नयाँ सरकारमा गृहसहित १४ मन्त्रालय कांग्रेसलाई
काठमाडौं: नयाँ सरकार निर्माणमा सहकार्य गर्न लिखित सहमति गरेका कांग्रेस र माओवादी केन्द्रले मन्त्रालयको वर्गीकरण गरी बाँडफाँट गर्ने निर्णय गरेका छन् । स्रोतका अनुसार दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिमा कांग्रेसले गृहसहित १४ र माओवादीले प्रधानमन्त्री र अर्थसहित ८ वटा मन्त्रालय लिने सहमति बनेको छ ।
दुई दलबीच भएको आन्तरिक सहमतिपत्रमा मन्त्रालयको संख्यासमेत तोकिएको छ । बाँकी मन्त्रालय भने सरकारमा सहभागी राप्रपा, साना दल र मधेसी दलहरूलाई छुट्ट्याउने सहमतिमा उल्लेख छ । उक्त पत्रमा चैत मसान्तसम्म प्रधानमन्त्रीमा माओवादी अध्यक्ष दाहाल र त्यसपछिको बाँकी अवधि कांग्रेस सभापति देउवा प्रधानमन्त्री हुने उल्लेख छ ।
दुई दलबीच भएको पाँचबुँदे आन्तरिक सहमतिलाई कांग्रेस केन्द्रीय समितिले समेत अनुमोदन गरेको छ । दुवै दलले यो सहमति फाइलिङ गरेर रेकर्डमा राखे पनि सार्वजनिक नगर्ने सहमति भएको छ । सरकार सञ्चालनका लागि दुवै दलका एकएक नेता रहने गरी उच्चस्तरीय संयन्त्र बनाउनेसमेत आन्तरिक सहमतिमा उल्लेख छ ।
प्रधानमन्त्रीले राजीनामा गरे वा अविश्वासका प्रस्ताव पास भएपछि मात्र कुन मन्त्रालय कुन दलले लिने भन्ने टुंगो लाग्ने स्रोतले उल्लेख गरेको छ । कांग्रेसले पहिलो चरणमा प्रधानमन्त्रीमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई समर्थन गरेर सरकारमा सहभागी हुने निर्णय गरेको छ ।
संसद्भवन नयाँ बानेश्वरमा बुधबार बसेको कांग्रेस केन्द्रीय समिति बैठकले कांग्रेस र माओवादीबीच भएको सातबुँदे र आन्तरिक सहमतिलाई अनुमोदन गर्दै दुई दलका नेतृत्वले आलोपालो सरकारको नेतृत्व गर्ने औपचारिक निर्णय गरेको हो । ‘कांग्रेस सभापति र माओवादी अध्यक्षबीच भएको सातबुँदे सहमति केन्द्रीय समिति बैठकले सर्वसम्मत अनुमोदन गरेको छ,' बैठकपछि केन्द्रीय सदस्य ज्ञानेन्द्रबहादुर कार्कीले अन्नपूर्णसँग भने ।
बैठकको सुरुमै सभापति शेरबहादुर देउवाले पछिल्लो राजनीतिक अवस्था र माओवादीसँग भएको सहमतिबारे जानकारी गराएका थिए । त्यसलगत्तै माओवादीसँग भएको सातबुँदे सहमति र त्यसको पृष्ठभूमिका विषयमा नेता विमलेन्द्र निधिले बैठकमा विस्तृत धारणा राखेका थिए ।
बैठकले कांग्रेस र माओवादी केन्द्रका बीच २०७३ असार २८ गते भएको सहमतिअनुसार कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालद्वारा हस्ताक्षरित सहमतिपत्रलाई अनुमोदन गर्दै त्यसको कार्यान्वयन गर्ने निर्णयसमेत गरेको छ ।
कांग्रेसले सत्ताको मुख्य घटक माओवादीले सरकारलाई दिएको समर्थन फिर्ता लिएकाले प्रधानमन्त्री केपी ओलीले तत्काल राजीनामा दिएर नयाँ सरकार गठनको मार्ग खुलाउनुपर्ने माग पनि गरेको छ ।
प्रधानमन्त्री ओलीले राजीनामा नगरे अविश्वासको प्रस्ताव दर्ता गर्ने निर्णय पनि बैठकले गरेको थियो । सोही निर्णयअनुसार अपराह्न कांग्रेस, माओवादीलगायत १३ दलले प्रधानमन्त्री ओलीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका हुन् ।
बैठकमा नेता रामचन्द्र पौडेलले कांग्रेस र माओवादीबीच भएको सातबुँदे सहमतिका विषयमा आफू सभापतिसँग सम्पर्कमै रहेको धारणा राखेका थिए । त्यस्तै नेता रामशरण महतले सातबुँदे सहमतिमा समर्थन गर्दै नयाँ समीकरणका विषयमा छुट्टै बैठक बोलाएर छलफल गर्न आग्रह गरेका थिए ।
बैठकमा केन्द्रीय सदस्य प्रकाशमान सिंहले पार्टी विधानअनुसार सञ्चालन नभएको भन्दै सभापतिको आलोचना गरेका थिए । त्यस्तै नेत्री सुजाता कोइरालाले कांग्रेस र एमालेबीच गठबन्धन गरेको भए राम्रो हुने धारणा राखेकी थिइन् ।
बैठकले अकस्मात् अस्वस्थ भई उपचारार्थ ओम अस्पतालमा भर्ना भएका कांग्रेस महामन्त्री शशांक कोइरालाको स्वास्थ्य अवस्थामा आएको सुधारप्रति सन्तोष व्यक्त गर्दै उनको उपचारमा संलग्न चिकित्सक दलका सम्पूर्ण सदस्यप्रति धन्यवाद प्रकट गरेको छ ।