पलपलमा ठगिँदै काबुलसम्म

  पलपलमा ठगिँदै काबुलसम्म

केही समयअघि अफगानिस्तानको काबुलमा १३ जना नेपालीसहित दुई भारतीय नागरिकको ज्यान जाने गरी भएको आततायी घटनाको जति निन्दा गरे पनि कमै हुन्छ। सब्रे कम्पनीको गेटबाट सय मिटरनजिकै भएको उक्त घटना आत्मघाती भनिएको छ।

घटना के र कसरी भयो भन्ने विषय यहाँको वातावरण र वस्तुस्थिति बुझेकाले सहजै अनुमान गर्न सक्छन्। म आफैं अफगानको अवस्थासँग नजिकबाट परिचित छु। २०४६ साल साउन १ गते नेपाल प्रहरीमा जवान पदमा जागिर सुरु गरेपछि मैले जीवनका करिब २० वर्ष यही सेवामा बिताएँ।

२०६५ साल पुस २१ गते मैले अवकाश पाएपछि पुनः केही गर्नैपर्ने बाध्यता मेरासामु थियो। तीनजना नानी र श्रीमतीको पालनपोषणका लागि मैले वैदेशिक रोजगारलाई विकल्पका रूपमा लिएँ। त्यस क्रममा मैले विभिन्न मेनपावर कम्पनी र एजेन्टहरूलाई भेटेँ। मेनपावरहरूमा धाउँदा मैले सोचेजस्तो तलब नपाउने देखेपछि पाएसम्म मैले इराक, अफगानतिरै जाने सोच बनाएँ।

अजिंगरको आहारा दैवले पुर्‍याउँछ भनेझैं मैले इराक गएर छुट्टीमा आएका एकजना साथीलाई भेटेँ। उनले मलाई त्यसबारे सम्पूर्ण जानकारी दिए। उनी आफैं इराक गएको अफिस र व्यक्तिको नम्बर मलाई दिए। मैले सम्पर्क गरेँ।

फोनमा भएको कुराकानीअनुसार मैले उनलाई सानेपाको कुनै ठाउँमा भेटेँ। उनले ३ लाख ५० हजार खर्च लाग्छ भने। मैले काम हुनुपर्‍यो म दिन्छु भनेँ। पासपोर्ट दिएर म फर्किएँ। उनले आफू दुबई जाने कुरा गरेकाले पनि केही दिन फोन लागेन।

 

एक दिन मलाई नचिनेको मान्छेले ‘गजेन्द्रजी हो? ' भनेर फोन गरे। मैले हो भन्न नपाउँदै उनले तपाईंको भिसा आएको छ। अबको तीन दिनमा पैसा तयार पार्नू भने। दोस्रो दिन उनले बोलाएकै सानेपामा म भेट्न गएँ।

त्यहाँ मसँगै जाने अरू पनि पाँच/सातजना साथी थिए। ३० नोभेम्बर २००९ का दिन ९ बजे हामीहरूको उडान छ भन्ने खबर आयो। म तीनजना नानी र श्रीमतीलाई बिदाइको हात हल्लाउँदै बिदा भएँ।

त्रिभुवन विमानस्थलमा हामीलाई एकजना एजेन्टले अफगान पुग्नेबारे ब्रिफ गरे। उनले हामीलाई यहाँबाट कुवेतसम्म भिटिज भिसामा पठाइन लागेको र त्यहाँ राजु भन्ने व्यक्तिले हामीलाई रिसिभ गर्ने बताए। त्यहाँ पुगेपछि उनैले कुवेतबाट अफगानको भिसा लगाउने भन्दै सबैलाई एक हजार यूएस डलरका दरले दिए।

विमानस्थलका सबै प्रक्रिया पूरा गरेर हामी विमानमा चढ्यौं। हाम्रो मनमा अफगानको आत्मघाती, जरजर अवस्था केही आएन। मनमा केवल पैसा कमाउने, घरपरिवारका आवश्यकता पूरा गर्ने रंगीन सपनामात्रै खेलिरहे।

पाँच घन्टाको उडानपछि हामी साउदीको दमास पुग्यौं। त्यहाँ आधा घन्टा आरामपछि बहराइन हुँदै हामी ५ डिसेम्बर २००९ मा काबुल पुग्यौं। जहाजबाट झरेर हामी इमिग्रेसनतिर गयौं। पासपोर्ट दियौं। उनीहरूले हाम्रो फोटो खिचे। औंठाछाप लिए। एकजना अफगानी आएर फलो मी भन्दै एअरपोर्टभित्रको गोप्य कोठामा लगे। उनले किन अफगान अएको यो भिसा नक्कली हो भन्दै तर्साए। हामी आत्तियौं।

