कैलालीका महिला गैरकानुनी बाटोबाट विदेश जाँदै

कैलालीका महिला गैरकानुनी बाटोबाट विदेश जाँदै

कैलाली: धनगढी उपमहानगरपालिका २० फूलबारी सी गाउँकी मनकुमारी कार्की भारतको बाटो हुँदै कुबेत गएर झण्डै तीन वर्ष काम गरिन् । २०६४ सालमा कुबेत गएकी मनकुमारी त्यहाँबाट फर्केर पुनः भारतकै बाटो साउदी अरब पनि पुगिन् । कुबेतबाट फर्केलगत्तै उनी २०६७ सालमा साउदी गएकी हुन् ।

मनकुमारीलाई फूलबारीमै बस्ने कमला पंगेनीले कुबेत पठाएकी हुन् । फूलबारीमा घरजम बसाएकी कमलाले अहिले त्यहाँको जग्गा बेचेर बुटबलमा घरजम गरेकी छन् । कैलालीको गौरीफन्टा नाका भएर मनकुमारी मात्रै होइन, उनकै छिमेकीहरू सीता पौडेल, बालमती चौधरी र उनकी भाउजूसहित अन्या पाँचजना पनि भारतको बाटो हुँदै कुबेत पुगे । ‘अहिले कोही फर्केर घरमै बसेका छन्, केही फेरि भारतकै बाटो सउदी अरब गएका छन्', मनकुमारीले भनिन् ।

त्यतिबेला नेपालबाट सीधै तेस्रो मुलुक जाँदा रकम बढी लाग्ने र तोकेअनुसारको तलब पनि नइपाइने भ्रम कैलालीका गाउँगाउँमा थियो । आफन्त नोकरीका लागि भारत गइराख्ने र काठमाडौं जानुभन्दा भारततिर जान सहज मान्ने परम्पराले पनि कैलालीका धेरै महिला पासपोर्ट बनाएर भारतको बाटो हुँदै विदेश गएका हुन् ।

त्यतिबेला मनकुमारीको घरको परिस्थिति त्यति राम्रो थिएन । श्रीमान्को सामान्य कमाइले नपुग्ने उनको परिवारको एक मात्र छोरा बिरामी परेपछि उनलाई ऋण लाग्यो । चार छोरी र एक छोरा भएकी मनकुमारीले छोराको उपचारमा आठ लाख ऋण लागेको बताइन् । ‘छोरो बिरामी भइराख्ने अनि उपचारमा ऋण लाग्यो, श्रीमान्को कमाइले परिवार धान्न मात्रै पुग्ने भएकाले मैले काम गर्नुको विकल्प देखिनँ, त्यत्रो रकम नेपालमा कमाएर तिर्न सहज थिएन', उनले भनिन् ।

मनकुमारीको मन विदेश जान लागिरहेका बेला कमलाले उनलाई पासपोर्ट बनाएर भारतको बाटो गए छिट्टै विदेश पुगिने र राम्रो कमाइ हुने उपाय बतएपछि उनी भारतको बाटो कुबेत गएकी हुन् ।

कमलाले मनकुमारीसँगै अन्य पाँचजनालाई भारतको राजधानी दिल्ली पुर्‌याइन् । नेपाल–भारत सीमा क्षेत्रमा पलियासम्म जाने भनेर गएका महिला सहजै भारत पसे । उनीहरूलाई एक महिना दिल्लीमा राखियो । ‘दिल्लीमा कुबेती भाषाको तालिमपछि सबैलाई पठाइयो', मनकुमारीले भनिन् ।

मनकुमारीले कुबेतमा धेरै नेपाली महिला रहेको बताइन् । ‘सबै भारत हुँदै आएका हौं भन्थे', उनले भनिन् । मनकुमारीले नेपालबाट गए एक लाख लाग्ने र त्यतिबेला भारतबाट जाँदा २५ हजार नेपाली मात्रै लागेको उनले बताइन् । ‘मैले कुबेतमा तीन वर्षमा सात लाख कमाएर घर पठाएँ, अनि केही ऋण तिर्न पनि सहज भयो', उनले भनिन् ।

पछि सउदी गएकी मनकुमारीले दुईजना मानसिक सन्तुलन गुमाएका वृद्धवृद्धाको सेवा गर्ने नोकरी पाएपनि काम गर्न सहज नभएपछि १८ महिनामै फर्केको बताइन् । ‘रातभरि मानसिक सन्तुलन गुमाएका बूढाबूढीको स्याहार गनुपर्ने अनि दिउँसोसमेत सुत्न नपाइने भएपछि चार महिनाको तलब छोडेर फर्कें', उनले भनिन् ।

मनकुमारी मात्रै होइन धनगढी उपमहानगरपालिका १५ उर्माकी लक्ष्मी चौधरी पनि १८ वर्षको उमेरमा भारतको बाटो कुबेत गएर फर्किएकी छन् । लक्ष्मीको परिवार पनि सामान्य हो । आमाबुबाले मजदुरी गरेर घरखर्च चलाउनु परेपछि परिवारकी जेठी छोरी लक्ष्मीले विदेश जाने निधो गरेकी थिइन् ।

