स्वास्थ्य बिमाको अवधारणा र प्रभावकारिता

स्वास्थ्य बिमाको अवधारणा र प्रभावकारिता

नेपालको संविधानले 'नागरिकको स्वास्थ्य बिमा सुनिश्चित गर्दै स्वास्थ्य उपचारमा पहुँचको व्यवस्था मिलाउने' प्रावधान गरेको छ। यो समयको माग हो। परम्परागत रूपमा स्वास्थ्य सेवासम्बन्धी खर्च सीमित हुन्थ्यो जुन स्वास्थ्य सेवा प्राप्त गर्ने व्यक्तिले स्वास्थ्य सेवा प्रदायकलाई सीधै तिर्ने गर्थे।

तर हाल स्वास्थ्य सेवासम्बन्धी खर्च आकासिँदै छ र क्यान्सर, हृदयरोग, चिनीरोग, मिर्गौलासम्बन्धी रोगजस्ता घातक रोगहरूको उपचारसम्बन्धी खर्च कतिपय अवस्थामा परिवारले धान्नै नसक्ने भएको छ।

यस्तो अवस्थामा औषधोपचार गर्न घरवारै बेच्नुपर्ने वा औषधोपचार गर्न नसकी देहत्याग गर्नुपर्ने अवस्था आउँछ। यो समस्या समाधानको लागि हाल विश्वका विभिन्न देशमा स्वास्थ्य बिमाको अवधारणा कार्यान्वयन गर्ने अभ्यास बढ्दो छ।

स्वास्थ्य बिमा भन्नाले सामान्यतः स्वास्थ्य खर्च बेहोर्ने कार्यक्रम भन्ने बुझिन्छ। यो रोग तथा दुर्घटनाका कारण हुने स्वास्थ्यसम्बन्धी खर्चको जोखिमविरुद्धको बिमा हो। स्वास्थ्य बिमामा दुर्घटनाबाट भएको हानि-नोक्सानी, स्वास्थ्य खर्च, अपांगता वा आकस्मिक मृत्यु र अंगभंगताको बिमा संलग्न हुन्छ र यसले बिमित व्यक्तिको रोग तथा चोटपटकको उपचारमा लाग्ने खर्च बेहोर्छ।

कुनै पनि स्वास्थ्य बिमा योजनाले तीन पक्षलाई जोड्छ: स्वास्थ्य योजनाका सञ्चालक, स्वास्थ्य योजनाका खरिदकर्ता र स्वास्थ्य सेवाप्रदायक। स्वास्थ्य योजनाका सञ्चालक बिमा कम्पनी जस्ता नाफामुखी, गैरनाफामुखी वा सरकारी संस्था हुन सक्छन्, स्वास्थ्य योजनाका खरिदकर्ता व्यक्ति अथवा कर्मचारीका तर्फबाट रोजगारदाता हुन सक्छन् भने स्वास्थ्य सेवाप्रदायक चिकित्सक र अस्पतालहरू हुन सक्छन्।

स्वास्थ्य योजनाको खरिदकर्ताले भविष्यमा हुन सक्ने अनपेक्षित स्वास्थ्य खर्च बेहोर्न साझा कोषमा योगदान गर्छ। यस्तो योगदान करका रूपमा वा सामाजिक सुरक्षा योगदानका रूपमा वा प्रिमियमका रूपमा नियमित (जस्तै मासिक) रूपमा तिर्नुपर्छ।

यस्तो योगदान दिन नसक्नेको हकमा सरकार वा दाताले सहयोग गर्दछन्। यसबापत बिमित व्यक्तिले स्वास्थ्य सेवा उपभोग गर्ने समयमा औषधि, चिकित्सकसँग स्वास्थ्य परीक्षण, आकस्मिक सेवा, निःशुल्क अस्पताल भर्ना आदि सुविधा पाउँछ वा स्वास्थ्य सेवा उपभोग गर्ने समयमा स्वास्थ्यसम्बन्धी कुनै खर्च बेहोर्नुपरेमा बिमा योजनाको सञ्चालकबाट सो खर्च शोधभर्ना पाउँछ।

स्वास्थ्यसम्बन्धी सुविधा प्याकेजमा के-के सुविधा हुन्छ वा स्वास्थ्यसम्बन्धी कुन-कुन खर्च के-कति दरमा शोधभर्ना पाइन्छ भन्ने कुरा स्वास्थ्य बिमा नीतिमा निर्भर हुन्छ।

बिमा कम्पनी जस्ता स्वास्थ्य योजना सञ्चालकहरूले बिमित व्यक्तिले बेहोरेको स्वास्थ्य खर्चको शोधभर्ना गर्छ। कतिपय सन्दर्भमा बिमा कम्पनीले बिमित व्यक्तिको उपचारमा लागेको खर्च रकमको शतप्रतिशत बेहोर्छ भने अन्य सन्दर्भमा उसले बिमित व्यक्तिको खर्चको तोकिएको प्रतिशतले हुने हिस्सा मात्र बेहोर्न सक्छ। यो सम्झौतामा भर पर्ने कुरा हो।

