दलाई लामाले लेडी गागालाई भेटेपछि भड्कियो चीन
![दलाई लामाले लेडी गागालाई भेटेपछि भड्कियो चीन](https://annapurnapost.prixacdn.net/media/albums/57721d4d951184.07864353_2RVFXRhPHM.jpg)
बेइजिङ: दलाई लामाले विश्वप्रसिद्ध अमेरिकी गायिका लेडी गागालाई भेटेपछि चीनले कडा आपत्ति जनाएको छ ।
चीनको विदेश मन्त्रालयका प्रवक्ता होन्ग लीले सोमबार भने, 'दलाई लामाको यस भेटघाट र अन्य देशमा भइरहेको उनको गतिविधिले उनी स्वतन्त्र तिब्बतको आफ्नो योजनालाई प्रवर्द्धनमा लागिरहेको पुष्टि गर्छ ।'
दलाई लामाको कार्यालयको वेबसाइटमा सार्वजनिक एक रिपोर्ट अनुसार लेडी गागाले उनको अन्तर्वार्ता लिएकी थिइन् ।
यो अन्तर्वार्तापछि यी दुईबीचको कुराकानीलाई फेसबुकमा लाइभ पनि गरिएको थियो । युएस टुडेका अनुसार लेडी गागाले दलाई लामासँग ३० वटा प्रश्न गरेकी थिइन् ।
अमेरिकन गायिका र दलाई लामाबीच प्रेम, करुणा र चिन्तनका बिषयमा गम्भीर कुराकानी भएको बताइएको छ ।
गायिकाले दलाई लामालाई युवाहरुलाई स्वाभिमानका साथ जिउनका लागि कसरी मद्दत गर्न सकिएला? भनी प्रश्न गरेकी थिइन् ।
यसमा दलाई लामाले भने, 'प्रेम र करुणा जस्ता मूल्यमा ज्यादा ध्यान दिनु नै यसको सबैभन्दा सही तरिका हो ।'
गागाले उनीसँग विश्वमा भइरहेको अन्यायसँग जुध्नका लागि अपनाउनुपर्ने तरिकाबारे पनि प्रश्न गरेकी थिइन् ।
यो अन्तर्वार्तापछि गागाले आफ्नो ट्विटर एकाउन्टमा विशेष भेटघाटको तस्बिर शेयर गर्दै दलाई लामालाई धन्यवाद दिइन् ।
चीनले अन्तर्राष्ट्रिय समुदायलाई दलाई लामाको कुटिल र तिब्बत स्वतन्त्र पार्न खोज्ने उद्धेश्यसँग चनाखो रहन अपिल गरेको छ ।
चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता होन्गले भने, 'हामीलाई विश्वास अन्तर्राष्ट्रिय समुदायका मानिस दलाई लामाको सोच र तरिकाबाट राम्ररी जानकार छन् भन्ने विश्वास छ ।'
समाचार अनुसार अमेरिकाको भ्रमणमा रहेका दलाई लामाले आइतबार विश्वप्रसिद्ध गायिका लेडी गागासँग पनि भेटवार्ता गरेका थिए ।
दलाई लामाले इन्डियानापोलिसमा अमेरिकी मेयर्सको एक भेलालाई पनि प्रवचन दिन भ्याए । यो प्रवचन भन्दा अघि दलाई लामाले लेडी गागासँग भेटवार्ता गरेका हुन् ।
दलाई लामाले दुई हप्ताअघि अमेरिकी राष्ट्रपति बाराक ओबामासँग पनि भेटवार्ता गरेका थिए । यसक्रममा दलाई लामाले चीनको व्यवहारको कडा आलोचना गरेका थिए ।
चीन तिब्बतीहरुका नेता मानिने दलाई लामालाई एक राजनीतिक हस्ती भएको बताउँछ । चीनले दलाई लामामाथि चीनको मूख्य भागबाट तिब्बतको हिमालय क्षेत्रलाई अलग गर्ने खेलमा लागेको आरोप लगाउँदै आएको छ ।
जबकि दलाई लामा भने चिनियाँ शासनलाई स्वीकार्दै तिब्बतमा केबल स्वायत्तता मात्र खोजेको बताइरहेका छन् ।
दलाई लामा जुन जुन देशमा पुग्छन् ती देशको नेतृत्व र नेताहरुमाथि चीनले दबाब दिइरहने कोशिस गर्दै आएको छ ।
प्रतिक्रिया दिनुहोस !
![Unity](https://annapurnapost.prixacdn.net/static/assets/images/unity-logo.png)