नयाँदिल्लीमा रहेको अफगान एम्बेसीबाट जारी हुने फ्री भिसा, फ्री टिकेटका लागि काबुल एम्बेसीले स्पोन्सर गर्छ तर हामीजस्ता गरिब बाध्य नेपालीबाट सब्रे कम्पनीको काठमाडौंमा रहेका एकजना एजेन्टले तीनदेखि चार लाख रुपैयाँ असुलेर खुला मानव तस्करी गरिरहेको उदाहरण हामी हौं।

‘रोइकराइ गरेर केही हुँदैन, यूएस डलर एक हजारका दरले पैसा तिर होइन भने छोड्दैनौं' भने। हामीले आफूहरूसँग त्यत्रो पैसा नभएको अनुरोध गर्दै पाँच हजार यूएस डलर जमा पारेर दियौं। त्यसपछि उनले हामीलाई इमिग्रेसनमा लिएर गए र अफगान इन्ट्रीको छाप लगाइदिए।

बाहिर पार्किङमा पुग्दा त्यहाँ थाहा भयो, हाम्रो भिसा नक्कली थिएन। हामीलाई रिसिभ गर्न आएका एकजनाले हामीलाई गाडीमा लिएर गए। उनले गेस्ट हाउसमा लगेपछि पुनः हाम्रो अन्तर्वार्ता भयो। प्रतिव्यक्ति पाँच सय डलर नदिए जागिर नपाइने कुरा गरे।

हामीहरूले आफूहरूसँग भएको सबै ४२ सय यूएस डलर जम्मा पारेर कर्ण र नीलु भन्ने व्यक्तिलाई दियौं। त्यसपछि उनले हामीलाई आर्मर ग्रुप हालको जीफोर्समा जागिरका लागि लिएर गए। हामीले काठमाडौंमा ऐजेन्टलाई दिएको पैसाबाट पनि उनीहरूलाई कमिसन आउँदो रहेछ। यो कुरा अफगानमा काम गर्दै जाँदा पछिमात्रै थाहा भयो। त्यहाँ ब्रिटिस गोराले सामान्य अन्तर्वार्ता लिए। सबैलाई भोलिपल्ट सामान लिएर आउनू भने।

त्यहाँ एक हप्ताको तालिम हुँदो रहेछ। हामीलाई त्यहाँ लगिदिएबापत ती एजेन्टले पाँच सय डलर पाउँदो रहेछ। तालिम सकिएपछि कोही क्यानेडिय एम्बेसी, कोही ब्रिटिस एम्बेसी, कोही एडीबी बैंक र एकजना यूपीओएल साइडमा जागिरे भयौं। हामीले ठूलो राहत महसुस गर्यौं।

लडाइँको भूमिमा जति खेर जे पनि हुनसक्ने अवस्था भए पनि हामी भगवान् भरोसा भन्दै सात सय ५० देखि नौ सय ५० सम्मको तलबमा रमाउन थाल्यौं। जीफोर्स कम्पनीमा पाँच सयजना नेपालीको ठूलो क्याम्प थियो।

सानातिनो कमाइ हुन थाल्यो। दिन बित्दै गयो। एघार महिनापछि कम्पनीले एक महिनाको छुट्टी दियो। त्यस बखत मैले नेपाल आएर श्रमस्वीकृति लिएँ। म अफगान फर्किएँ।

विडम्बना ! यही बेला १३ जना नेपाली र दुईजना भारतीयको ज्यान जाने गरी कायरतापूर्ण घटना भएको छ। मारिने सबै साथीहरू हाम्रोजस्तै प्रोसेसबाट त्यहाँ पुगेका हुन्। त्यहाँ जान फ्री भिसा, फ्री टिकटको प्रावधान भए पनि काठमाडौंमा रहेका एकजना दलालले यसरी नै गरिब नेपालीलाई जोखिमपूर्ण रूपमा अफगानिस्तान पुर्याउने गरेका छन्।