स्वास्थ्य सेवा प्रदायक सञ्जालभित्रको वा सञ्जाल बाहिरको हुन सक्छ। बिमा कम्पनीसँग सम्झौतामा रहेको सेवाप्रदायकलाई सञ्जालभित्रको र बिमा कम्पनीसँग सम्झौतामा नरहेको प्रदायकलाई सञ्जालबाहिरको प्रदायक भनिन्छ। सञ्जालभित्रका सेवाप्रदायक र बिमा कम्पनीबीच स्वास्थ्य सेवा र औषधि प्रयोगको शुल्क संरचनाबारे सहमति हुन्छ।

सञ्जालभित्रको प्रदायकले सेवा प्रदान गरेमा बिमित व्यक्तिले तिर्नुपर्ने रकम कम हुन सक्छ भने सञ्जालबाहिरको प्रदायकले सेवा प्रदान गर्दा बिमितले तिर्नुपर्ने रकम बढी हुन सक्छ। सञ्जालभित्रको प्रदायकका हकमा प्रदायकले बिमित व्यक्तिलाई प्रदान गरेको स्वास्थ्य सेवावापतको रकम बिमित व्यक्तिबाट नभई सीधै बिमा कम्पनीबाट असुल गर्छ।

अर्कोतर्फ, सञ्जालबाहिरको प्रदायकका हकमा भने बिमित व्यक्तिले प्रदायकलाई स्वास्थ्य उपचारसम्बन्धी खर्च तिर्छ र बिमा कम्पनीसँग आफूले तिरेको रकमको शोधभर्नाका लागि दाबी गर्छ।स्वास्थ्य बिमा निम्नानुसार निजी स्वास्थ्य बिमा, सामाजिक स्वास्थ्य बिमा र सामाजिक कल्याण कार्यक्रमका रूपमा सञ्चालित भएका पाइन्छन्:

निजी स्वास्थ्य बिमा
निजी स्वास्थ्य बिमा निजी कम्पनीहरूले सञ्चालन गर्छन्। स्वास्थ्य बिमा चाहने व्यक्तिले बिमा कम्पनीसँग स्वास्थ्य बिमा खरिद गर्न सक्छन् र आवधिक रूपमा प्रिमियम तिर्छन्। कर्मचारीका हकमा रोजगारदाताले पनि प्रिमियमको केही अंश व्यहोर्छन्। स्वास्थ्य बिमा प्रत्यक्ष वा रोजगारदातामार्फत खरिद गर्न सकिछ।

विकसित देशहरूमा रोजगारदाता प्रायोजित स्वास्थ्य बिमा योजना महत्वपूर्ण हुन्छन्, जहाँ प्रिमियमको ठूलो हिस्सा रोजगारदाताले तिर्छ भने कर्मचारीले सानो हिस्सा तिर्छन्। स्वरोजगारहरूले भने आफ्नो प्रिमियम आफैँ तिर्छन्। केही देशमा प्रिमियम तिर्न नसक्नेहरूको लागि सरकारले नै स्वास्थ्य बिमाको प्रिमियम तिरिदिन्छ। तर स्वास्थ्य बिमा प्रिमियम तिर्न नसक्नेहरूको पहिचान गर्नु भने चुनौतीपूर्ण कार्य हो।

बिमित व्यक्तिको उपचार खर्च र जोखिम बिमा कम्पनीले बहन गर्छ। बिमित व्यक्तिले सेवा प्राप्त गर्ने समयमा पैसा तिर्नुपर्दैन। सहभुक्तानी आदिका रूपमा रकम तिर्नुपरे पनि कुल औषधोपचार खर्चको सानो अंश तिरे पुग्छ। निजी स्वास्थ्य बिमा कार्यक्रम सामान्यतया ऐच्छिक हुन्छ। संयुक्त राज्य अमेरिकामा निजी स्वास्थ्य बिमाको बाहुल्य छ।

 

सामाजिक स्वास्थ्य बिमा
सामाजिक स्वास्थ्य बिमा सामाजिक स्वास्थ्य बिमा योगदानबाट सञ्चालित हुन्छ। यस्तो योगदान सामान्यतया जोखिममा नभई तलबमा आधारित हुन्छ, जहाँ समूहका सदस्यहरूले आफ्नो तलबको केही अंश योगदान दिनुपर्छ र त्यसमा रोजगारदाताको पनि योगदान रहन्छ।

यस्तो योजनामा सहभागिता सामान्यतया औपचारिक क्षेत्रका कर्मचारी रहन्छन्। रोजगारदाताले सामाजिक स्वास्थ्य बिमाको लागि कर्मचारीको तलबबाट निश्चित प्रतिशत काटेर सो रकम र आफ्नो योगदानसहित सामाजिक स्वास्थ्य बिमा कोषमा जम्मा गर्छ।

स्वाथ्य बिमाले आमा मानिसलाई बिरामी भएकोले गरिब हुनबाट जोगाउन र उनीहरुालई सवस्थ र उत्पादनशील जीवन जिउने प्रदान गर्छ। यस किसिमको योजना नेपालमा पनि लागू गरिनुपर्छ। 

