परदेशीएका नेपालीको पीडा (भिडियो)

काठमाडौँः गायक एवम् संगीतकार तुला पर्वतको ‘फर्की आउन पाउँ आफ्नै गाउँ घरमा’ बोलको गीतको भिडियो आइतबार सार्वजनिक भएको छ ।
‘प्रवास रहर होइन बाध्यता हो’ भन्ने सन्देश बोकेको गीतको म्युजिक भिडियो परदेशीएका नेपालीको पीडामा केन्द्रित रहेको पर्वतले बताए । रोजगारीका लागि विदेशीने हजारौँ नेपाली युवाले विदेशमा गएर पल पल मातृभूमिलाई सम्झिरहनुपर्दाको अवस्थालाई भिडियो मार्फत देखाउन खोजिएको छ ।
संगीतकार तुला स्वयम्ले निर्देशन गरेको म्युजिक भिडियोको गीतका शब्द समेत उनकै हुन् । भिडियोमा रक्षा श्रेष्ठको साथमा तुलाले अभिनय गरेका छन् । म्युजिक भिडियोका केही दृश्य मकाउमा छायांकन गरिएको छ भने थप दृश्य नेपालका विभिन्न ठाउँका छन् ।
लामो समयदेखि परदेशमा बस्दै आएका तुलाले तयार पारेको म्युजिक भिडियोको छायांकन उत्सव दाहाल र एन्तोनियोले गरेका हुन् भने निशान घिमिरेले सम्पादन गरेका हुन् । मिक्सिङ प्रकाश केसीले गरेका हुन् भने एरेन्ज मोहित मुनालको हो । बजार व्यवस्थापनको जिम्मेवारी वाइड स्क्रिन मिडियाले लिएको पर्वतले बताए ।
प्रतिक्रिया दिनुहोस !
