'म सधैं आउटसाइडर हुँ'
नारायण ढकाल आख्यान संसारमा यस समयका सबैभन्दा शक्तिशाली लेखक हुन्। भित्र खोक्रो भएर पनि बाहिर चिटिक्क पर्ने पाखण्डको उनी एक नम्बरका दुश्मन हुन्। त्यसैले उनको लेखनजस्तै व्यक्तित्व पनि सरल छ।
खुला हृदय, सरल स्वभाव र आत्मालोचना तथा स्वीकारोक्ति उनका विशेषता हुन्। इतिहासबोध र समयचेत उनको लेखकीय खुबी हो। उनै ढकालका विभिन्न कथासंग्रहमा छरिएका महत्वपूर्ण कथाहरूको संग्रह'नारायण ढकालका कथा' बजारमा आएको छ। लेखन र जीवनमाथि केन्द्रित रहेर नारायण ढकालसँग दीपक सापकोटाले गरेको कुराकानी:
'इरफान अली' लेख्दा तपार्इं तत्कालीन सत्ताको विरोधी पात्र हुनुहुन्थ्यो। पछि सत्ता सञ्चालक दलको सांसद पनि हुनुभयो। तर, तपार्इंका कथाहरूमा'इरफान अली'को प्रेत घुम्न छोडेको पाइँदैन। तपार्इं नफेरिएको कि समय र सत्ता?
निरंकुश राजनीतिक प्रणालीमा जीवनको मूल्य र गरिमा हुँदैन।'इरफान अली'मा मैले उत्खनन गर्न खोजेको मुख्य विषय यही थियो। यो कथा पञ्चायती निरंकुशताको कठोर समयमा लेखिएको हो। त्यस बेला राजधानीका कारागारहरूमा धेरै समयसम्म बगैंचाबाट माटो खन्न निषेध गरिएको थियो।
म २०३६ सालको आन्दोलनको समयमा कारागारमा थिएँ। त्यस बेला मैले त्यो विद्रूप नियम आफैंले अनुभव गरेको थिएँ। कारागार प्रशासनलाई भय थियो, माटो खन्न दिइयो भने सुरुङ खनेर बन्दीहरू भाग्छन्, विद्रोहीलाई प्रोत्साहन हुन्छ। नजानेर र नबुझेर इरफान अलीले चुल्हो बनाउन माटो खन्दा उसलाई यातना दिएर मारियो। पञ्चायती तानाशाहीको राजनीतिक प्रतीक थियो, उसको हत्या।
'इरफान अली' लेखिएयता समय र सत्ता दुवै फेरिए। पञ्चायत हिँड्यो, संवैधानिक राजतन्त्रसहितको संसदीय व्यवस्था आयो। ०६२/६३ को आन्दोलनपछि त राजतन्त्र पनि हिँड्यो र गणतन्त्र आयो। तर, आधार वा अधिरचनामा जस्तोसुकै परिवर्तन भए पनि लेखक राजनीतिक दलबदलबाजजस्तो रातारात फेरिँदैन। कलाका सरोकारहरू राजनीतिक कार्यनीतिजस्तो क्षणक्षणमा फेरिँदैनन्।
अर्को कुरा, सधैं सत्ताको विपक्षमा बस्नु लेखकको धर्म हो। सत्ताको दलाली गर्नेहरू साँचो अर्थमा सर्जक हुन सक्दैनन्। दलाली गर्नेहरूलाई भाट भनिन्छ। भाटहरू सत्ताका संस्थानहरूका लागि त काम लाग्लान् तर तिनीहरूले रचनात्मक जोखिम मोल्न सक्दैनन् र राम्रो सिर्जना पनि गर्न सक्दैनन्।
समय र सध फेरिएको छ भने किन इरफानको प्रेत घुमिरहेछ अझै?