संसारका विभिन्न देशले सामाजिक स्वास्थ्य बिमा प्रणाली अवलम्बन गरेका छन्। खासगरी, पूर्व सोभियत संघमा यो प्रणाली प्रचलनमा छ। अमेरिकाको मेडिकेयर प्रणाली पनि सामाजिक स्वास्थ्य बिमाको एउटा उदाहरण हो। मेडिकेयरले ज्येष्ठ वा अपांगता भएका व्यक्तिहरूलाई स्वास्थ्य बिमा प्रदान गर्छ। सामाजिक स्वास्थ्य बिमा सामान्यतया अनिवार्य हुन्छ।

सामाजिक कल्याणकारी कार्यक्रम
स्वास्थ्य बिमा योजना खरिद गर्न असमर्थ न्यून आय भएका मानिसलाई स्वास्थ्य सुविधा प्रदान गर्न सरकारले साधारण बजेटबाट सामाजिक कल्याणकारी कार्यक्रमको व्यवस्था गर्छ। यस कार्यक्रमअन्तर्गत लाभार्थीले कुनै पनि योगदान गर्नु पर्दैन। उनीहरूले आवश्यकताअनुसार निःशुल्क स्वास्थ्य सुविधा पाउँछन्।

उदाहरणको लागि, अमेरिकामा मेडिक-एड र बाल स्वास्थ्य बिमा कार्यक्रम सामाजिक कल्याणकारी कार्यक्रम हुन्। यी कार्यक्रमले न्यून आय वा अपांगता भएका र अबिमित व्यक्तिहरूलाई स्वास्थ्य बिमा प्रदान गर्छ। यी सामाजिक कल्याणकारी कार्यक्रममार्फत स्वास्थ्य सुविधा प्रदान गरिन्छ।

यी कार्यक्रमको वित्तीय प्रबन्ध सरकारले साधारण बजेटबाट गर्छ। परम्परागत रूपमा, स्वास्थ्य सेवा प्राप्त गर्ने व्यक्तिले स्वास्थ्यसम्बन्धी खर्च स्वास्थ्य सेवा प्रदायकलाई सीधै भुक्तानी गर्दथे भने परोपकारी संस्था या कार्यक्रमले स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउँथे। तर हाल स्वास्थ्य सेवाको खर्च स्वास्थ्य बिमामार्फत गर्ने प्रवृत्ति बढ्दो छ।

स्वास्थ्य बिमाअन्तर्गत स्वास्थ्य खर्चको जोखिम स्वास्थ्य बिमा सञ्चालकले बेहोर्छ, स्वास्थ्य बिमा खरिदकर्ताले होइन। स्वास्थ्य बिमा गर्दा विमितले नियमित रूपमा सानो रकम तिर्दै जान्छ र अक्षम व्यक्तिको हकमा यस्तो रकम सरकारले तिरिदिन्छ।

बिमित व्यक्ति दुर्घटना वा रोगको सिकार भएमा त्यसको लागि चाहिने खर्च उसले व्यहोर्नु पर्दैन र स्वास्थ्य सेवा प्राप्त हुँदा कुनै रकम तिर्नु पर्दैन। स्वास्थ्यसम्बन्धी खर्च स्वास्थ्य बिमा योजनाले व्यहोर्छ।

स्वास्थ्य बिमाअन्तर्गत जोखिमको सामूहिकीकरण हुन्छ, दुर्घटना वा ठूलो रोगको सिकार हुनेले जोखिम आफैँ व्यहोर्नु पर्र्दैन, जोखिम स्वास्थ्य योजनाका सम्पूर्ण सहभागीले व्यहोर्छन्। यसको अर्थ स्वास्थ्य बिमाअन्तर्गत स्वस्थ व्यक्तिबाट रोगीको खर्च जुटाइन्छ, सक्षम व्यक्तिबाट अक्षमको खर्च व्यहोरिन्छ।

स्वास्थ्य बिमाले उपचार खर्च नभएका कारणले सेवाबाट वञ्चित हुनुपर्ने स्थितिको अन्त्य गर्छ र धनी-गरिब सबैले आवश्यक परेको बेला निःशुल्क स्वास्थ्य सेवा प्राप्त गर्छन्। स्वास्थ्य बिमाले आम मानिसलाई बिरामी भएकाले गरिब हुनबाट जोगाउन र उनीहरूलाई स्वस्थ र उत्पादनशील जीवन जिउने अवसर प्रदान गर्छ।

यस किसिमको योजना नेपालमा पनि लागू गरिनुपर्छ। त्यसको लागि व्यापक तयारी गरिनुपर्छ र दिगो हुने किसिमले वित्तीय व्यवस्थाको जोहो गरिनुपर्छ। यसको औचित्य र सञ्चालन प्रक्रियाका बारेमा राजनीतिज्ञ, नीतिनिर्माता, नागरिक समाजलगायत सबैलाई जानकारी गराउनुपर्छ र स्वास्थ्य बिमा गराउन प्रेरित गर्नुपर्छ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.