शहीद दूर्गानन्द झा, जसले राजा महेन्द्रमाथि बम प्रहार गरे
जनकपुरधाम : शहीद दुर्गानन्द झालाई मंगलबार उनको पैतृक गाउँ धनुषाको जटहीमा स्मरण गरिएको छ। बलिदानी दिवसको अवसरमा शहीद दुर्गानन्द झा शालीक निर्माण समितिले पुण्यतिथि मनाएको हो।
प्रजातन्त्रलाई समाप्त गरेको झोकमा नेपाल विद्यार्थी संघका नेता दुर्गानन्द झाले तत्कालीन राजा महेन्द्रमाथि २०१८ साल माघ ९ गते जनकपुरधामको जानकी मन्दिरमा बम प्रहार गरेका थिए। सोही अभियोगमा २०२० साल माघ १५ गते काठमाडौंको केन्द्रीय कारागारमा हत्या भएको स्मृतिमा बलिदानी दिवस मनाउने गरिन्छ।
घरको एक्लो सन्तान भएकाले मेट्रिक (एसएलसी) पढ्दापढदै २०१७ साल विवाह पञ्चमीको दिन उनले काशीदेवी झासँग विवाह गरे। उनले १७ वर्षकै उमेरमा कुम्हरौराकी १४ वर्षीया काशी देवीसँग विवाह गरेका थिए। एक वर्षको दाम्पत्य जीवनमा गर्भवती श्रीमतीलाई छाडेर उनी लोकतन्त्रको संघर्षमा उत्रिएका थिए। राम्रो हेरचाह नपाएपछि उनकी श्रीमतीले मृत अवस्थामा बच्चाको जन्म दिएकी थिइन्।
२०६० साल भदौमा उनको वृद्ध आमाको पनि निधन भयो। अहिले काशीदेवी झा एक्लै जीवन बाँच्दै आएकी छन्। सरकार र देशले दुर्गानन्द झाको लागि खास केही नगरे पनि युवा जमातले उनको निःस्वार्थ त्याग र बलिदानलाई सम्झिँदै आएका छन्।
पत्नी वियोगमा गजब भयो, जुलुम भयो
‘दो हंसोका जोडा विछड गयो रे,
गजब भयो रामा जुलुम भयो रे’
शहीद दुर्गानन्द झाले आफ्नी प्रिय पत्नी काशी देवीको यादमा यही हिन्दी गीत गाएर विरह र वियोगको भाव प्रकट गर्ने गर्थे। जटहीभन्दा करिब ३ किमी टाढा रहेको भारतको उमगाँव उच्च माध्यमिक विद्यालयमा म्याट्रिकमा अध्ययनका क्रममा दुर्गानन्दको अधिक समय छात्रबासमा बस्ने र राजनीतिमा बित्ने गर्थ्यो। पत्नीकाशी देवीसँग उनको भेट महिनामा एकाधपटक हुन्थ्यो। दाम्पत्य जीवन सुरु भएको १० महिना नबित्दै दुर्गानन्द काशीलाई सधैंका निम्ति टाढिनुपरेको थियो।
५० वर्षअघिको हाम्रो समाजमा बाल्यअवस्थादेखि नै विधवा र सन्तानविहीन भएर बाँच्नुको पीडा कतिको विडम्बनापूर्ण हुन्छ, यसको तीतो अनुभव काशी देवीजस्ता त्यागी नारीले गरेको हुनुपर्छ। दुर्गानन्दसँग अन्तिम पटक भेट्न केन्द्रीय कारागार काठमाडौं बोलाइएकी काशी देवीलाई त्यहाँ पुगेपछि मात्रै दुर्गानन्दलाई हत्या गर्ने सजाय सुनाइएको थाहा पाएकी थिइन्।
२०१७ पुस १ गते राजा महेन्द्रले चालेको निरंकुश कदमविरुद्ध नेपाली कांग्रेसले मुलुकभर क्रान्ति थालेको थियो। भारतीय स्वतन्त्रता संग्रामका वीर सेनानी भगत सिंह र चन्द्रशेखर आजादको जीवनी पढिसकेकाले दुर्गानन्द प्रजातन्त्रको हत्यारालाई नछाड्ने मनस्थितिमा पुगे। मानिसले संकल्प गरिसकेपछि जे पनि गर्न सक्छ। आफ्ना आमा बाबुका एकमात्र सन्तान र नव विवाहित युवक भएर पनि दुर्गानन्द झा आफ्नो लक्ष्यमा अडिग थिए। उमगाँवमा पढिरहेकै ठाउँभन्दा केही पर रहेको नेपाली कांग्रेसका निर्वासित नेताहरूका सम्पर्कमा उनी आए। यसै क्रममा कांग्रेसका प्रतिबन्धित स्थानीय नेताहरू ठाउँ ठाउँमा राजाको ‘कू’विरुद्मा उत्रेका थिए।