नारायण ढकालसित मात्र यो प्रश्नको सरोकार छैन। मैले अघिल्लो उत्तरमा भनिसकेको छु, गणितका मोटा अंकहरूले समय र सत्ता फेरिएको देखाएका होलान् तर कलाले मानिसको संकटको खोज गर्ने हो र यस दृष्टिले हेर्दा हाम्रो संकट जहीँको तहीँ छ।
मानवीय संकटलाई खस्रा राजनीतिक शब्दावलीमा मात्र मापन गर्नुहुन्न। सोझो हिसाबले निरंकुशतन्त्र त गयो तर मानवताका मूलभूत चुनौतीहरू भने अझै पनि उस्तै छन्।
तपाईंका प्रायः कथामा पात्रहरू अन्त्यमा पुग्दा उदास, पराजित र विचलित देखिन्छन्। तपार्इंको जीवन पनि त्यस्तै देखिन्छ। राजनीति गर्नुहुन्छ, सांसदभन्दा बढी हुनुहुन्न। फेरि छोड्नुहुन्छ। किताब निस्कन्छ, अलिअलि हल्लाखल्ला हुन्छ फेरि सेलाउँछ। के तपार्इंले आफ्नो जीवन पात्रहरूमा पोख्नुभएको हो?
मेरा पात्रहरूमा मेरो छाया त पर्छ नै। मेरो'स्व'को सामर्थ्य पनि त्यही हो। पात्रहरू उदास, पराजित र विचलित हुनु इतिहासको प्रभाव हो। पात्रहरू समाज र इतिहासका निर्मित हुन्छन्। तर, कलाको प्रश्न आएपछि कुनै पनि स्रष्टाले आफूलाई मात्र लेखेर पुग्दैन।
उसले मानिस र समाजको जटिलतामा पस्नुपर्छ। यो निकै चुनौतीको काम हो। ज्ञानका कुनै पनि शाखाभन्दा गम्भीर र पेचिलो हुन्छ कला। कला जीवनको दर्पण होइन। कलालाई जीवनको दर्पण भन्नु यान्त्रिक दृष्टिकोण हो। जीवनझैं कलाको आफ्नै समानान्तर संसार हुन्छ। त्यो जीवनझैं अर्को जीवित यथार्थ हो, अर्को सत्ता हो।
राजनीति मेरो लगामको विषय होइन। राजनीतिमा मैले धेरै समय अरूको झोला बोकेँ। अरूको पछि लागेँ। मेरो यो यात्रालाई म नकारात्मक अर्थमा पनि लिन्नँ। अरूको पछि लागेर सांसदसम्म बन्नु भनेको मेरो लागि ठूलो कुरा थियो। होइन दीपकजी तपाईं नै भन्नोस् त, मजस्तो सुस्त मानिस सांसद बन्नु भनेको मलाई बम्पर चिट्ठा परेको होइन?
तर, म साहित्यमा अरूको पछि लागेको छैन। साहित्यमा मैले अरूको झोला होइन आफ्नै झोला बोकेको छु। यहाँ मेरो आफ्नै स्वप्नयोजना छ। आफ्नै बाटोको खोजी छ। आफ्नै अध्यात्म छ। आफ्नै उद्देश्य छ।
मेरा किताब प्रकाशित भएपछिको हल्लाखल्लाको कुरा गर्नुहुन्छ भने त्यो पनि मेरो लागि विशेष अवसर हो। म जति सामथ्र्यवान् छु, यहाँका पत्रपत्रिकाले मेरो प्रचार त्योभन्दा बढी गर्दिएका छन्। त्यस्तो किन हुन्छ मलाई ज्ञान छैन।
तपाईंले यति धेरै कथा लेख्नुभयो। तर, काँठभन्दा बाहिर निस्कनुभएन। फेरि काठमाडौं सहर पनि छिर्नुभएन। उपत्यका पनि छोड्न नसक्ने, सहर पनि नछिर्ने। यो तपाईंको विशेषता कि कमजोरी?
