देश छ, देश छैन

 देश छ, देश छैन

एकताका प्रचण्डलाई उनका कार्यकर्ताले सर्वशक्तिमान देउता बनाएका थिए। उनका प्रत्येक वाक्यलाई वेद वाक्य झैँ मुखस्थ गरेका थिए। जहाँ केही बोल्नुपर्यो वा केही लेख्नुपर्यो भने प्रचण्डवाणीलाई कोटेसनका रूपमा राख्ने गर्दथे।

प्रचण्डका महावाणी भट्भटाउने र लेख्नेहरूमध्ये अधिकांशले 'महान् क्रान्तिकारी परमेश्वर' प्रचण्डको दर्शनसमेत पाएका थिएनन्। त्यसैले उनको तस्बिर पूजा गर्दथे। दिन फेरियो। आकाश मार्गबाट बालुवाटारमा प्रचण्डको अवतरण भएपछि उनका भक्तजनलगायत सर्वसाधारणले टिभीमा उनै प्रचण्डको दर्शन लाभ गर्ने सौभाग्य प्राप्त गरे। पछिपछि त कणकणमा प्रचण्डको दर्शन सर्वसुलभ भयो।

जुन व्यवस्थाको विरोधमा आफ्ना तेह्र हजार भक्तजनको बलि चढाए र चार हजार आफ्ना विरोधी तथा अविरोधीहरूको हत्या गरे। अन्ततः त्यही खसीको टाउको झुन्डाएर कुकुरको मासु बेच्ने थलोका रूपमा आफ्ना भक्तजनलाई घोकाएको संसदीय व्यवस्थाको आहालमा स्वयं आफू डुब्न पैतला राखे उनले। यहीँबाट सुरु भयो प्रचण्ड उर्फ पुष्पकमल दाहालको सक्कली अनुहार।

संसदीय व्यवस्थामा आएपछि उनी गिरिजाप्रसाद कोइरालाका भक्त बने र उनकै पथमा हिँड्न सुरु गरे।
जनयुद्धको बेलामा प्रचण्ड र बाबुरामको असलियत उनका भक्तजनले थाहा पाएको भए सायद तेह्र हजारले आफ्नो ज्यानको बलि चढाउने थिएनन्, न त आफ्नो 'इष्टदेव प्रचण्ड' को आदेशमा चार हजार निर्दोष जनतालाई बलिवेदीमा चढाउने थिए।

यता ज्यान हत्केलामा राखेर प्रचण्डभक्तहरूले बलिदान दिन अग्रसरता देखाइरहेका थिए, उता प्रचण्ड भारत सरकारको शाही मेहमान भएर आठ वर्षसम्म भारतीय सुरक्षा फौजको घेराभित्र ऐस गरिरहेका थिए सपरिवार। त्यसबेला भारतीय संस्थापन पक्ष र रअलाई उनले गुरु थापेका थिए। त्यसैले शाही मेहमानको इज्जत पाएका थिए।

बाख्राको टाउको झुन्ड्याएर कुकुरको मासु बेच्ने बजारको उनी पनि कसाई बनेपछि उनको राष्ट्रियता, इमानदारी र देशभक्तिको पर्दा उदांगो भयो। हिजो उनको विरुदावली गाउनेहरूले नै उनको पोल खोल्न थाले, उनको कोमल गालामा थप्पड हान्नसमेत भ्याए। प्रचण्डको भित्री रूप उजागर हुनेबित्तिकै उनी देउताबाट दानवमा झरे।

राजनीतिमा नेताहरूको रूप बाहिर जे देखिन्छ, भित्र त्यो हुँदैन। नरभक्षी बाघ कहिल्यै पनि बुद्ध बन्न सक्दैन। त्यसैले नेताहरूको तत्कालको बोली, काम र व्यवहार हेरेर उनीहरूको देवत्वकरण गर्न हुँदैन।

अहिले प्रधानमन्त्री केपी ओलीको देवत्वकरण गरिँदैछ। ओलीले मुलुकको लागि केही सकारात्मक कामको थालनी गरेका छन्। केही हदसम्म भारतको अगाडि झुकेर नेपालको शिर निहुराउन दिएका छैनन्।

आफ्नो अडानमा कायमै छन्। कसैकसैले उनलाई राजा महेन्द्रपछिको देशभक्त, राष्ट्रवादी र विकासप्रेमी नेताको रूपमा तुलना गर्न भ्याए। के ओली यसको हकदार हुन् र? उनको विगत हेर्दा र वर्तमानको मूल्यांकन गर्दा उनी राजा महेन्द्रको पाउबराबर पनि हुन सकेका छैनन्। राजालाई देश प्यारो हुन्छ। किनकि यो देश रहे राजतन्त्र रहन्छ भन्नेछ।

अब प्रश्न आउला के अहिले देश छैन? देश छ तर देश छैन। हिन्दी फिल्म मि. नटवारलालको एउटा गीतको बोल छ, 'यह जीना भी कोई जीना है लल्लु।' जुन देशका एक दर्जनभन्दा बढी विद्यालयहरूमा 'मेरा भारत महान्, बुद्ध भारतमा जन्मिएको हो, हमारा प्रधानमन्त्री नरेन्द्र मोदी' आदि भनेर पढाइन्छ, जहाँ भारतीय राष्ट्रिय गान जन गण मन अधिनायकलाई सधैँ गाउन लगाइन्छ र त्यस्ता विद्यालयलाई ओली सरकारले मान्यता दिन्छ, तब देश खोज्न कहाँ जाने ?