‘चारजना भाइबहिनीका लागि आमाबुबाको कमाइले नपुग्ने भएपछि म कक्षा ९ मा पढ्दा पढ्दै छोडेर भारतको बाटो हुँदै कुबेत गएँ', उनले भनिन् । ‘कक्षा ९ मा पढ्ने बेला एकजना अंकल नाता पर्ने नन्दुराम चौधरी आन्टी मनकली पनि जाने भनेर घरमा आए । त्यसबेला एजेन्ट आफै अंकलसँग आएको थियो । उसैले सबैको पासपोर्ट नागरिकता सबै बनाइ दियो', लक्ष्मीले भनिन् ।

लक्ष्मीलाई मध्यपश्चिमको बाँकेमा पर्ने रूपैडिहा नाका भएर भारतको मुम्बई हुँदै कुबेत पुगाइएको हो । ‘कैलालीबाट ३÷४ जनासहित हामी ९÷१० जनाको समूह रूपैडिहा नाकाबाट मुम्बई पुग्यौं, हामीलाई त्यहाँ दुई महिनासम्म भाषा सिक्ने भन्दै राखियो । एकै कोठामा हामी २०÷२५ जना महिला सुत्थ्यौं । मुम्बईको डोम्बेबली भन्ने स्थानका झापाकी खनीमाया श्रेष्ठ र कृष्ण विक नाम गरेका महिलाले हामीलाई कुबेत पठाएका हुन्', लक्ष्मीले भनिन् ।

लक्ष्मीसहितका चार÷पाँचजनालाई कैलालीबाट सउदी अरब जाने भनी लगिएको थियो तर अन्तमा भिसा नलागको भन्दै उनीहरूलाई कुबेत पठाइएको थियो । ‘१८ वर्षको कलिलो र अपरिपक्व उमेरमा कुबेत पुगेकी लक्ष्मीलाई घरको काममा लगाइयो । ‘काम एकदमै गाह्रो थियो, दुई वर्षको भिसा लागे पनि फर्कें, अहिले विवाह पनि भइसक्यो', लक्ष्मीले भनिन् । विवाह भएपछि घरका मानिसले लक्ष्मीलाई विदेश जान दिएनन् ।

लक्ष्मीको अनुभवमा भारतको बाटो विदेश जानेहरूलाई गाउँबाट एकदमै राम्रो हुन्छ भनेर फकाएर लगिन्छ तर भारत लगेर यौन शोषण गरिने, कुटपिट गर्ने गरिन्छ । ‘झन् सउदीमा कति नेपाली महिला कुटिएका छन्,' उनले भनिन् । कतिपय नेपालीको भारतबाटै पासपोर्ट बनाएर पनि पठाउने गरिएको उनले बताइन् ।

कैलालीकै पथरैया गाविस ९ अमरावतीकी निर्मला थापाको अनुभव पनि भारतबाट तेस्रो मुलुक जाने धेरे महिलाको दुर्दशा भएको छ । २८ वर्षकी निर्मला पनि २०७१ सालमा भारतकै बाटो हुँदै दुबई गएर एक वर्षमै घर फर्किएकी हुन् । ‘मलाई वेटर काम गर्ने भनेर पठाइएको थियो तर एक वर्ष काम गरेपछि होटेल बन्द भयो म फर्केर आएँ', उनले भनिन् ।

दुबई जानुअघि निर्मला कैलालीको लम्कीचुहा नगरपालिकाको एक निजी स्कुलमा शिक्षिका थिइन् । त्यहाँ उनीसँगै खेमा डीसी नामी महिला पनि शिक्षिका थिइन् । खेमाको प्रस्तावमा निर्मला दुबई पुगेकी हुन् । ‘हामी चार÷पाँच हजारको सेलरीमा काम गरिरहेका थियौं, सल्यानका कमल केसी र मदन श्रेष्ठले हामीलाई भारतको बाटो हुँदै दुबई गयो भने ३० हजार तलब पाउने आश्वासन दिए ।

चार÷पाँच हजारको तलबका ठाउँमा ३० हजार पाउने भएपछि हामी दुवैले दुबई जाने निधो गर्‌यौं । ती दुवैले हाम्रो पासपोर्ट पनि बनाइदिए । त्यसको दुई महिनामा भिसा पनि लागिसक्यो भनेपछि दुवैजना उड्यौं', अहिले स्वदेश फर्किसकेकी निर्मलाले भनिन् ।

दुवैजना भारतको राजधानी नयाँ दिल्लीको इन्दिरागान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबईका लागि उडेका हुन् । उनीहरूलाई दलालले नेपालबाटै पठाउँछु भनेर पासपोर्ट बनाएको र भिसा लगाएको बताएका थिए तर रकम खर्च भइसकेपछि भारतबाट उड्नुपर्छ भनेर बताइएको निर्मलाले बताइन् ।

