डायस्पोराबाट गिरीको ‘सम्सारा सोसियल’
काठमाडौं : नेपाली डायस्पोरा सञ्जालमा ‘एक पटकको नेपाली सधैंको नेपाली’ भन्ने अभिमत शिरोधार्य छ। जो कोही विश्वको जुनसुकै कुनामा भए पनि उसले नेपाल र नेपालीको स्मरण नगरी बस्न सक्दैन। मातृभूमि नेपालको सांस्कृति,भाषिक,आर्थिक एवं सामाजिक विकासको निम्ती नेपालीहरूले थोरै समय निकालेर काम गरिरहेका हुन्छन्। नेपाली धर्म,भाषा,संस्कृति र सभ्यतालाई जीवन्त तुल्याउन विभिन्न कामहरू गरिरहेका हुन्छन्।
उनीहरूले गरेको सानो कामले सामाजिक एवं सांस्कृतिक गतिविधिहरूबाट कर्मभूमि र मातृभूमिबीच जोडने एउटा सेतु बन्ने गरेको छ। नेपाली-नेपालीबीच जोडने ‘पुल’बनिरहेको छ। सामाजिक व्यक्तित्वहरूको कार्यले नेपालमा रहेका नागरिकहरू कुनै न कुनै रूपले लाभान्वित भइरहेका छन्।
त्यस्तै नेपाली भाषाको माध्यमबाट विज्ञान र प्रविधिको क्षेत्रमा केही काम गरौं भनेर अमेरिकामा बसेका नेपालीहरूले ‘सम्सारा सोसियल’नामको साइट सञ्चालन गरेका छन्। खासगरी विज्ञान विषयमा रूची भएका विद्यार्थी र पाठकहरूलाई केन्द्रित रही सो साइट नेपाली र अंग्रेजी दुबै भाषामा सञ्चालनमा ल्याइएका छन्।
हेर्दा सामान्य साइट देखिए पनि विज्ञानका लागि निकै उपयोगी देखिन्छ। जानकारीमूलक र नेपालमा विज्ञान अध्ययन गरिरहेका विद्यार्थीलाई लक्षित गरेर यसको परिकल्पना गरिएको छ। ४ वर्षदेखि नेपालमा विज्ञान विषयमा अध्ययन गरिरहेका विद्यार्थीलाई नेपाली भाषामै विज्ञानको बारेमा जानकारी दिने उद्देश्यले साइट सञ्चालनमा रहेको छ। वैज्ञानिक प्रयोगमा आउन नसक्ने विज्ञान र जीवनोपयोगी सीप दिन नसक्ने शिक्षालाई आ-आफ्नै संघर्षले चुनौती दिइरहेका छन्। कति धेरै वैज्ञानिक र प्रतिभाहरू अवसर नै नपाइ आफ्ना क्षमता उजागर गर्न पाइरहेका छैनन्। सधैं इच्छाशक्तिले डोर्याएर वा संघर्ष गरेर अगाडि बढिरहेका हुन्छन्। ती संघर्षशील मनहरूलाई विश्व किरण गिरीले आफ्नो साइट समर्पण गरेका हुन्।
नेपालमा वन विज्ञानमा स्नातकसम्मको अध्ययनपश्चात् सन् २०११ मा उच्च शिक्षाको लागि अमेरिका गएका विश्व किरण गिरीले सो साइट सञ्चालनमा ल्याएका छन्। उनले संयुक्त राज्य अमेरिकाको द युर्निर्भसिटी अफ नर्थ क्यारोलिना एट ग्रीन्सबोरोबाट जीवविज्ञानमा विद्यावारिधि गरेका छन्।
