१४ वर्षदेखि न सास न लास
धुवाँकोट (धादिङ): २०५९ साल वैशाख १२ गते घर छोडेर हिँड्दा डेढ वर्षको कान्छो छोरो बढेर अहिले १५ वर्षको भयो । ऊ अहिले ९ कक्षामा पढ्छ । बेलाबेलामा स्कुल तथा गाउँसमाजमा बाबुको खोजी हुन्छ तर छोराले खोजेको बाबु यहाँ छ भनेर दिने उत्तर छैन धुवाँकोट गाउँ विकास समिति ५ कि सुमित्रा घिमिरेसँग ।
१४ वर्षअघि वैशाख १२ गते बिहान गाउँकै दुईजना साथीको साथमा वैदेशिक रोजगारीमा जान्छु भनेर हिँडेका घननाथ घिमिरे न अहिलेसम्म घर फर्किएका छन्, न यहाँ छु भन्ने खबर नै आएको छ । वैशाख १२ गते बिहान हिँड् जाँऊ भनेर घरमै आएर लैजाने धुवाकोट गाउँ विकास समितिकै नारायण लामिछाने र बाबुराम लामिछाने पटकपटक गाउँ फर्किसके तर सुमित्राका श्रीमान् फर्किनु त परै जाओस् अहिलेसम्म एकपटक पनि सम्पर्कमा आएका छैनन् ।
सुमित्राले भनिन्, ‘सँगै गएका साथीलाई सोधेँ-कहिले कुन ठाउँबाट हरायो, कहिले बाटोमा पुगेपछि बहुलायो त कहिले इन्डिया पुग्दासम्म सँगै थियो, त्यसपछि हामी चिया खान लाग्दा हरायो । हामीलाई थाहै छैन भन्ने अस्पष्ट उत्तर दिन्छन् । म एउटी महिला, श्रीमान् खोज्न कहाँ जाऊँ ।'
दुई छोरा र एउटी छोरीको हेरचाहको जिम्मा श्रीमतीलाई लगाई गाउँकै साथीसँग विदेशिएका घननाथ लामो समयसम्म नफर्किएपछि अहिले सुमित्रा तनाव र समस्यामा छिन् ।‘ श्रीमान् बेपत्ता भएपछि छोरीको विवाह गरेर पराइघर पठाएँ, जेठो छोरालाई घर व्यवहार र समस्याले गर्दा पढाउन सकिनँ, अहिले कान्छो छोरो ९ कक्षामा पढ्ने भइसक्यो तर न श्रीमानको फर्केर आउनुभयो न त खबर नै गर्नुभयो ।' श्रीमान् सम्झिँदै सुमित्राले भावुक हुँदै भनिन्, ‘अझै पनि फर्केर आउनु हुन्छ जस्तो लाग्छ ।'
उनले पटकपटक आफ्ना श्रीमान्को खोजी गरिदिन सँगै गएका बाबुराम लामिछाने र नारायण लामिछानेलाई गुहारेकी छने तर उनीहरूले सँगै लगेका घननाथको नागरिकता मात्रै फिर्ता ल्याइदिएको र श्रीमान्बारे जहिले पनि शंका लाग्ने उत्तर मात्रै दिने गरेको बताइन् । उनले भनिन्, ‘कहिले मरिसक्यो, कहिले बुटवलबाट हरायो त कहिले भारतमै हामी एउटा कोठामा छोडेर बाहिर किनमेल गर्न निक्लिएका थियौँ फर्केर आउदा कोठामा थिएन भन्ने उत्तर दिन्छन् । मलाई त उनीहरूमाथि नै शंका लागेर अहिले प्रहरीमा खोजी गरिपाउँ भन्ने उजुरी दिएकी छु ।'
श्रीमान्को खोजी गरिपाउँ भनेर जिल्ला प्र्रशासन कार्यलयमार्फत प्रहरी कार्यलयमा उजुरी दर्ता गरेदेखि उनलाई किन उजुरी दर्ता गरेको भनेर गाउँलेबाटै दबाब आउने गरेको बताइन् । सुमित्राले भनिन्, ‘अब तेरो श्रीमान् फेला पर्ने होइन किन खोज्नु पर्यो, उजुरी गरेपछि त गाविसबाट पाएको सहयोग पनि रोकिन्छ, उजुरी फिर्ता गर भनेर गाउँलेले नै दबाब दिएका छन् ।'
अझ रोचक प्रसंग त के छ भने, उनलाई श्रीमान् जिउँदो छन् कि छैनन् । केही पत्तो छैन । न त उनीसँग श्रीमान्को मृत्यु दर्ता प्रमाणपत्र छ तर उनले गाउँ विकास समितिबाट २०७० सालदेखि एकल महिला भत्ता बुझिरहेकी छन् । सुमित्राले भनिन्, ‘आफू कहिँकतै भत्ता माग्न गएको छैन, एक दिन गाविस सचिवले नागरिकता छोडेर जाऊ भन्नुभयो, केही दिनपछि पैसा पनि दिनुभयो, उहाँलाई कसले के भनेर मलाई भत्ता दिनुभयो केही थाहा छैन, अरूले एकल महिला भत्ता भन्छन्, के के प्रक्रिया पूरा गरेपछि यो पाइन्छ मलाई थाहा छैन, घरमा नुनतेल गर्ने पैसा छ हुन्छ भनेर लिने गरेकी छु ।'
श्रीमान्ले घर छोडेर हिँडेका बेला देश चरम द्वन्द्वको क्रममा थियो । रेडियोमा बेपत्ता भएकाहरूको खोजीका लागि उजुरी दिन पाइने भन्ने सुनेर कतै आफ्नो श्रीमान् द्वन्द्वको चपेटामा पो परेकि भनेर शान्ति समितिमा उनले उजुरी दर्ता गराएकी छन् ।