‘हामी त्रिभुवन विमानस्थलबाट दिल्लीका लागि उड्दा सोधपुछ गरिएको थियो, हामीले घुम्न जाने भन्यौं, दलालले त्रिभुवन विमानस्थलको प्रहरीलाई पनि मिलाएको रहेछ', निर्मलाले भनिन् ।

‘तर दुबईको कमाइ खासै बचत भएन । दुबई जान एक लाख ४५ हजार रकम लागेको थियो । सुरुमा ६५ हजार लाग्छ भने पनि पछि त्यो रकम बढाउँदै एक लाख ४५ हजार पुर्‌याइएको हो । मसँग एक लाख १५ हजार तिर्दासम्म पैसा थियो बाँकी ३० हजार रकम मेरो तलबबाट काट्यो', निर्मलाले अनुभव सुनाइन् ।

दुबईमा भने अनुसारको काम र दाम नपाएपछि घर फर्किएकी उनी अहिले गाउँमा स्वयंसेवक भएर विदेश जानेलाई सचेत गराउने काममा लागेकी छन् ।
कैलालीबाट पासपोर्ट बनाएर भारतको बाटो जानेमा पुरुषभन्दा महिला बढी छन् । २०६९/७० मा पाँच सय ६२ जना महिलाले पासपोर्ट बनाएकोमा ८९ जनाले मात्रै श्रम स्वीकृति लिएका छन् । २०७०/७१ मा आठ सय ९२ जनाले पासपोर्ट बनाएकोमा ९३ जना महिलाले श्रम स्वीकृति लिएका छन् ।

 

२०७१/७२ मा पनि आठ सय ८६ महिलाले पासपोर्ट बनाएकोमा ७९ जनाले मात्रै नेपालको बाटो प्रगोग गरेको तथ्यांक छ । यो तथ्यांक हेर्दा ६० प्रतिशतभन्दा बढी महिला भारतको बाटो हुँदै खाडी मुलुक जाने गरेका छन् ।

कैलाली मात्र होइन नेपालका अन्य जिल्लाका महिलालाई पनि सुदूरपश्चिमको बाटो भारत हुँदै तेस्रो मुलुक लैजाने क्रम बढेको छ । माइती नेपाल कञ्चनपुरको जनवरी २०१६ यता ६ महिनाको तथ्यांकमा पनि ३८ जना भारतको बाटो तेस्रो मुलुक जान लागेकाको उद्धार गरिएको छ ।

माइती नेपाल कञ्चनपुरकी संयोजक महेश्वरी भट्टले भारतको बाटो दुबई जाने १९ जना, कुबेत जाने सातजना, किर्गिसतान जाने ६ जना, इराक जाने चरजना, पाकिस्तान र स्पेन जाने भन्दै भारततिर लागेका एक/एकजना गरी ३८ जनाको उद्धार जनवरी २०१६ यता मात्रै गरेको बताइन् ।

यी देशहरूका लागि नेपालबाट श्रम स्वीकृति बन्द छ भन्दै दलालले यसरी भारतको बाटो हुँदै गैरकानुनी रूपमा तेस्रो मुलुक लैजाने गरेको खुलेको हो । माइती नेपालले यसरी तेस्रो मुलुक लैजानेमा अधिकांश अविवाहित १८ देखि २८ वर्ष उमेर समूहका महिला छन् ।

‘पासपोर्ट बनाउँदासम्म सबैलाई नेपालकै बाटो लैजाने भनिदो रहेछ, केही रकम, पासपोर्ट पनि लिने, घर परिवारका सदस्यलाई ‘कन्भिन्स' गर्ने अनि अन्तिम समयमा आएर नेपालबाट श्रम स्वीकृति बन्द भयो भनेर भारतको बाटो लैजाने गरेको बयान अधिकांशले दिएका छन्', माइती नेपालकी कञ्चनपुर संयोजक भट्टले भनिन् ।

जेठ १८ गते कञ्चनपुरको पुनर्वास नाकाबाट पाँचजना र १९ गते दुईजना महिला गरी सातजनाको उद्धार गरिएको पनि माइती नेपालले जनाएको छ । गैरकानुनी रूपमा सुदूरपश्चिम भएर भारत लैजानेहरूविरुद्ध मानव बेचविखनको मुद्दासमेत दर्ता गरिएको छ ।

मानव बेचविखनमा संलग्नको आरोपमा सिन्धुपाल्चोकका हिमाल तामाङ, गणेशबहादुर तामाङ र कैलालीको घोडाघोडी नगरपालिकाका दीपक ऐर गरी तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

माइती नेपालले जनवरीयता एक सय ५६ जना महिलाको उद्धार गरेकोमा धेरैले आफू कहाँ गइरहेको हो भन्ने कुरा नबताएको कार्यक्रम संयोजक भट्टले बताइन् ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.