आफ्नो अध्ययनको क्रममा उनले जीव विज्ञानको क्षेत्रमा अनुसन्धान गर्दै आइएको उन्नत विषय ‘लाइफ हिस्ट्रि इभोलुसन’ अर्थात् ‘जीवन इतिहास विकास’मा अध्ययन तथा अनुसन्धानपछि यो साइट सञ्चलनमा ल्याएको देखिन्छ। ‘विभिन्न अनलाइनहरू सञ्चालन छन्। ती सबै समाचारमूलक हुन् हाम्रो ध्यान त्यता होइन विज्ञान प्रविधिमा देखिएको विश्वव्यापी नयाँ विषय वस्तुलाई नेपाली विद्यार्थीलाई नि:शुल्क रूपमा जानकारी दिनु रहेको छ,' गिरीको भनाइ छ।
इभोलुसन विषयमा गरेको अध्ययन र योगदानको कारण गिरी सोसाइटी फर स्टडी अफ इभोलुसन (एस.एस.ई) अमेरिकाको सदस्यसमेत रहेका छन्। उनको अनुसन्धान विकासवादी मोडेल जीव प्रयोग गरी ‘जीवन इतिहास दुविधा’को आनुवंशिक आधार पहिचान गर्नमा केन्द्रित थियो । अध्ययनको क्रममा डा.गिरीले जीवविज्ञान अनुसन्धानमा प्रयोग गरिने आधुनिक र क्रान्तिकारी प्रविधिहरू,जस्तै – जीनोमिक्स, ट्रान्सक्रिप्टोमिक्स र बायोइनफा ‘रमैटिक्स प्रयोग गर्ने अवसर प्राप्त गरेका थिए।
अध्ययनका क्रममा नवीनतम अनुसन्धान विधिहरू र उपकरणहरू प्रयोग गर्दै गर्दा उनले महसुस गरे कि कुनै पनि विषयलाई व्यापकरूपमा बुझ्न पाठकको मातृभाषामा अध्ययन सामग्री उपलब्ध हुनु अत्यावश्यक छ। उनले नेपाल जस्तो देशमा विज्ञान शिक्षाको प्रवर्द्धनलाई सीमित पार्ने मुख्य कारकहरूमध्ये एक नेपाली भाषामा विज्ञानका विषयवस्तुको सीमित उपलब्धता हो भन्ने बुझे। वास्तवमा,नेपाली भाषीहरूलाई लक्षित गर्ने र नेपाली सामाजिक सन्दर्भलाई सम्बोधन गर्ने कुनै विज्ञान पत्रिका उपलब्ध छैन। मातृभाषामा विज्ञान र प्रविधिको बारेमा ज्ञान प्रदान गर्ने सामग्रीको उपलब्धता हुँदा देशको फराकिलो श्रोतासम्म विज्ञान प्रति को आकर्षण बढाउन मद्दत गर्दछ। थप रूपमा, मातृभाषामा विषयको सटीक विचार र जानकारी प्रस्ट हुन्छ । त्यसैले विज्ञानलाई केन्द्रमा राखेर ‘सम्सारा’सामाजिक सञ्जाल जो नेपाली भाषामा सञ्चालनमा आएको छ।
गिरिका अनुसारनेपालमा एउटा धारणा छ कि बोर्डिङ स्कुलमा अंग्रेजी पढ्नेहरूले सजिलैसँग सबै कुरा बुझ्छन् र विज्ञान पनि उत्तिकै राम्रोसँग बुझेका हुन्छन् तर त्यो सत्य होइन । ‘कुनै पनि समाजको दैनिक संवादको भाषामा नयाँ र जटिल विषयवस्तु पढ्न, सुन्न, र छलफल गर्न अवसर पाएनौं भने हाम्रो त्यो विषयको बारेमा रहेको ज्ञानमा धेरै त्रुटिहरू उत्पन्न हुने रहेछन्,' डा. गिरीले आफ्नो अनुभव शेयर गरे। डा. गिरी जीनोमिक्स, बायोइन्फर्मेटिक्स र नेक्स्ट जेनेरेशन सिक्वेन्सिङ डाटा जस्ता उदीयमान क्षेत्रहरूबाट उपलब्ध गराइएका नयाँ-युग प्रविधिहरू र उपकरणहरू प्रयोग गर्ने अवसर पाउँदा आफूलाई भाग्यमानी ठान्छन्। पढाइको क्रममा यसलाई बुझ्न र प्रयोग गर्न धेरै चुनौतीहरू आएको