२०१८ माघ १९ गते राजा महेन्द्रको जनकपुरधाम सवारी हुँदा उनी चढेको गाडीमाथि बम प्रहार गर्ने योजना बनाइएको थियो। जसको अगुवाई दुर्गानन्द झाले गरेका थिए। नेपालमा राजा भनेको भगवान विष्णुको अवतार हो भनेर जनजनमा पढाइएको थियो। राजाको विरोध गर्ने त कसैले आँट जुटाउन सक्दैन थिए। राजामाथि बम प्रहार गर्न अदम्य साहसको आवश्यकता पर्थ्यो। हजारौं सुरक्षाकर्मी तैनाथ रहँदा रहँदै क्रान्तिकारी युवक पक्राउ नपर्दा पनि त्यसरात दुर्गानन्द जनकपुरधामको एउटा कुटी मन्दिरमा डेरागरी बसेका आफन्तहरू हेमचन्द्र चौधरी र भोगेन्द्र चौधरी बसेको कोठामा बसे। भोलिपल्ट त्यहाँबाट उमगाँव लागेका थिए।
यता नेपालमा बम काण्डको अनुसन्धानको नाममा ५६ जनालाई पक्राउ गरी दिनहुँ कुटपिट गरिन थालियो। पक्राउ परेकाहरूलाई निर्मम यातना दिन थालियो। बम प्रहार गरी सीमापारी नेपाली कांग्रेसको चुतौनी क्याम्पमा बसेका दुर्गानन्दले निर्दोष मानिसले यातना पाइरहेको सुनेर एक दिन अनायास जयनगरबाट जनकपुर रेल्वेद्वारा नेपाल फर्केर गिरफ्तारी दिए।
आफ्नो कारण निर्दोष नागरिकहरूले यातना पाउनु हुँदैन भन्ने सोचका साथ उनले गिरफ्तारी दिए। राजामाथि बम प्रहार गर्ने दुर्गानन्दलाई खजुरी र महिनाथापुर स्टेशनसम्म कसैले केही गरेन। यसैबीच तत्कालीन एसपी मानबहादुर राई दर्जनौं प्रहरीको साथ परवाहा रेल्वे स्टेसनमा पुगे। त्यहाँ रेलबाट ओर्लिनासाथ दुर्गानन्दलाई प्रहरीले घेरामा लिई त्यो रात जलेश्वर जेलमा राख् । भोलिपल्ट परकौली सैनिक ब्यारेकमा ल्याई हेलिकोप्टरबाट काठमाडौं सुन्धारास्थित जेलमा ल्याइयो। गिरफतारी दिएलगतै उनीमाथि राजद्रोहको मुद्दा चलाइयो।
मुलुकी ऐन संशोधन गरी मृत्युदण्ड
पञ्चायत सरकारले उनलाई मृत्युदण्डको सजाय तोकी वि.सं. २०२० माघ १५ गते उनलाई फाँसीको तख्तामा झुन्ड्याउन आदेश दिइयो। फाँसीमा झुन्ड्याउनुभन्दा एक दिन अगाडि २०२० साल माघ १४ गते उनको आमा र श्रीमतीलाई कारागारमा बोलाई भेट गर्न दिइयो। केही बेरको भेटमा उनले आमालाई भने, ‘नरुनुहोस् आमा, कुनै दिन तपाईँलाई दुर्गानन्द झाको आमा भनेर सबैले गर्व गरेर हेर्नेछन्।’ श्रीमतीलाई पनि त्यसैगरी सान्तवना दिँदै उनले आमाको हेरचाह गर्न भनेका थिए।
भोलिपल्ट माघ १५ गते राति दुर्गानन्दलाई त्रिपुरेश्वर जेलको रुखमा दुईपटक झुण्डयाउँदै उतार्दै गरिन्छ। त्यसबखत पनि दुर्गानन्दलाई माफी मागी बिन्तीपत्र लेख्न भनिएको थियो। सरकारले एक विशेष अदालत गठन गर्यो। सफाईको मौकासमेत नदिएर २०१९ साल भदौ १९ मा मृत्युदण्डको निर्णय सुनायो। त्यसबेलासम्म नेपालमा ब्राहमणलाई मृत्युदण्ड दिइँदैन थियो। त्यसैले मुलुकी ऐन २०२० भदौ १ मा संशोधन गरियो। विशेष अदालतको अनुमोदन अनुसार मारीकाटी दिने राजदरबारको २०२० पुस ७ को पत्र जारी भयो। २०२० माघ १५ क्रान्तिकारी दुर्गानन्द झालाई सुन्धारा जेलमा मध्यरातमा मृत्युदण्ड दिन ढोका खोल्दा त्यो निर्भीक क्रान्तिकारी मृत्युका लागि तयार बसेको देखेर हत्याराहरु पनि छक्क परेका थिए।
प्रतिक्रिया दिनुहोस !