'शव चाँडै पठाउन पहल भइरहेको छ '
काठमाडौं: नेपालीलगायत अफगानी नागरिक चढेको गाडीमा स्थानीय समयअनुसार बिहानको ५:४० बजे आत्मघाती बम हमला भएको थियो।
म निरन्तर रूपमा अफगानी सरकारी अधिकारी र मृतक नेपालीहरूले काम गर्दै आएको कम्पनीका प्रतिनिधिसँग सम्पर्कमा छु।
पाकिस्तानबाट हरेक दिन बिहान दुईवटा उडान हुने गर्छन्। दुवै उडान छुटिसकेका थिए। हामीले घटनाबारे सूचना पाउँदा ढिला भइसकेको थियो।
मंगलबार बिहानको पहिलो उडानबाट म काबुल पुग्नेछु। त्यसपछि मृतक नेपालीको शव चाँडो नेपाल फर्काउन प्रयास गर्नेछु।
अफगान सरकारले नेपालीहरूको शव स्वदेश पठाउन सहयोग गर्ने वचन दिइसकेको छ।
घटनामा परी घाइते भएकाहरूको उपचारमा समेत उनीहरूले सहयोग गरिरहेका छन्।मृतकहरूको शव काबुलस्थित एक अस्पतालमा राखिएको छ।
घाइते ७ जना नेपालीको उपचार अर्को एक अस्पतालमा भइरहेको छ।
मान्यतया: अफगानिस्तानबाट कानुनीलगायत आवश्यक प्रक्रिया पूरा गरी शव नेपाल पठाउन सातदेखि १० दिन लाग्ने गरेको भए पनि अहिलेको विशेष अवस्थामा सक्दो चाँडो पठाउने व्यवस्था मिलाइदिन हामीले आग्रह गरिसकेका छौं।
(इस्लामाबादस्थित कार्यवाहक नेपाली राजदूत तीर्थराज अर्यालसँगको टेलिफोन कुराकानीमा आधारित)