उनको भनाइ छ। उक्त अध्ययनका क्रममा उनले नेपालमा विज्ञान शिक्षाको जग मजबुत गराउने आधारहरू स्थापित गर्नुपर्ने आवश्यक रहेको महसुस गरेका छन्। अंग्रेजीमा जटिल अवधारणा बुझ्न धेरै काम गर्नुपर्ने र नेपालको ग्रामीण क्षेत्रमा गुणस्तरीय शिक्षा सामग्रीको पहुँच नभएकालाई विज्ञानको सामग्री र त्यसले प्रस्तुत गरेका तथ्यहरू बुझ्नमा बढी समस्या हुने गरेको उनको भनाइ छ।
उनी स्वयं अंग्रेजी माध्यमको स्कुलकै विद्यार्थी हुन्। जब अमेरिकामा पढ्न थाले, त्यसपछि उनलाई अनुभूति भयो नेपालमा पढाइने विज्ञान विषयको आधारभूत ज्ञान कमजोर छ। त्यसैले उनले विज्ञान विषयमा सम्बन्धित रहेर लेख लेख्ने र त्यसलाई विद्यार्थीसम्म पुर्याउने परिकल्पना गर्न थाले। त्यही परिकल्पना अनुसार सुरुमा आफ्नो विषय अन्तर्गतको शैक्षिक ब्लग लेख्न थाले। त्यसपछि धेरै पाठकसम्म पुग्न अलि भरपर्दो साधन तयार गर्न सम्सारा सोसियल साइटकै अवधारणा तयार गरे। त्यसो त उनी आइटी विषयका जानकारसमेत हुन्। वेबसाइटको प्रारम्भिक डिजाइन र एपसमेत स्वयंले नै बनाए।
सन् २०२० बाट उनले सम्सारा सोसियल वेवसाइट बनाएर काम गर्न थाले। विज्ञान विषयमा केन्द्रित रहेपनि साहित्य र कलालाई समेत स्थान दिने गरिएको छ। मूलतः अंग्रेजीमा लेख्ने गरे पनि ती सामाग्रीलाई नेपालीमा पनि प्रकाशित गर्दै हुँदै आएका छन्। ती सामग्रीलाई नेपाली र अंग्रेजीमा अडियो सामग्री बनाउने र ती सामग्रीलाई पुनः भिडियो सामग्री बनाएर पस्किने गरेका छन्।
विज्ञानका विभिन्न विषयमा सतहभन्दा भित्र पुगेर अध्ययन सामग्री तयार गर्ने र कतिपय अनलाइनबाट पनि साभार गरेर ती सामग्रीलाई नेपालीमा अनुवाद गरी अडियो सामग्री सहित पस्किने गरेका छन्। नेपालबाहिर रहँदैमा नेपालीत्व छोड्न सकिँदैन र चाहेर पनि आफू र आफ्ना पूर्वज जन्मेको माटोको माया छाड्न सकिँदैन भन्ने मूल उद्देश्यका साथ लामो समयदेखि साइटमा काम गरिरहेका छन् विश्वभरि फैलिएका लाखौँ नेपाली मनले नेपाली पहिचान, सम्बन्ध र केही हदमा समृद्धिको विस्तार गरिरहेका छन्। अर्को अर्थमा नेपाली माटोको सुवास फैलाइरहेका छन्। नेपाली राष्ट्रियताको विस्तार गरिरहेका छन्। तिनीहरू नै नेपालका सच्चा दूत पनि हुन्। केहीअघि अन्तर्राष्ट्रिय आप्रवासी संगठनले करिब साठी लाख नेपाली मनहरू नेपाली डायस्पोराका रूपमा विश्वभरि फैलिरहेको जनाएको बेला गिरीले नेपाली विज्ञान अध्ययन गर्नेहरूका लागि गरिरहेको योगदान एक प्रकारले अतुलनीय रहेको छ।
प्रतिक्रिया दिनुहोस !