रियो ओलम्पिकको उद्घाटन आज 

रियो ओलम्पिकको उद्घाटन आज 

रियोः विश्व खेलकुदको महाकुम्भ ओलम्पिकको ३१ औं संस्करण शुक्रबारदेखि ब्राजिलको राजधानी रियो दी जेनेरियोमा आधिकारिक रूपमा सुरु हुँदैछ । पुरुष र महिला फुटबलका प्रतिस्पर्धाहरू बुधबारबाटै सुरु भए पनि प्रतियोगिताको आधिकारिक उद्घाटन भने शुक्रबार साँझमात्रै हुनेछ । आयोजक ब्राजिलले शुक्रबारदेखि १७ दिनसम्म सञ्चालन हुने प्रतियोगिताको उद्घाटन भव्य बनाउने तयारी गरेको छ ।

उद्घाटन समारोहका लागि ब्राजिलले रियोस्थित माराकाना रंगशालालाई विशेष रूपमा तयार पारेको छ । ब्राजिलियन चलचित्र निर्देशन फर्नान्डो मेरिलेस नेतृत्वको टोलीले उद्घाटन समारोहका लागि विशेष कार्यक्रमको तयारी गरेको छ । फर्नान्डोको नेतृत्वमा अन्य दुई निर्देशक डानिला थोमस र एन्ड्रयुचा वाडिङ्टन सम्मिलित टोलीले रियो ओलम्पिकको उद्घाटनको सम्पूर्ण कार्यक्रम तयार पारेका हुन् ।

उद्घाटन समारोहमा प्रस्तुत गरिने सांगीतिक तथा सांस्कृतिक कार्यक्रमका लागि ब्राजिलका चर्चित कोरियोग्राफर डेबोराह कोल्करले ६ सय स्वयम्सेवकलाई तयार पारेका छन् ।

उद्घाटन समारोहमा सहभागी हुन विभिन्न राष्ट्रका राष्ट्र प्रमुख, सरकार प्रमुखदेखि लिएर विशिष्ट पाहुनाहरू ब्राजिल पुग्ने क्रम जारी छ । उद्घाटन समारोहमा संयुक्त राष्ट्रसंघका महासचिव बान की मुन, नेदरल्यान्ड्सका राजा विलेम एलेज्यान्डर, फ्रान्सेली राष्ट्रपति फ्राङ्कोइज होल्यान्ड, अर्जेन्टिनी राष्ट्रपति माउरिसियो माक्री, अमेरिकी विदेश सचिव जोन केरीलगायतका विशिष्ट पाहुना रियो ओलम्पिकको उद्घाटन समारोहमा सहभागी हुनेछन् ।

ब्राजिलले यस पटक उद्घाटन समारोहमा निक्कै कम खर्च गर्ने जनाएको छ । आयोजकले कम खर्चमै उद्घाटन समारोहलाई भव्य, उत्कृष्ट र पृथक् बनाउने बताएको छ । निर्देशक फर्नान्डोले रियो ओलम्पिकको उद्घाटन समारोहको कार्यक्रमले ब्राजिलको भविष्यलाई पनि इंगित गर्ने बताएका छन् । ओलम्पिकको इतिहासमा यस पटक अहिलेसम्मकै सर्वाधिक दुई सय ६ देशले सहभागिता जनाएका छन् ।

ओलम्पिक खेलकुदमा सहभागिता जनाउन लागेको यो १३ औं पटक हो । 

यसैगरी सहभागी खेलाडीको संख्या पनि अहिलेसम्मकै सर्वाधिक हो । रियो ओलम्पिकमा ११ हजार दुई सय ३९ जना खेलाडीले सहभागिता जनाएका छन् । रियो ओलम्पिकमार्फत कोसोभो र दक्षिण सुडानले पनि पहिलो पटक ओलम्पिक खेलकुदमा सहभागिता जनाउँदै छ । खेलाडीहरूले प्रतियोगितामा समावेश गरिएका २८ खेलमा तीन सय ६ पदकका लागि प्रतिस्पर्धा गर्नेछन् ।

रियो ओलम्पिकमा सन् २००९ मा ओलम्पिक खेलकुदमा समावेश गरिएको रग्बी र गल्फलाई पनि स्थान दिइएको छ । ब्राजिलले यी खेल विभिन्न ३८ वटा खेल स्थलमा सञ्चालन गर्नेछ । तीमध्ये ३३ वटा खेल स्थल राजधानी रियोमै रहेका छन् भने पाँचवटा खेलस्थल अन्य सहर साओ पाउलो, बेलो होरिजोन्टे, साल्भाडोर, ब्राजिलिया र मानउसमा रहेका छन् ।

रियो ओलम्पिक अन्तर्राष्ट्रिय ओलम्पिक कमिटी (आईओसी) का वर्तमान अध्यक्ष थोमस ब्याचको कार्यकालमा हुन लागेको पहिलो गृष्मकालीन ओलम्पिक हो । रियो सहर पनि गृष्मकालीन ओलम्पिक आयोजना गर्ने पहिलो दक्षिण अमेरिकी सहर बनेको छ ।

पोर्चुगिज भाषा बोलिने देशमा आयोजना भएको ओलम्पिक खेलकुद पनि यो नै पहिलो हो । रियो ओलम्पिकमा आफ्नो देशको प्रतिनिधित्व गर्ने बाहेक शरणार्थी खेलाडीले पनि प्रतिस्पर्धा गर्दैछन् । आईओसीले शरणार्थी खेलाडीलाई रिफ्युजी ओलम्पिक एथलेट्स (आरओए) मार्फत सहभागिताको अवसर मिलाएको छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.