पिंक टिफानी रेस्टुराँमा मेघना खुसी
भूकम्पले तहसनहस बनाएको वसन्तपुरको पछाडि झोंछेमा शुक्रबारको वातावरण पृथक् देखियो । तेस्रोलिंगीका रूपमा चिनिएकी मेघना लामाले सञ्चालन गरेको रेस्टुराँ पिंक टिफानीको वार्षिक उत्सवका अवसरमा रेस्टुराँवरिपरि रंगीचंगी बेलुन सजाइएका थिए ।
रंगीन ध्वजाहरू फर्फराइरहेका थिए । गीत घन्किरहेको थियो । हुक्काका पारखीहरू सर्को लिइरहेका थिए । रेस्टुरेन्टको मूलढोकास्थित ढुंगाबाट बनेको घडा पानी र फूलले सजाइएको थियो । मेघना आकर्षक पहिरनमा आवश्यक चाँजोपाँजो मिलाउन तल्लीन थिइन् ।
आफूले स्थापना गरेको रेस्टुराँको वार्षिक उत्सव मनाउन मेघना लामाले आयोजना गरेको कार्यक्रममा उनी निकै खुसी देखिएकी थिइन् । सो खुसी उनले आफ्ना शुभचिन्तक एवं ग्राहकसँग बाँडिन् ।
गत वर्षदेखि सञ्चालनमा आएको ‘पिंक टिफानी’ले अब चाँडै नै ठमेलमा अझ स्तयरीय शाखा खोल्ने तयारी गरिरहेको मेघनाले जानकारी गराइन्, जुन शाखा तेस्रोलिंगीलाई ध्यानमा राखेर खोलिनेछ ।
तेस्रोलिंगी समुदायका मानिसले अरू क्षेत्रमा अवसर नपाएको र तेस्रोलिंगी आफैंले रेस्टुरेन्ट खोलेर काम दिएकोमा गर्व लागेको अनुभव बाँडिन् । ‘तर यहाँ तेस्रोलिंगीमात्रै होइन, महिला पुरुष पनि काम गर्दै आएका छन्’, मेघनाले भनिन् । मेघना आफ्नो रेस्टुरेन्टको रेखदेख प्रायः आफंै गर्छिन् ।
अमेरिकी दूतावासमा युवाहरूका लागि परामर्शदाताका रूपमा समेत कार्यरत मेघना बेलाबेलामा फेसन सोमा मोडलिङ पनि गर्छिन् ।
झापानिवासी मेघनालाई विगतका कुरा सम्झिँदा दिक्क लाग्छ । घरमा एक्लो बच्चा भए पनि बुवाआमाले तेस्रोलिंगीका रूपमा स्वीकार नगरेकाले समाजबाट पनि अपहेलना भोग्नु परेको तीतो अनुभव मानसपटलमा घुमिरहन्छ । त्यसैले आफू काठमाडौं बसाइँ सरेको उनले खुलासा गरिन् । तापनि हरेक वर्ष घर सम्झेर झापा जाने गर्छिन् ।
पछिल्लो समय आफ्नै बलबुतामा केही गरेर देखाएपछि छरछिमेकी एवं समाजले राम्रो नजरले हेर्न थालेकोमा उनलाई रमाइलो लाग्न थालेको छ । ‘म आजकल घर गएको बेलामा सबै भेट्न आउँछन् । कुराकानी गर्छन्, समाज विस्तारै परिवर्तन हुँदैछ’, मेघनाले भनिन् । तेस्रोलिंगीलाई हेर्ने दृष्टिकोण परिवर्तन गर्न पनि आफूले व्यापार सुरु गरेको उनको भनाइ छ ।
तेस्रोलिंगीहरू प्रतिभावान् भएर पनि समाजमा केही गर्नसक्ने वातावरण नभएकाले आफैंले काम सुरु गरेको उनले बताइन् । ‘समाजमा व्याप्त भेदभाव सम्झँदा दुःख लाग्छ । तेस्रोलिंगीहरू समाजमा केही गर्न अवसरका लागि भौंतारिइरहेका छन्’, उनले भनिन्, ‘हामीले पनि सम्मानका साथ बाँच्न पाउनुपर्छ।’