 

कसलाई हाम्रो देश भन्ने? नेपाल वा भारत? त्यहाँ उत्पादन हुने विद्यार्थीहरू जब नेपालको कर्णधार बन्नेछन् तब उनले कुन देशको हितमा काम गर्नेछन् ? जुन देशको एउटा विद्यालयमा भारतीय राजदूत र उपप्रधानमन्त्री टोपबहादुर रायमाझीको अगाडि हामी भारतको दास बन्नुपर्छ भन्ने खालको स्वागत गान गाइन्छ, त्यो देशलाई कुन देश भन्ने?

नेपाल वा भारत? यो गीत कसको आदेशमा रचिएको हो? किन गाउन लगाएको हो? के विद्यालयमा यो गीतको रिहर्सल भएको थिएन? भएको भए त्यहाँका प्रधानाध्यापक र शिक्षकहरूले किन यो गीत गाउन दिए? उपप्रधानमन्त्रीले तत्काल विद्यालय व्यवस्थापनमाथि कारबाही किन गरेनन्? 

राजनीति देश र जनताको सेवा गर्न गरेका भन्छन् नेताहरू। सेवाको कुनै मूल्य हुन्छ ? जनताको सेवा गर्न राजनीति गरेको भए बर्सेनि सांसदहरूले आफ्नो सुविधा बढाउने थिएनन्, पूर्व विशिष्ट पदाधिकारीहरूलाई विलासी सुविधा दिने थिएनन्। 

विकास मात्रै राष्ट्रियता होइन। आज भारतले जति विकास गरेको छ, त्यसको पूर्वाधार अंग्रेजले नै बनाइदिएको हो। अंग्रेजले बाटोघाटो, विद्यालय, कलकारखाना, नियम-कानुन आदि नबनाइदिएको भए भारत आज जुन ठाउँमा पुगेको छ, त्यहाँ पुग्न सक्ने थिएन।

भारतले नेपालको विकासको लागि लगानी गर्यो, विद्यालय भवनहरू बनाइदियो भन्दैमा उसको दास बन्नुपर्ने बाध्यता छ भने राष्ट्र र राष्ट्रियताको बदलामा यस्तो विकास चाहिएको छैन।

जुन मुलुकको प्राकृतिक स्रोत साधनहरू कौडीको मोलमा मुलुकलाई सयौँ वर्षसम्म घाटा हुने किसिमले भारतलाई दिइन्छ र त्यस्ता सन्धि-सम्झौताहरूको विरोध गर्नेहरू र एनसेलजस्ता विदेशी कम्पनीले राष्ट्रलाई बुझाउनुपर्ने चालीस अर्ब रुपैयाँ कर नतिर्दा जनताले विरोध गर्दा विकासविरोधी र राष्ट्रघाती भन्दै विभिन्न बहानामा कारबाही गरिन्छ त्यो मुलुकलाई कसरी स्वतन्त्र र सार्वभौमसम्पन्न भन्न सकिन्छ?

जुन देशको संविधान जनताको भावनाको प्रतिकूल बनाइन्छ, विदेशी शक्तिको आदेशमा गणतन्त्र, धर्म निरपेक्षता र संघीयता जबर्जस्ती थोपरेर विश्वकै उत्कृष्ट संविधान भन्दै जनतामाथि थोपरिन्छ, त्यो मुलुकका जनताले कसरी यो मुलुकलाई आफ्नो मुलुक भन्ने ?

पैंसट्ठी हजार हेक्टरभन्दा बढी नेपाली भूमि भारतले कब्जा गर्दा बोलेजस्तो गरेर झारा टार्ने काम मात्र गर्ने तर दह्रोरूपमा अन्तर्राष्ट्रिय मञ्चमा उभिएर आफ्नो भूभाग फिर्ता लिन तयार नहुने राजनीतिक दलहरू र सरकारलाई कसरी राष्ट्रवादी भन्ने?

