ओलीको राजीनामापछि सेयर बजारमा छलाङ, नेप्से ४० अंकले बढ्यो
काठमाडौँ : प्रधानमन्त्री केपी ओलीले राजीनामा दिएर सहज रुपमा नयाँ सरकार गठन हुने सुनिश्चित भएपछि सेयर बजारले छलाङ मारेको छ। धितोपत्र बजार आज भने करिब ४० अङ्कले वृद्धि भएको छ ।
नेपाल स्टक एक्चेन्जका अनुसार आज नेप्से परिसूचक ४० अङ्कले बढेर एक हजार ८४० विन्दुमा पुगेको छ । २ अर्ब २४ करोड बढीको कारोबार भएको छ। आइतबार सफ्टवेयरमा आएको समस्याका कारण कारोबार हुन सकेको थिएन।
कुल १४७ कम्पनीकोे सेयर बजारमा आज रु दुई अर्ब २४ करोड दुई लाख नौ हजार ६२४ मूल्य बराबरको कारोबार भएको छ । कुल ४७ लाख ४० हजार ९७२ कित्ता सेयर कारोबार हुँदा जलविद्युत् समूहबाहेक अन्य समूहको भने सेयर कारोबार बढेको छ ।
तीन दिन लगातार बन्द भएर खुलेको सेयर बजारमा बैङ्किङ २.४८, होटल २.१२, विकास बैंक ४.६३, फाइनान्स २.४५, बीमा ०.९३, उत्पादन क्षेत्र ०.११ र अन्य समूहको सेयर १.०७ प्रतिशतले बढेको छ भने जलविद्युत् समूहको सेयर ०.४६ प्रतिशतले घटेको छ । राजनीतिक अन्योलबीच पनि सेयर बजार निरन्तर बढ्दै आएको छ।