म काँठको मानिस हुँ। मलाई काँठबारे धेरै थाहा छ। इमानदार लेखकले आफूले जानेको र थाहा पाएको लेख्छ भन्ने कतै पढेको छु। थाहा पाएको विषयमा लेख्न बढी सजिलो पनि हुन्छ। नबुझेको सहरलाई लेख्ने आँट ममा छैन।
मेरा बा जागिरे हुनुहुन्थ्यो। उहाँले ३८ वर्ष सिंहदरबारमा सुब्बाको जागिर खानुभयो। कहिल्यै सरुवा भएर जिल्लातिर जानुभएन। जानुभएको भए म उहाँसँगै उपत्यकाबाहिर पुग्थेँ हुँला।
त्यसैले त्यो अवसर मलाई जुरेन। तर पनि मैले उपत्यकाबाहिरको परिवेश र पात्रको कथा लेखेको छु। पछिपछि जब म घुमन्ते भएर निस्केँ, त्यसपछि ममा काँठभन्दा बाहिरको विषय लेख्ने आँट पलाएको हो।
सहरमा म सधैं आउटसाइडर हुँ। यो कुरा'सहरयन्त्र' कथा पढ्नुभएको भए बुझिहाल्नुहुन्छ। सहर र काँठको अन्तरको राजनीतिक, आर्थिक, सांस्कृतिक र मनोवैज्ञानिक आयामहरू हुन्छन्। केही समययता म बसेको स्थान नगरोन्मुख दिशामा अग्रसर छ। विस्तारै त्यसका पुराना अवयवहरू बदलिँदै छन्।
तपाईंका जति कथा पढे पनि राजनीति, त्यसमा पनि वामपन्थी राजनीतिभन्दा अरू आउँदैन। के नारायण ढकालको संसार वामराजनीतिको आयतनभन्दा बाहिर जाँदैन?
वामराजनीति मेरो जीवनको महत्वपूर्ण पाठशाला हो। राजनीतिमा मैले अरूको झोला बोके पनि मानिसको जीवन र सपनालाई चिन्ने अवसर त्यहीँ गएर पाएको हुँ। त्यसैले मेरो धेरै विषय त्यतैबाट आएको छ।
मैले वामवृत्त बाहिरको विषय पनि लेखेको छु। जस्तै'आत्महन्ता' कथा। यो कथा प्रजातान्त्रिक समाजवादी सोचको विघटनको कथा हो। म हंग्री आन्दोलनमा हुँदा लेखेका कथामा पनि वाम राजनीतिभन्दा बाहिरका, समग्र राजनीतिभन्दा बाहिरका कुरा छन्। ती कथाहरू अहिले फिनिक्सले छापेर बजारमा ल्याएको संग्रहमा पनि परेका छन्।
सबै पुराना कथाहरू जम्मा गरेर निकालिएको नयाँ किताबबाट तपार्इंसँग अपेक्षा पनि त पुरानै होलान् नि होइन?
अहिले छापिएको किताबबाट खासै अर्थपूर्ण अपेक्षाहरू छैनन्। फिनिक्सका साथीहरूले भने, यस्तो किताब छाप्न पाए बिक्छ। खासगरी उनीहरूले भने, नयाँ पुस्ताका जागरुक पाठकले यसलाई रुचाउन सक्छन्। अब उनीहरूले भनेपछि मैले मान्नै पर्यो।
बजारमा के बिक्छ, मलाई थाहा हुन्न। के बिक्छ भनेर लेख्ने अन्तरयामी लेखक हुन सजिलो पनि छैन। त्यसैले म त्यतातिर छैन। प्रकाशकले किताब बिक्छ भनेपछि लेखकलाई पारि श्रमिक पनि त आउँछ।
'इरफान अली'देखि'जगन्नाथ माड्साबको पर्खाल'सम्म आइपुग्दा तपाईंको भाषामा थोरै पनि फरक पाइँदैन। जमाना कहाँ पुगिसक्यो ! कस्ताकस्ता कस्मेटिक स्टाइल आइसके। तपाईं भने लिनियर राइटिङमा साँघुरिएर किन बस्नुभएको ? के तपाईं नयाँनयाँ शैली खोज्ने मामिलामा अल्छी हो ? तपाईंलाई संस्कृतनिष्ठ भाषाको मोह हो?
मेरा पुराना र नयाँ कथाको भाषामा अन्तरै नपरेझैं त मलाई लाग्दैन। म निरन्तर नयाँ बाटो खोज्न मन पराउँछु। फेरि भाषा भनेको अभिव्यक्तिको माध्यममात्र हो। तपाईंले भनेजस्तो कस्मेटिक स्टाइलमा त मेरो पटक्कै विश्वास छैन।
साहित्यमा प्रयोग हुन्छ, भाषामा प्रयोग हुन्छ तर प्रयोगको नाममा सस्तो हुनु लेखकको निम्ति दुर्भाग्य र विडम्वना हो। अचेल कस्मेटिक हुने फेसन चलेको छ हाम्रोमा।
पश्चिमा संसारमा बासी भइसकेका प्रयोगलाई नवीन भनेर लिने स्रष्टा र समीक्षकहरू धेरै छन् यहाँ। तिनीहरूले सोझा पाठकलाई भ्रमित पारेका छन्।
म संस्कृत भाषा र साहित्यको विद्यार्थी त होइन तर मेरो भाषाको आत्मा संस्कृतनिष्ठ भएकोमा म गौरवान्वित छु।
तपार्इं खालि मार्खेज र चिनुवा अचिबीको कुरा गर्नुहुन्छ। तपाईंको लेखनमा खोइ त मार्खेज र अचिबीको जस्तो दम?
