योग: मानवीय एकताको सूत्र

योग: मानवीय एकताको सूत्र

हरेक वर्षको जुन २१ लाई संयुक्त राष्ट्रसंघले विश्व योग दिवसको रूपमा मनाउने निर्णय गरेको छ। भारतले सन् २०१४ मा संयुक्त राष्ट्रसंघको ६९औँ महासभामा जुन २१ लाई विश्व योग दिवसको रूपमा मनाउने प्रस्ताव गरेको थियो, जसलाई पछि अत्यधिक बहुमतका साथ १७५ सदस्य राष्ट्रहरूले अनुमोदन गरे।

गत वर्ष पहिलोपटक मनाइएको यो दिवसमा विश्वका विभिन्न देशमा लाखौँ मानिस योगका माध्यमबाट एकताबद्ध भए र आफ्नो शारीरिक, मानसिक र आध्यात्मिक स्वास्थ्य प्रवद्र्धनको दिशामा संकल्पित भए। यो वर्ष पनि योगको अभियानमा धेरै मानिस जोडिनेछन्।

योग संस्कृतको 'युज्'धातुबाट बनेको हो, जसको अर्थ हुन्छ जोड्नु। हामीलाई हाम्रो अन्तरचेतनासँग जोड्ने विधि हो योग। सामान्य अर्थमा बुझ्दा हामीलाई परमात्मासँग मेल गराउने माध्यम हो योग।योग भारतीय उपमहाद्वीपमा शताब्दीयौँ अगाडि प्रतिपादित आध्यात्मिक पद्धति हो।

ऋषिमुनीहरूले सनातनकालदेखि योगसाधना गर्दै आएका भए पनि योगलाई व्यवस्थित र बेग्लै दर्शनको रूपमा विकास गर्ने काम पतञ्जलिले गरेका हुन्। उनीद्वारा प्रतिपादित योगसूत्रलाई योगदर्शनको आधिकारिक थालनीका रूपमा लिइन्छ।

पतञ्जलिले योगसूत्रबाट अष्टांग योगको प्रतिपादन गरेका हुन्। यसमा यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि पर्दछन्। प्रथम पाँच अंग (यम, नियम, आसन, प्राणायाम, प्रत्याहार) बहिरंग साधनाअन्तर्गत पर्छन् अर्थात् ती योगका लागि आवश्यक बाह्य तयारीका अंगहरू हुन्।

 

अन्तिम तीन (धारणा, ध्यान, समाधि) चाहिँ अन्तरंग साधनाका अंगहरू हुन्, जो योगको वास्तविक लक्ष्य अर्थात् चित्तवृत्तिको सम्पूर्ण निरोध र परमात्मासँगको एकात्मतासँग सम्बन्धित छन्।

योगले जोड्ने अर्थात् मिलन गराउने काम गर्ने भएकाले अन्य विभिन्न आध्यात्मिक साधनाका पद्धतिलाई पनि योगको नाम दिने गरिएको छ। जस्तै- मन्त्रयोग, तन्त्रयोग, लययोग, नादब्रह्मयोग, हठयोग आदि। यी सबै कुनै एक साधनको माध्यमद्वारा परमात्मासँग एकाकार हुने पद्धतिहरू हुन्।

भगवद्गीतामा कृष्णले अर्जुनलाई योगको शिक्षा दिनुभएको छ, जसमा क्रियायोग, भक्तियोग र ज्ञानयोग मुख्य छन्। जेजे नाम वा पद्धति भए पनि यी सबै योगले कुनै एक आलम्बनको प्रयोग गरी चित्त वृत्तिहरूको निरोध गर्ने र चित्तलाई एकाकार बनाई अन्तत: निर्विकल्प चैतन्यको अवस्थामा पुग्ने बाटो देखाउँछन्।

आजभोलि हठयोगलाई मात्र योग भनेर बुझ्नेने गरिएको छ, खासगरी पश्चिमा जगत्मा। हठयोगमा शरीरको साधना महत्वपूर्ण हुन्छ। यसका मुख्य दुई साधन छन् : शरीर र श्वास। मनलाई साधनाबाट यी दुईमा पूर्णरूपमा एकाकार गरिसकेपछि मनबाट माथि उठ्दै विशुद्ध चेतनाको स्तरमा पुग्न सकिन्छ, जसका लागि कठिन साधना गर्नुपर्छ।

मोक्षको लक्ष्य हठयोगबाट पनि प्राप्त हुन सक्छ, तर यसको लागि एक स्तरमा पुगिसकेपछि शरीर र श्वासबाट ध्यानलाई अर्को चरणमा पुर्‍याउनुपर्छ र चेतनाको विशुद्ध स्तरमा स्थित हुनुपर्छ। 

सही विधिद्वारा गरियो भने योग र प्राणायामले हिन्दुलाई जुन लाभ दिन्छ, क्रिश्चियन, बुद्धिस्ट, मुस्लिम वा शिखलाई पनि उही लाभ दिन्छ। शरीरको संरचना सबैको उही हो, सबैले फेर्ने उही श्वास हो। यसमा कसैले धार्मिक आस्था जोड्नु आवश्यक छैन।

