'मदन पुरस्कार लिन कसैले सुटकेस लिएर आएको छैन'

'मदन पुरस्कार लिन कसैले सुटकेस लिएर आएको छैन'

२०७२ सालमा प्रकाशित पुस्तकहरूमध्येबाट मदन पुरस्कारका लागि उत्कृष्ट सात पुस्तकको सूची मदन पुरस्कार पुस्तकालयले गत मंगलबार सार्वजनिक गर्‍यो। सो सूचीको सन्दर्भमा मपुपुका अध्यक्ष कमलमणि दीक्षितसँग लक्ष्मण श्रेष्ठले गरेको कुराकानी:


२०७२ सालमा प्रकाशित पुस्तकमध्ये मदन पुरस्कारको छनोटमा परेका उत्कृष्ट सात सार्वजनिक भयो। यसरी उत्कृष्टता कायम गर्न गुठीले केही आधार तय गरेको थियो कि?
अरू केही आधार तय गरिएको थिएन। केवल २०१२ सालमा रानी जगदम्बाले मदन पुरस्कार गुठी स्थापना गर्दा ललितपुर पोता रजिस्ट्रेसन अड्डामा गुठीको 'दानपत्र' तथा नियमावली दर्ता गर्दा त्यसमा पुस्तक सर्व श्रेष्ठ हुने जे जे आधार तोकिदिनुभ'को थियो, त्यही कुरा नै छनोट समितिका सातजना विद्वान् विदूषीहरूलाई भनिएको थियो।

०७२ साल चैत १८ गते सम्पन्न मदन पुरस्कार गुठीको ६६औं साधारणसभाबाट १० उत्कृष्ट पुस्तक छान्ने भनी निर्णय गरिएको प्रेस विज्ञप्ति जारी गरिएको थियो। तर, अहिले केवल सात पुस्तकको सूचीमात्रै बाहिर ल्याइयो। के थप तीन उत्कृष्ट हुनसक्ने पुस्तक गुठीलाई प्राप्त नै नभएको हो त?
त्यो निर्णयमा '१० वटा सम्म' भन्ने थियो। सके प्रेस विज्ञप्तिमा 'सम्म' भन्ने छुटेको हो कि !

मदन पुरस्कार घोषणा गर्ने मितिभन्दा केही पहिला नै यसरी नामावली सार्वजनिक गरेर मदन पुरस्कार गुठीले लेखक तथा प्रकाशकलाई चलखेल (लबिङ) गर्ने ठाउँ दिएको छैन भनेर कसरी भन्ने ? प्रकाशकहरू मपुपुमा सुटकेसमा पैसा खाँदेर धाउन थाले भने के गर्नुहुन्छ?

गुठीको साठी वर्षको अनुभवका आधारमा पहिलोपटक यो नयाँ प्रथा धेरै सोची, सम्झी कायम गरिएको हो। भन्नुभएजस्तो 'लबिङ' यो प्रथा चालू नगर्दा पनि हुने नै गरेको अनुभव छ हाम्रो गत १०-१२ वर्षदेखि।

'सुटकेसमा पैसा खाँदेर' कुनै प्रकाशक मकहाँ अझसम्म आएका छैनन्। फेरि दुई लाखको पुरस्कार पाउन कति लाख कतिजनालाई दिन्छन् होला त्यस्ता प्रकाशकहरू ? सुटकेसमा पैसा नै बोकेर आएको अनुभव पनि हेरौं न। अनि पर्यो भने यो प्रथा नै अन्त्य गरौंला।

एक स्रोतअनुसार मदन पुरस्कार गुठीका निकै जिम्मेवार व्यक्तिले निकै चासो राखेर प्रकाशन गर्न लगाइएको पुस्तक सूचीको पहिलो नम्बरमै परेको छ भन्ने सुनियो। कतै यो सूची मदन पुरस्कार गुठीलाई लाग्ने आरोपहरूबाट जोगिने बहानामात्रै त होइन?

'मदन पुरस्कार गुठी'का 'निकै जिम्मेवार व्यक्ति' को रहेछ कुन्नि। गुठीमा प्रबन्ध समितिमा हामी पाँचजना छौं अनि साधारणसभामा हाल अरू आठजना। गुठीका 'जिम्मेवार' या 'गैरजिम्मेवार' जे भने पनि हामी यी १३ जना हौं। त्यसमा पनि सबभन्दा ज्यादा 'जिम्मेवार' म नै हुँला, अध्यक्ष भएका नाताले।

मैले कुनै पुस्तकको बारेमा छनोट समितिका सातैजनालाई क्यै भनेको छैन। यस प्रश्नको अन्तिम वाक्यको 'गुठीलाई लाग्ने आरोप' भनेको मैले बुझिनँ। हामीलाई के आरोप लाग्ने गरेको छ ? त्यस्तो आरोपबाट 'जोगिन' यो सूचीले कसरी मद्दत गर्छ ? बुझ्न पाए हुन्थ्यो। हामीले त माथि भनेजस्तै साठी वर्षको अनुभवका आधारमा यो प्रारम्भ गरेका हौं। पहिले हेरौं न, यसको सकारात्मक-नकारात्मक प्रतिक्रिया के हुन्छ, कसरी आउँछ?

पुस्तकको सूची प्रकाशनपछि पुरस्कार घोषणाको चरणसम्म पुनः चयनको स्थान छ कि छैन ? वा पहिल्यै पुरस्कृत पुस्तक निधो गरेर सूची बाहिर ल्याइएको हो?
मैले बुझेसम्म छैन। यी सात मध्येबाटै पुरस्कार पाउने पुस्तकको चयन हुनेछ। मेरो स्मृतिले भन्छ, 'पहिल्यै पुस्तक चयन' गर्ने कुरा आजसम्म मदन पुरस्कार गुठीमा भएको छैन।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.