धेरैजस्तो लेखकले आफूलाई प्रतिरक्षा गर्न रक्षाकवच बनाउँछन्। म पनि त्यही काँटको हुँ। चिनुवा अचिबी र मार्खेज मेरा रक्षाकवच हुन्। अझ तीमात्र होइनन्, अरू पनि धेरै ठूला नाम छन्।
तिनको सूची भन्नु आवश्यक छैन। तर, जतिसुकै ठूला लेखकको सन्दर्भ जोड्दैमा म राम्रो लेखक साबित हुने होइन। म सिकारु लेखक हुँ, यो कुरा म दाबीका साथ भन्नसक्छु। मार्खेज बन्न मलाई पाँचपल्ट जन्मिनुपर्छ भनेर उहिल्यै भनेको थिएँ मैले। चिनुवा अचिबी तुलनात्मक रूपमा सरल छन् तर उनको उचाइमा म यो जन्ममा पुग्न सक्दिनँ।
कहिले एग्ज्याजरेसन गर्नुहुन्छ, उपन्यास पचासौंपटक लेखेँ÷पुनः लेखन गरेँ भनेर। पचासौंपटक लेखेपछि त उपन्यास अद्भुत हुनुपर्ने। तर, किन झुर हुन्छ त ?
मेरो सबभन्दा ठूलो कमजोरी भनेको एकैपटकमा चित्तबुझ्दो लेख्न नसक्नु हो। म गर्भैबाट बनेको चामत्कारिक प्रतिभा होइन। पूर्वजन्मको संस्कार नै छैन ममा।
पुनर्लेखनमा चित्त नबुझेर एउटा उपन्यास डम्प गरेको हो मैले। यो कुरा कवि हरि अधिकारी, विमल निभा, शार्दूल भट्टराई र आत्माराम शर्मालाई थाहा छ। उहाँहरूले त्यसको पाण्डुलिपि पढ्नुभएको थियो।
अहिले लेख्दै गरेको उपन्यासमा पनि त्यस्तै समस्या आएको छ। धेरैपटक परिमार्जन भइसक्यो तर म सन्तुष्ट हुन सकेको छैन। त्यसको भविष्य निर्धारण हुन अझ छ/सात महिना लाग्छजस्तो छ। यो दुःख हेर्दा यी विद्याकी देवी भनिएकी सरस्वती मप्रति ज्यादै दुराग्रही छिन् कि जस्तो लाग्छ। उनको कृपाले एकैपल्टमा दामी रचना गर्नसक्छु भनेर दाबी गर्नेहरू पनि छन् हाम्रो साहित्यमा तर म तीजस्तो सरस्वती पुत्र हुन सकिनँ।
एउटा उपन्यास लेख्नुभएको थियो रे। गोविन्द वर्तमानले झुर भयो भनेपछि जलाउनुभयो रे। तर यो रेचाहिँ हल्लाभन्दा बढी केही होइन भन्छन् नि। धत्, लेखक भएर पनि हल्ला गर्ने?
गोविन्द वर्तमान मेरा प्रथम पाठक थिए। उनको उपन्यासबोध पनि उच्च तहको थियो।'पीत संवाद' उपन्यासको सम्बन्धमा उनले धेरै सुझाव दिएका थिए, विषय राम्रो छ तर लेखाइ पुगेन भनेर। सुरुमा उनले भनेको मैले बुझिनँ र हतारहतारमा उपन्यास प्रकाशित भयो।
उपन्यास प्रकाशित भएको केही वर्षपछिमात्र मैले उनको कुरा बुझेँ। उपन्यास कमजोर भएछ। पछि बुद्धि आएपछि के गर्नु?मैले आफ्नो लेखन र रचनागर्भबारे धेरै लेखिसकेको छु। मैले उपन्यास जलाएको भनेर कसले हल्ला चलायो कुन्नि। मेरो हल्ला गर्ने बानी छैन। मैले आजसम्म आफ्ना कुनै पनि रचना जलाएको छैन।
अब कुरा फेरौं। तपाईं, विमल निभा, राजव र श्यामलहरूको एउटै गुट छ भन्ने निकै चर्चा छ। यो चार दशक अघिदेखिकै चर्चा हो। तपाईंहरू सधैं यसरी गुटमै रमाइरहनुहुन्छ?
