पानी माग्दै गंगामाई जात्रा

काठमाडौं: लिच्छविकालको कुनै समय असारमा पानी परेन। जनताले खेतीका लागि पानी पार्न गंगामाईको पूजा गरे। त्यसपछि पानी पर्यो। यही सन्दर्भमा सुरु गरिएको जात्रा काठमाडौंमा अहिलेसम्म निरन्तर मनाइँदै आएको छ।
गंगा सप्तमीको अवसरमा यस वर्ष सोमबार पाशुपत क्षेत्रमा यो जात्रा मनाइएको हो। पशुपतिनाथ मन्दिरछेउको बज्र घरबाट सुरु भई नवाली टोल(जयबागेश्वरीदेखि सिफल जाने बाटो), ताम्रेश्वर मन्दिर परिक्रमा गरेर पुनः जयबागेश्वरी मन्दिरहुँदै दथु टोल, पशुपतिनाथ मन्दिरको पश्चिम ढोका भएर पुनः बज्र घर पुगेर जात्रा टुंगिएको थियो।
पशुपति क्षेत्र विकास कोषको अमालकोट कचहरीका द्वारे पूर्ण डंगोलका अनुसार, सोमबार मध्याह्न हनुमानढोकाबाट ३२ जनाको गुर्जुको पल्टन, पशुपतिनाथ मन्दिरबाट चमार र पंखा लिएर बाजागाजासहित अमालकोटका रैरकमीहरू पशुपतिनाथ मन्दिरका मूल भट्ट गणेश भट्टलाई भेट्ने र अनुमतिपछि खड्ग निशानासहित गुर्जुको पल्टनबाट बढाइँ गरेपछि जात्रा सुरु भएको हो।
गंगा सप्तमीको अघिल्लो दिन आइतबार पशुपतिनाथको मूल मन्दिरबाट गंगामाईको मूर्ति निकालेर बागमती नदी किनारस्थित मन्दिरको पूर्वी द्वारछेउको गंगामाईको मन्दिरमा पुर्याइएको थियो। त्यसअघि ब्रह्मनालछेउमा गंगामाईलाई पञ्चामृतले स्नान गराइएको थियो। त्यसपछि दुईजना ब्राह्मणले होम गरेका थिए।
जात्रा गुठी संस्थान पशुपतिनाथ शाखाले जात्राको यात्राबारे व्यवस्थापन गर्दै आएको छ भने पशुपति क्षेत्र विकास कोषअन्तर्गतको अमालकोट कचहरी शाखाले पूजाको व्यवस्थापन गर्दै आएको छ।
गंगामाई मन्दिरका पूजारी दिनेश पौडेलका अनुसार, लिच्छविकालकी तत्कालीन महारानी गंगाको समयदेखि गंगामाईको जात्रा सुरु भएको हो। ‘लिच्छविकालको कुनै समय असारमा पनि पानी परेन।
खेतीका लागि पानी नपरेपछि जनताले शिवको शिरको जटामा बसेकी गंगाजीले पानी बगाउनुहुन्छ भन्ने मान्यताअनुरूप गंगाको पूजा गरी हरहर महादेव पानी देऊदेऊ भनी बिन्ती बिसाए', उनले भने, 'त्यसपछि पानी परेको र सोही मान्यतालाई जात्राका रूपमा सञ्चालन गरेको पाइन्छ।'
उनले जात्राको मान्यता परम्परागत रूपमा अत्यन्तै महत्वको भए पनि गुठी संस्थान र कोष दुवै खटयात्राका लागि बाटो र सडक पोलमा भएका तारको व्यवस्थापन नगरिदिँदा समस्या भएको बताए।
कोषका कार्यकारी निर्देशक रमेश उप्रेतीका अनुसार, जात्राको जिम्मा गुठीलगायतका निकायले लिए पनि पूजा व्यवस्थापनको जिम्मा कोषले लिएको छ। उनले भारतका हरिद्वार, बनारस, उज्जैनलगायतका पवित्र नदी किनाराहरूमा गंगा सप्तमीका दिन भव्य रूपमा गंगामाईको जात्रा मनाइने जानकारी दिए।
उनले भने, ‘हामीले सभ्यताको रूपमा पाएको बागमती नदी किनारलाई पवित्रताका हिसाबले गंगाका रूपमा पुज्नुपर्छ। यस सन्दर्भमा वर्षमा एकपटक भए पनि यही जात्राको अवसरमा बागमती नदीलाई प्रदूषणरहित बनाउन चेतना छर्न सक्छौं।'
प्रतिक्रिया दिनुहोस !
