केही समस्या परे सम्पर्क गर्न अमेरिकामा रहेका नेपालीलाई अनप्याकको आग्रह
काठमाडौं : पछिल्लो समय अमेरिकामा उत्पन्न राजनीतिक परिस्थितिले कुनै समस्या उत्पन्न भए वा कानुनीलगायतका परामर्श सेवा चाहिएमा तत्काल जानकारी गराउन युनाईटेड नेपाली पोलटिकल एक्सन कमिटि (अनप्याक) अमेरिकाले नेपाली अमेरिकन समुदायलाई अपिल गरेको छ ।
अनप्याकका चेयरम्यान एड्रियन पोखरेलले मंगलबार अपिल सन्देश जारी गर्दै उक्त आग्रह गरेका हुन् । गैरनाफामुखी संस्थाका रुपमा अमेरिकी सरकारबाट अनुमति प्राप्त गरी सञ्चाचित अनप्याकले विविध अप्ठयारा परिस्थितिहरूमा नेपाली अमेरिकन समूदायलाई सघाउँदै आइरहेको छ । अनप्याकको केन्द्रीय हेडक्वार्टर अमेरिकाको भर्जिनिया राज्यमा रहेको छ । जहाँ उल्लेख्य संख्यामा नेपाली अमेरिकन समूदायको बसोबास रहेको छ ।
‘नेपाली अमेरिकन समुदायमा परेको समस्या हाम्रो पनि समस्या हो,'अनप्याकका चेयरम्यान पोखरेलले भनेका छन्, ‘ त्यो समस्याहरूलाई समाधान वा हल गर्न हामी एकजुट भएर लाग्न चाहान्छौं ।’ अमेरिकामा विविध क्षेत्रमा लोकप्रिय रहेका नेपाली अमेरिकनहरू अनप्याकमा रहेका छन् ।
अनप्याकको डेपुटी डाइरेक्टर सविना अर्याल,कार्यकारी सचिव सोमनाथ घिमिरे, कम्युनिटी आउटरिच डाइरेक्टर प्रितेश कार्की, डेभलपमेन्ट डाइरेक्टर डिल्ली भट्टराई, कानुनी सल्लाहकार बन्दिता शर्मा दाहाल, पोल्टिकल डाइरेक्टर नवराज केसीलगायतका आवद्ध छन्।
पछिल्लो समय अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले त्यहाँ गैह्रकानुनीरुपमा बसेका आप्रवासीहरूमाथि कारवाही अघि बढाएको छ। ट्रम्प प्रशासनले अमेरिकामा रहेका सयौं अवैध आप्रवासीहरूलाई पक्राउ गरी सम्बन्धित मुलुकमा पठाउन सुरू गरेको छ।
प्रतिक्रिया दिनुहोस !