गुटबन्दी त गर्नुपर्छ नि। सबै गर्छन्। हाम्रो राजनीतिमा त गुटबन्दी महान् धर्मझैं रहेको पाइन्छ। तर, हामी साथीहरूबीचको गुटबन्दी एकअर्कालाई फोस्रो तारिफ गरेर महत्वाकांक्षा पूरा गर्ने अस्त्रमात्र कदापि होइन। हामी एकापसमा धेरै क्रिटिकल छौं। के तपाईंले लिएका नामहरू नेपाली साहित्यको सुस्त जमातमात्र हो ? के विमल निभा र श्यामल सालाखाला कविमात्र हुन् ? राजव सालाखाला कथाकारमात्र हो ? नेपाली साहित्यका यी ट्रेन्ड सेटरहरूको गुटमा रहँदा मलाई गौरवबोध हुन्छ।
वास्तवमा तपाईंहरूको गुटको फाइदा के हो ?
हाम्रो गुटको सबभन्दा धेरै फाइदा साँझको सांस्कृतिक जमघट नै हो। अमृतपान सत्रमा यी साथीहरू रचनात्मक उचाइझैं अग्ला र सुसंस्कृत हुन्छन्। अरू त फाइदा त के र ? गल्ती गर्दा कसैले कसैलाई बाँकी राख्दैन।
सँगै चिया खाने र पछि साथी निस्केपछि व्यापक कुरा काट्ने तपाईंहरूको बानी हो। यस्तो पनि गुट हुन्छ?
त्यही त हाम्रो गुटको विशेषता हो। अरू गुट आआफ्नो होचो कदलाई अग्लो बनाउन गुटबन्दी गर्छन्। हाम्रो गुट भएको उचाइलाई पनि होचो पार्न गुटबन्दी गर्छ।
यो गुटभित्र पनि तपार्इंको प्रिय दोस्त को हो? किन?
सबैका आआफ्ना विशेषता छन्। सबै अन्तस्करणमा साधु-सन्न्यासीजस्ता छन्। विमल कविता र व्यंग्य लेख्छन्। साधुता नभई यी दुवै विधामा सिद्धि पाउन सकिँदैन। श्यामल कवि हुन जन्मेका हुन्। राजव त उपल्लो थलोका कथाकार भैगए। बरु उनीहरूको तुलनामा म नै बढी हराम छु।
तपाईं यो उमेरमा पनि निकै रोमान्टिक हुनुहुन्छ रे। अराजकताको हदसम्म पनि पुग्नुहुन्छ भन्ने हल्ला छ। सत्य हो?
रोमान्टिक हुन उमेरले छेक्छ ? अराजकता नअँगाल्ने पनि सर्जक हुनसक्छ ? प्रचलित रूढिहरूसँग कुस्ती नखेल्ने हो भने के नयाँ लेख्न सकिएला ? दीपकजी, तपाईं कम अराजक छु भन्ठान्नुहुन्छ ? तपाईंको निबन्धसंग्रह'लोकेसन' पढेपछि तपाईंको पोल खुल्दैन?
नवलेखिकासँग विशेष आकर्षित हुनुहुन्छ। नवलेखिकाको ब्लर्बमा तपाईंको भूमिका टाँसिएको हुन्छ। तर, मर्यादाको सँघार नाघ्ने हिम्मत पनि जुटाउनुहुन्न। तपाईं हिम्मत नभएको प्राणी हो ?