यही हठयोगको प्रारम्भिक चरण अर्थात् शरीर र मनको साधनालाई हामीले सामान्यतया योग भनेर बुझ्नेने गरेका छौँ। एक अर्थमा भन्नुपर्दा, हामीले आफ्नो धरोहरलाई बिर्सेर पश्चिमा आँखाले नै योगलाई बुझ्नेने गरेका छौँ। हामीले बुझ्नेने गरेको र चलनचल्तीको भाषामा रहेको 'योगा'यही हठयोगको प्रारम्भिक साधना मात्र हो, अंग्रेजीमा भन्ने गरिएजस्तै 'टिप अफ द आइसबर्ग'मात्र हो।

योगको माथिल्लो चरणमा पुगिसकेपछि आफू र संसारको फरक मेटिन्छ। आफू जस्तो हो, अरू पनि त्यस्तै देखिन थाल्छ। योगमा हाम्रो चेतनाको उच्चतम अभिव्यक्ति हुन थाल्छ। 'अहम् ब्रह्मास्मि'र 'तत्वमसि'यही उच्चतम चेतनाको अवस्थामा उत्पन्न अभिव्यक्ति हुन्।

पहिलोको अर्थ हुन्छ- म ब्रह्मस्वरूप हुँ। दोस्रोको अर्थ हुन्छ- तिमी पनि त्यही हौ। जे म हुँ, त्यही तिमी हौ। तिमी र ममा फरक छैन। तिम्रो र मेरो शरीर फरक होला, रूपरंग फरक होला, सोचविचार, बानीव्यवहार फरक होला।

धनसम्पत्तिको स्तर फरक होला, तिमी धर्मात्मा र म पापी हुँला, तिमी महान् बुद्धिमान र म पटमूर्ख हुँला, तर ती सब बाहिरी आवरणका अभिव्यक्तिहरू मात्र हुन्। सारमा तिमी र ममा फरक छैन।

हाम्रो अस्तित्वका विभिन्न तह छन्। जुन तहसँग हामी परिचित छौँ, त्यो पूर्णसत्य होइन, आंशिक सत्य मात्र हो। तिम्रो अस्तित्वको अन्तरतम तहमा जुन विशुद्ध चेतना छ, त्यो तिमी र ममा फरक छैन। अरू सबै आवरण हुन्, जुन फरक देखिन्छन्।

'अहम् ब्रह्मास्मि'र 'तत्वमसि'मा जुन ब्रह्मको अभिव्यक्ति छ, त्यो हाम्रो हिन्दु पौराणिक परम्पराको चार टाउका भएको ब्रह्मा भगवान् होइन, बरु ब्रह्माण्डीय चेतना हो। यो निरन्तर छ, चैतन्य र आनन्दस्वरूप छ। हामी जन्मिनुभन्दा अर्बौं वर्ष अगाडिदेखि यो छ र हामी मरेको अर्बौं वर्ष पछाडिसम्म पनि यो रहनेछ।

उच्चतम अर्थमा योगले हामीलाई यही ब्रह्माण्डीय चेतनासँग एकाकार गराउँछ। यसैलाई कसैले परमात्मा भन्छन्, कसैले कृष्ण चैतन्य, वा कसैले बुद्धतत्व। योगले हाम्रो अन्तरचेतनालाई यही परमात्मासँग एकाकार गराउँछ। तपाईं यसलाई खुदा भन्नुस् वा गड वा कस्मिक कन्ससनेस, कुरा उही हो।

योगले हामीबीचको दूरी र विभेद समाप्त पारी स्वाभाविक रूपमा हामीलाई मानवीय एकताको सूत्रमा बाँध्छ। हामी सबै ब्रह्माण्डीय चेतनाका ससाना अभिव्यक्तिहरू हौँ, जसलाई विभिन्न आवरणहरूले छोपेको छ। हाम्रा खोल फरक-फरक छन् तर गुदी एउटै छ।

विश्व योग दिवसले वास्तवमा योगका माध्यमद्वारा मानवीय एकतामा जोड दिएको छ। योगको प्रारम्भिक साधना भए पनि आसन र प्राणायामले हामीलाई योगमार्गमा प्रवेश गराउँछ। आसन हाम्रो शारीरिक स्वास्थ्यको लागि हो, यसमा कुनै साम्प्रदायिकता छैन।

प्राणायाम पनि हाम्रो शारीरिक स्वास्थ्यको लागि हो। श्वास जसले पनि फेर्छ, यसमा कुनै सम्प्रदायको आधिपत्य छैन। आसन र प्राणायामले शरीर मात्र नभई मन पनि स्वस्थ र निर्मल पार्दछ।

विभिन्न देशका वैज्ञानिक, डाक्टर, मनोचिकित्सक र अनुसन्धाताहरूले यसको प्रभावकारिताको अध्ययन गरिरहेका छन् र सबैको निचोड उही छ। सही विधिद्वारा गरियो भने योग र प्राणायामले हिन्दुलाई जुन लाभ दिन्छ, क्रिश्चियन, बुद्धिस्ट, मुस्लिम वा शिखलाई पनि उही लाभ दिन्छ। शरीरको संरचना सबैको उही हो, सबैले फेर्ने उही श्वास हो। यसमा कसैले धार्मिक आस्था जोड्नु आवश्यक छैन।

-पौडेल नीति तथा सदाचार संस्थाका अध्यक्ष हुन्।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.