सन् १९५० को सन्धिको धारा ८ अनुसार हामीले सुगौली सन्धिबाट गुमेको भूभाग फिर्ता पाउने प्रावधान हुँदाहुँदै न त भारतसँग कुरा राख्ने हिम्मत गरे कुनै सरकारले न त अन्तर्राष्ट्रिय अदालतमा मुद्दा हाल्न सके? आफ्नो विशाल भूभाग भारतको कब्जामा हुँदा कसरी मुलुक स्वतन्त्र र सार्वभौमसम्पन्न छ भन्ने?

राजाका उछितो काढ्नेहरू अहिले सत्ता वा विपक्षमा छन्, किन मुलुकको स्वतन्त्रता र सार्वभौमसत्ताको कुरा उठाउने हिम्मत गर्दैनन्?कसले उनीहरूको मुखमा बुझो लगाइदिएको छ?

राजतन्त्रको विरोध गर्ने 'विकासवादी तथा देशभक्त' सरकार कतिसम्म देशभक्त छ भने उसले जनताका पेटमा लात मारेर पूर्व विशिष्ट पदाधिकारीहरूलाई आजीवन विलासी सुविधा दिने विधेयक संसद्मा पेस गरेको छ।

जुन देशमा नब्बे प्रतिशतभन्दा बढी जनता कि त गरिब छन् कि त निम्न मध्यवर्गीय छन्, एउटालाई दुई छाक पेट भर्न गाह्रो छ, अर्कालाई बिहान खाए बेलुकी के खाउँ भन्ने अवस्था छ। राजनीति देश र जनताको सेवा गर्न गरेका भन्छन् नेताहरू। सेवाको कुनै मूल्य हुन्छ ?

जनताको सेवा गर्न राजनीति गरेको भए बर्सेनि सांसदहरूले आफ्नो सुविधा बढाउने थिएनन्, पूर्व विशिष्ट पदाधिकारीहरूलाई विलासी सुविधा दिने थिएनन्। राजनीति व्यापार बनेको छ। व्यापारीहरू आफ्नो स्वार्थको लागि जे पनि गर्न तयार हुन्छन्। उनीहरूको कुनै मुलुक हुँदैन। उनीहरूको सर्वस्व भनेकै पैसा हो।

हिजो राजपरिवारले भत्ता खाँदा कानका कीरा खाने गरी चिच्याउनेहरू आज नवराजा बनेपछि राजाले खाएको भन्दा सयौँ गुणा बढी खाइरहेका छन्। यस्तो लोकतन्त्र र गणतन्त्रभन्दा त राजतन्त्र नै ठीक थियो भन्ने जनताको संख्या बढिरहेको छ।

के यो लोकतन्त्र हो वा नेतातन्त्र ? लोकतन्त्र हो भने संघीयता, गणतन्त्र र धर्म निरपेक्षता तथा ०६३ सालमा जारी गरिएको राष्ट्रघाती नागरिकता विधेयकको सम्बन्धमा लोकतान्त्रिक सरकारले जनमतसंग्रह गरेर देखाओस्।

बेलायतलाई लोकतन्त्रको जननी भनिन्छ। त्यहाँ भर्खर युरोपेली युनियनमा बेलायत बस्ने कि नबस्ने भनेर जनमतसंग्रह भयो र नतिजा ईयूमा बस्नेविरुद्ध आयो। लोकतान्त्रिक सरकार हो भने यहाँ पनि जनमतसंग्रह गराओस्। जुन देशमा जनमतको कदर हुँदैन, त्यो देशलाई कसरी आफ्नो देश भन्ने ?

ओलीले अफगानिस्तान मारिएका १३ नेपालीको शवलाई प्लेन पठाएर मगाए र सोल्युट ठोके भन्दैमा ओली सरकारको जयजयकार गर्नुपर्ने छैन। यस्ता लास त नेपालमा दिनमा सधैँ तीनचारवटा भित्रिरहेका छन्। नेपाललाई रेमिट्यान्स पठाएर नेपालको अर्थतन्त्र धान्ने युवा युवतीहरूको लास के लास होइन?

एक महिनाअगाडि भारतको देहरादुनमा दसजना नेपाली सडक बनाउँदा पुरिएर मरे। के ओली सरकारले तिनीहरूको लास ल्याउने पहल गर्यो? खाडी र मलेसियामा अझै पनि नेपाली कामदारको लास बेवारिसे अवस्थामा छ। के ओली सरकारले त्यसलाई फिर्ता ल्याउन प्रयास गर्यो? हामी देश भएर पनि देश नभएका बन्न बाध्य छौँ।

प्रायोजितरूपमा ओलीलाई देवत्वकरण गर्ने काम बन्द गरौँ। हो, ओलीले मुलुक विकासको लागि सकारात्मक पाइला चालेका छन्, त्यसको स्वागत गरौँ। उनको मौसमी राष्ट्रवादको जयजयकार नगरौँ। आज चीनले उनलाई समर्थन नगरेको भए उनको राष्ट्रवादको मखुन्डो उघ्रिने थियो।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.