख्न सगरमाथामा पुर्याएको हुँ। युवाहरू मुलुकमा केही गर्न चाहन्छन् भन्ने सन्देश दिन चाहन्छु', उनी भन्छन्।
उनलाई सगरमाथाको चुचुरो टेक्नेबित्तिकै खुसीले बेस्सरी चिच्याउँछु, कराउँछु भन्ने लागेको थियोे तर त्यस्तो भएन। 'मेरो आँखाबाट आफसेआफ आँसु खसे। भावुक बनेछु तर त्यो खुसीको आँसु थियो। चुचुरो चुम्नेबित्तिकै ढोगेँ।
संविधानसहित चढ्न पाउँदा भाग्यमानी माने आफैंलाई। त्यसपछि प्रधानमन्त्रीले दिएको संविधान र राष्ट्रिय झन्डाको तस्बिर लिएँ। त्यसपछि नेपाल स्काउटको ब्यानरको तस्बिर लिएँ। अनि त्यहाँबाट तलतिर नियालेँ। गजबै देखिँदो रहेछ। बादलभन्दा माथि थिएँ म, तलतिर सानासाना पहाडजस्तो देखिन्थ्यो। त्यहाँ केही समय बिताएँ।'
तलतिर झर्ने क्रममा कसैले उनको नाक थुनिदिएझैं लाग्यो। उनलाई सास फेर्न पनि गाह्रो भइरहेको थियो।सुरुमा त संविधान लिएर सगरमाथा जान्छु भन्दा कसैले पनि पोजेटिभ रेस्पोन्स दिएनन्। अन्त्यमा प्रधानमन्त्रीले इच्छा देखाए। आर्थिक सहयोगका लागि पर्यटन मन्त्रालय गएँ। मन्त्रालयका सहसचिवले 'संविधान चाहिएको होइन ? दुईचार थान म किनेरै दिन्छु' भने।
सगरमाथा आरोहणका लागि अघिल्लोपटक उनले २६ लाख रुपैयाँ खर्च गरे। यस वर्ष १४ लाख रुपैयाँ। झापाबाट 'सगरमाथा आरोहण सहयोग समिति' ले उनलाई सहयोग गरेको थियो।
...
सगरमाथाको रुटमा जम्मा चारवटा क्याम्प छन्। साउथ कोल भन्ने ठाउँ क्याम्प फोरदेखि माथि छ। त्यसलाई डेथ जोन पनि भनिन्छ। जेनिफर भन्ने क्याम्प पनि त्यस्तै खतरनाक छ। बेसक्याम्पदेखि क्याम्प वानसम्मको बाटो निकै अप्ठ्यारो छ।
क्याम्प फोरबाट दिउसो हिँड्न सम्भव हुँदैन, निकै फोर्सले चिसो हावा चल्छ। 'म क्याम्प फोरबाट रातभरि हिँडेर बिहान ५ बजेर २७ मिनेट जाँदा सगरमाथा पुगेँ', उनले भने। आरोहणको त्यो रोमाञ्च उनी जीवनभरि भुल्न सक्दैनन्।