म अन्तरमुखी स्वभावको मानिस होइन। आफ्ना कुराहरू म हाकाहाकी राख्छु तर तपाईंले खोज्नुभएको उत्तरको मनशाय अलि फरक किसिमले बुझ्दा राम्रो हुन्छ।
खासमा म नयाँ पुस्तासित संवाद गर्न उत्साहित छु। तपाईंको पुस्तकको ढाडमा पनि मैले लेखेको छु। त्यस्तै युग पाठक, शकुन्तला जोशी, निरूपा प्रसुन, झलक सुवेदी, रेशम विरही, मि श्र वैजयन्ती आदि थुप्रैका किताबमा मेरा छोटा मन्तव्य छापिएका छन्।
नयाँ साथीहरूसँगको सार्थक संवाद र साहित्यिक आन्दोलनको मुख्य पाटो हो यो मेरो। चन्द्रवीर तुम्वापो, निरूपा प्रसुन वा युवराज भट्टराई आदिसँगको मेरो संगतको निहितार्थ त्यही हो। महिला होस् या पुरुष, म नयाँ पुस्ताको आवाज सुन्न मन पराउँछु।
उनीहरूसित रचनात्मक सहयात्रा गर्न मन पराउँछु।उनीहरूलाई हौस्याउन मन पराउँछु। मलाई उनीहरूको गम्भीरता र दायित्वबोधले प्रभावित तुल्याएको छ।
रक्सी पिउने र हिँड्नेमा तपाईंले निकै इन्जोय गर्नुहुन्छ। आफैंलाई नंग्याउन पनि सक्नुहुन्छ। यसको प्रेरणास्रोत के हो?
यसको विशेष दार्शनिक र वैचारिक आधार छजस्तो लाग्दैन मलाई। म स्वभावले वैदिक चरित्रको ब्राह्मण हुँ। सोमरस समुद्र मन्थनबाट पाइएका चौध रत्नमध्येको एक रत्न हो भनेर मैले कतै पढेको हो। यसका निम्ति देवता र असुरसमेत युद्धमा उत्रिए। अब त्यसबाट ब्रह्मसाक्षात्कार प्राप्त हुन्छ भने म किन पछि हट्नु?
लेखकहरूको दुनियाँमा रक्सी खाने त तमाम छन्। तर, श्यामल र नारायणबारे हल्ला किन हुन्छ?
मेरो विषयमा अरूले कसरी हल्ला गर्छन् म भन्न सक्दिनँ तर श्यामललाई टिकाटिप्पणी गर्नेहरूचाहिँ असल नियत राख्दैनन् भन्ने लाग्छ। उसलाई एकेडेमीमा जान नदिन श्यामल जँड्याहा हो भनेर अभियान नै चलाए।
लेखनमा सुस्त रहेका अवसरवादीहरूसँग यस्तै भुत्ते हतियार हुन्छन्। यो कुराले हाम्रो कला र संस्कृतिमा हावी भएका चरित्रहरूको शवपरीक्षा हुन्छ। तर मैले भनिहालेँ, श्यामल विशुद्ध रूपमा कवि हुन जन्मेको मानिस हो।
हिप्पीकालमा हिप्पी नै भएर लेखन सुरु गर्नुभयो। अहिले पनि कहिले चरम व्यावहारिक, कहिले चरम अराजक देखिनुहुन्छ। कहिले सुव्यवस्थित जीवन बिताइरहेजस्तो। यस्तो विरोधाभास किन?
विरोधाभाष छैन भने के जीवन ? कहिले पैसा हुँदैन, चोर या डाँका बनौंजस्तो भाव आउँछ मनमा। कहिले जीवनका सामान्य आवश्यकता टार्ने पैसा हुन्छ, त्यस बेला आफूजति आदर्शवादी संसारमा अर्को छैनजस्तो लाग्छ।
दीपकजी, यी सबै कुरा समयसापेक्ष हुँदा रहेछन्। हिप्पीकालमा त्यसैमा आनन्द आयो। पछि कम्युनिस्ट हुँदा फेरि अर्को आनन्द थपियो। अहिले आफूले हिँडेर आएको इतिहासप्रति निर्मम प्रश्न उठाउँदा पनि आनन्द आइरहेको छ।
अन्त्यमा, तपाईंको यही कथासंग्रहमै फर्किऊँ। यो संग्रहको सबैभन्दा उत्कृष्ट र सबैभन्दा झुर कथा कुन हो ?
तपाईंको यो प्रश्न हेर्दा सतहीजस्तो लागे पनि अन्तर्यमा यो ज्यादै गम्भीर छ। लेखकले आफ्ना कथालाई झुर वा उत्कृष्ट भन्नसक्नु उसको महानता हो। तर, म अझै त्यो उच्चतम समीक्षा चेतको सामथ्र्य राख्ने हैसियतमा पुगेको छैन।