कांग्रेसको चुनौती
मुलुकमा भएको सत्ता नेतृत्व परिवर्तनबाट नेकपा माओवादी केन्द्रलाई प्रत्यक्ष फाइदा भएको छ, हालको लागि । संसद्भित्र तेस्रो स्थानमा रहेको पार्टी माओवादी केन्द्रका नेता पुष्पकमल दाहाल प्रधानमन्त्रीका रूपमा प्रस्तावित छन् । संख्या र स्वार्थबाट निर्देशित राजनीतिले निरन्तरता पाइरहेको यो अवस्थामा दाहालको राज्यारोहण त्यति असहज नहोला ।
तर, त्यसले मुलुकको लागि के अर्थ राख्ला ? वास्तवमा राजनीतिक नेतृत्वले विश्वसनीयता गुमाइसकेको अवस्थामा आम जनताको नयाँ नेतृत्वसँग त्यति ठूलो अपेक्षा पनि नहोला, तर केपी ओली नेतृत्वले सक्रिय स्वाभिमान र सार्वभौमसत्तालाई केन्द्रमा राखेको थियो भन्ने व्यापक धारणालाई अब आउने नेतृत्वले ध्यान दिएन भने त्यसले जनताको नजरमा सरकार र खासगरी नेतृत्व निकै तल खस्नेछन् ।
माओवादीभन्दा यो नेपाली कांग्रेसको लागि ठूलो चुनौतीको विषय बन्नेछ भविष्यमा । प्रतिपक्षको रूपमा जनहित र राष्ट्रहितका पक्षमा सरकारको आलोचना गर्ने र परिआएमा वैधानिक तरिकाबाट सरकारलाई अपदस्थ गर्ने काम या जिम्मेवारी कांग्रेसको काँधमा थियो । एक हदसम्म उसले त्यो काम सम्पन्न गरेको छ ।
तर सरकार गिराएपछि प्रमुख प्रतिपक्ष र संसद्मा सबभन्दा ठूलो दलका रूपमा नयाँ सरकारमा रहनुमा मात्र उसको जिम्मेवारी सीमित रहने छैन । कांग्रेसको प्रत्यक्ष सम्बन्ध राज्यको जनताप्रतिको संवेदनशीलता र जवाफदेहीता, मुलुकको राजनीतिक स्थिरता र आर्थिक समृद्धिसँग बढी हुनुपर्नेछ ।
नेपालको राजनीति सार्वभौम र स्वतन्त्र रूपमा नेपालीको हात र नियन्त्रणमा कसरी आउनेछ, त्यसबाट पनि कांग्रेसको औचित्य र सान्दर्भिकता पुष्टि हुनेछ । त्यसकारण आगामी दिन या साता कांग्रेस र यसका सभापति शेरबहादुर देउवाको लागि बढी चुनौतीपूर्ण र केही हदसम्म अवसरको अवसर पनि हुनेछ ।
प्रधानमन्त्रीका रूपमा पुष्पकमल दाहाल कति संयमित होलान् व्यवहार र अभिव्यक्तिमा अनि कांग्रेसबाट मन्त्रीमा कति स्वच्छ या विवादित अनि बाहिरी सत्ता केन्द्रका सन्दिग्ध गोटीहरू या मुलुकभित्र सम्मानित व्यक्तिहरू सरकारमा जालान्, यसले पनि कांग्रेसको आगामी स्वरूपबारे जनभावना बन्नेछ ।