म फर्किएर गएपछि जीफोर्स भन्ने कम्पनीबाट छुट्टिएर सब्रे भन्ने कम्पनीले कन्ट्र्याक्ट जित्यो। तलब बढ्ने सहमति भयो। हामीहरूको इन्सुरेन्स तीन लाख भयो। हामीले काम गर्ने कम्पनी क्यानेडियन एम्बेसीबाट १५ मिनेट बसको दूरीमा छ।

हामी कम्पनीबाट ड्युटीमा जाँदा सामान्य बसमा ओहोरदोहोर गर्नुपर्छ। त्यति बेला निकै जोखिम हुन्छ। ड्युटीमा बस्दा खतरा भए पनि त्यहाँ कि मर्ने कि मार्ने नै हो। नेपालीले दिँदै आएको सुरक्षा निकै भरपर्दो मानिन्छ।

एम्बेसीका कर्मचारीले तपाईंहरूका कारण हामी सुरक्षित छौं, धन्यवाद गोर्खाज् भन्छन्। तर, सब्रे कम्पनीभित्रका गोराहरूले टर्चरमात्र दिँदैनन् हामीजस्ता सुरक्षा गार्डहरूको आउजाउ र सुरक्षा समेत रत्तिभर वास्ता गर्दैनन्। विभिन्न सेवासुविधा र सवारीसाधनको उच्च व्यवस्था गर्ने सम्झौता गर्छन् तर कहिल्यै वाचा पूरा गर्दैनन्। त्यसको परिणति हालै भएको दुखद् घटना हो।

वारजोनमा नर्मल बस प्रयोग गर्नु, बुलेट प्रुफ गाडी नहुनु सधैं जोखिमको विषय हो। यसमा कमान्डर कम्पनी सञ्चालक र नेपाली कमान्डर जवाफदेही हुनैपर्छ। नेपाली कमान्डरले कम्पनी सञ्चालकलाई बुलेट प्रुफ गाडीका लागि किन पहल गर्न नसकेका ?

उनीहरूले जवाफ दिन सक्नुपर्छ। अर्को विडम्बना ! सुरक्षा निकायबाट रिटायर्ड भएकाहरूभन्दा सिभिलबाट आएकाहरू सेक्युरिटी गार्डका कमान्डर भएका छन्। यो त धोतीको जुम्रो टाउकोमा पुगेजस्तो हो।

नयाँदिल्लीमा रहेको अफगान एम्बेसीबाट जारी हुने फ्री भिसा, फ्री टिकेटका लागि काबुल एम्बेसीले स्पोन्सर गर्छ तर हामीजस्ता गरिब बाध्य नेपालीबाट सब्रे कम्पनीको काठमाडौंमा रहेका एकजना एजेन्टले तीनदेखि चार लाख रुपैयाँ असुलेर खुला मानव तस्करी गरिरहेको उदाहरण हामी हौं।

अस्तिको घटनालाई आत्मघाती विस्फोट भनेर प्रचार गरिए पनि त्यो त्यस्तो होजस्तो लाग्दैन। सब्रे कम्पनीको गेटभन्दा सय मिटरनजिक भएको उक्त घटनामा गाडी गुडिरहेकै अवस्थामा बम विस्फोट भएको थियो।

सब्रे कम्पनीमा कार्यरत स्थानीय कर्मचारी र स्थानीय सुरक्षा गार्डले आतंकवादीको इसारामा पहिले नै बसमा बम फिट गरेको आशंका गरिएको छ। त्यस घटनामा एउटै कम्पनीमा काम गरेका, सँगै खाएका, सँगै सुतेका साथीहरूले ज्यान गुमाएका छन्।

यो घटनालाई सूक्ष्म रूपले अनुसन्धान गरिनुपर्छ। कम्पनी सञ्चालकले मृतक र घाइतेहरूलाई उचित क्षतिपूर्ति दिनुपर्छ। कार्यरत सुरक्षा गार्डहरूसँग कम्पनीले तीन लाख यूएस डलर (बीमा रकम) दिने सम्झौता भएको थियो।

अहिले त्यो घटाएर ५० हजार डलर दिने भन्ने सुनिन आएको छ। यो कदापि हुनु हुँदैन भनेर सब्रे कम्पनीमा कार्यरत सम्पूर्ण दाजुभाइले आवाज उठाउन जरुरी छ। सरकारले पनि दस लाख दिएर लासको मूल्य होइन यी सबै विषयलाई अनुसन्धान गरेर आफ्ना नागरिकप्रति न्याय गर्न सक्नुपर्छ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.