पढ्न गएका विद्यार्थी कसरी पर्खालले छोपिए

पढ्न गएका विद्यार्थी कसरी पर्खालले छोपिए

काठमाडौँ: प्लटिङ गरिएको भिरोलो जग्गा उकास्न लगाइएको पर्खालले किच्दा ललितपुर टौखेलस्थित पुष्पाञ्जली माध्यमिक विद्यालयमा अध्ययनरत दुई जना विद्यार्थीको मृत्यु भएको छ । घटनामा २१ जना विद्यार्थी घाइते छन् ।

मृत्यु हुनेमा कक्षा तीनमा अध्ययनरत कृपा राई र अन्जना पुन छन् । मृतक पुन टौखेलमै रहेको आमाघर नामको सामाजिक संस्थाको संरक्षणमा बसेर पढिरहेको थिइन् । बिहान पौने एघार बजेतिर घटना भएपछि उपचारको क्रममा अस्पताल लैजाने क्रममा उनीहरुको मृत्यु भएको हो ।

बी एण्ड बी अस्पतालका निर्देश डा. अशोक बास्कोटाका अनुसार चार जनाको आईसियुमा उपचार भइरहेको छ । ‘तीन जनाको भेन्टिलेटरमा र अन्यको सामान्य अवस्थामा उपचार भइरहेको छ’ बास्कोटाले भने । अन्य घाइते चार जनाको पाटन अस्पतालमा उपचार भइरहेको छ । बी एण्ड बीको आइसियुमा उपचार भइरहेका चार जनाको अवस्था चिन्ताजनक रहेको उनले बताए । घटनामा सामान्य घाइते विद्यार्थीहरु उपचारपछि घर फर्किसकेका छन् ।

यसरी भयो घटना
लगातार वर्षका कारण स्कुलको माथिल्लो भागमा रहेको प्लटिङको जग्गाबाट बगेर आएको लेदो माटो र प्लटिङलाई उकास्न लगाइएको पर्खालको ढुङ्गाले स्कुलको गारोलाई धक्का दिएको थियो । प्रिफ्याबबाट बनेको स्कुल भवनको गारोलाई भत्काएर स्कुल कोठासंगै जोडिएको पर्खालको ढुङ्गा माटो कक्षा तीन र आठका विद्यार्थी अध्ययनरत कोठामा पसेको थियो ।

‘शुरुमा पर्खालबाट ढुंगा खसेको जस्तै आवाज आएको थियो । पर्खालतिर हेर्दा त नजिकै रहेको साथीलाइ पुरिसकेछ’ अस्पतालमा उपचार गराइरहेका कक्षा तीनका विद्यार्थी अनुप महर्जनले भने । डल्लो र फलामे ढुङ्गा प्रयोग गरेर लगाइएको उक्त पर्खाल सामान्य खालको थियो । पर्खालमा माटो र ढुंगा मात्र प्रयोग गरिएको थियो ।

घाइते र मृतकमध्ये अधिकांसलाई ढुंगाले किचेको थियो । गत वर्षको भूकम्पबाट क्षति पुगेपछि स्कुलले सन् माईकाबाट अस्थायी संरचना बनाएर पढाई सञ्चालन गरिरहेको थियो । विद्यालय भवन संरचना कमजोर रहेकोले जग्गा प्लानिङ गर्दा विशेष सावधानी अपनाउन जग्गा धनीलाई जानकारी गराई सकेको भएपनि सावधानी अपनाउँंदा घटना भएको विद्यालयकी प्राचार्य पुष्पा बज्राचार्यले बताइन् ।

‘घटनाले साह्रे दुःखित बनाएको छ । स्कुल एक्लैले चाहेर पनि घटनालाई रोक्न सक्ने अवस्था थिएन’ बज्राचार्यले भनिन् । शिक्षामन्त्री गिरीराजमणि पोखरेल तथा गृहमन्त्री शक्तिबहादुर बस्नेतले घटनाको निरीक्षणपछि घटनामा स्कुलसंगै प्लटिङ व्यवसायी पनि दोषि देखिएको निष्कर्ष निकालेका छन् ।

‘यस घटनाले विद्यालय सुरक्षा मापदण्डको विषयमा पनि गम्भीर छलफल हुनुपर्ने पाठ सिकाएको छ । त्यो भन्दा पनि पहिलो कुरा हाउजिङ तथा जग्गा प्लटिङको नाममा हुने मनपरिको विषयमा अध्ययन गर्नुपर्ने देखिएको छ' अस्पतालमा पुगेर घाइतेलाई भेटेका पोखरेलले भने, ‘अहिलेको घटनामा विद्यालयको मात्र कमजोरीले भएको भन्दा पनि जग्गा प्लटिङमा भएको मनपरिले भएको देखिन्छ ।’

गृहमन्त्री शक्तिबहादुर बस्नेतले पनि घटना स्थलको निरीक्षण गरेर अस्पतालमा रहेका घाइतेलाई भेटेका छन् । शिक्षामन्त्री पोखरेलले ललितपुरका जिल्ला शिक्षा अधिकारीलाई र गृहमन्त्री बस्नेतले जिल्ला प्रशासन कार्यालयलाई घटनाबारे अध्ययन गर्न शुक्रबार निर्देशन दिएका छन् ।

गृहमन्त्रीको निर्देशनपछि ललितपुर प्रहरीले स्कुल नजिकै रहेको प्लटिङ व्यवसायीको खोजि शुरु गरिसकेको ललितपुरका प्रहरी प्रमुख एसएसपि पिताम्बर अधिकारीले बताए ।

घटना भएपछि स्कुलका संस्थापकद्वय पुहमीकान्ति बज्राचार्य र एलएन बज्राचार्यलाई सुरक्षाको लागि प्रहरी वृत्त सात दोबाटोमा राखिएको प्रहरी प्रभाग बाँडे गाउँका प्रमुख प्रहरी निरीक्षक भुपेन्द्र श्रेठले बताए । मृतकमध्येकी अन्जनालाई संरक्षण दिएको आमा घर नामको सामाजिक संस्थाका प्रतिनिधीसंग सम्पर्क प्रयास गरिएपनि सफल नभएको श्रेष्ठले बताए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.