संगत गुनाको फल

संगत गुनाको फल

सम्पदा र स्नेहा स्कुलबाट घर फर्किंदै थिए । सम्पदाले रुन्चे स्वरमा भनिन्, 'आज पनि कक्षामा सजाय भोग्नुपर्‌यो । भगवान्‌ले मलाई पनि तिम्रोजस्तै बुद्धि दिएको भए हुन्थ्यो नि मलाई । राम्रो बुद्धि दिएको भए भगवान्को के खेर जान्थ्यो र ? '

'लाटी भगवान्को आशीष हामी सबैमा बराबर हुन्छ । कुरा यतिमात्र हो भगवान्ले पनि मेहनतीलाई मात्र हेर्छन् । कमजोर र अल्छीहरूले भगवान्लाई दोष दिएर पन्छिन खोज्छन्' स्नेहाले सम्झाइन् ।

'त्यो त भन्ने कुरामात्र हो । तिमीलाई सबैले जितकुमारी भनेर त्यत्तिकै भनेको हो र ! जे मा पनि सबैलाई जितिदिन्छौ । त्यो भगवान्को कृपा हो ।

मेहनत गर्नेलाई नै भगवान्को कृपा बर्सिन्छ बुझ्यौ ? तिमी पनि मेहनत गर भई नै हाल्छ नि !' यस्तै कुरा गर्दै उनीहरू एकअर्काबाट छुट्टिए ।

केही समयपछि एक दिन स्नेहा कक्षामा झोक्रिएर बसिरहेकी थिइन् । कक्षामा नेपाली सर आउनुभयो । सबैजना उठे उनी उठिनन् । सँगै बसेकी सम्पदाले चिमोटेपछि झसंग भएर उठिन् । सरले हाजिर गर्न थाल्नुभयो, रोल नं. १, रोल नं. १ आज स्नेहा आएकी छैनन् ?

सरको प्रश्न सुनेर स्नेहा झसंग भइन् । जुरुक्क उठिन् र भनिन्, 'सरी सर !' केही विद्यार्थी गललल हाँसे । लाज र संकोचले स्नेहाको अनुहार रातो भयो । 'स्टप ! हाँसो बन्द गर' सरले हप्काउनुभयो ।

हाजिरी सकिएपछि सरले सोध्नुभयो, 'होइन आज तिमीलाई के भयो ? के सोचमा डुबेकी छ्यौ ? ' 'सर र मिसहरू जितकुमारीलाई सधैं फूलजस्तै हाँसिरहने भन्नुहुन्थ्यो । आज त ओइलाइछन् भाइ !' पढाइमा सँगै प्रतिस्पर्धा गर्ने रोहनले व्यंग्य गर्दै भने ।

सरले भन्नुभयो,' हो, जितु फूलजस्तै छिन् । सधैं हासिरहन्छिन् । आज एक्कासि ...।'

 

स्नेहाले रुन्चे स्वरमा भनिन्, 'बुबाले एकजना साहूको पसलमा काम गर्नुहुन्थ्यो । त्यो साहू पसल नै बेचेर कतार जानुभएछ । त्यसैले बाबुको आम्दानी छैन । आमा बिरामी भएर थला पर्नु भएको धेरै दिन भइसक्यो । औषधि खाएन भने खतरा हुन्छ । अब के गर्ने भनेर सोचेकी हुँ त्यसैले ।'

'तिम्रो ठूलाबाको सहरमा ठूलो पसल छ भन्ने सुनेको थिएँ । होइन र ? ' सरको प्रश्नमा उनले यस्तो जवाफ दिइन्,'
'हो सर, हजुरआमा बित्नु भएपछि ठूलाबाले हामीलाई भिन्दै गरिदिनुभयो । हामी अलग्गै बसेका छौं ।' स्नेहाको कुरा सुनेर सबै मौन भए ।

सम्पदाले खुसी हुँदै भनिन्, 'राम्रै भयो । बुबा, आमालाई लिएर तिमीहरू सबैजना हाम्रै घरमा आउन भइहाल्छ नि ! माहिला दाइ आफ्नो घर धादिङबाट नआएपछि फूलबारी, तरकारीबारी अलपत्र नै छ । हामीले काम गर्ने मान्छे पाएका छैनौं ।'
सम्पदाको कुरा सुनेर सबैजना वाल्ल परे ।

सम्पदाजस्ती पढ्नमा अल्छी केटीले स्नेहालाई आफ्नो घरमा काम गर्न बोलाएको सुनेर सबैलाई नमज्जा लाग्यो । सर पनि ट्वाल्ल पर्नुभयो ।

स्नेहाले खुसी हुँदै भनिन्, 'हुन्छ हामी आउँछौँ । मेरो बुबाआमा त साह्रै मेहनती पो हुनुहुन्छ ।' स्नेहाको कुरा सुनेर सबै हाँसे सर पनि खुसी हुनुभयो ।

भोलिपल्ट झिसमिसे उज्यालोमा ट्रकभरि सामान हालेर स्नेहाका परिवार कोटेश्वरको डेरा छोडी सम्पदाको घर एकान्तकुनामा पुगे । सम्पदाको बुबा सेनाको उच्च पदमा थिए । उनी कुकुर लिएर पैदल घुम्न निस्किन लागेका थिए ।

स्नेहा र उनका बाबुआमाले उहाँलाई नमस्कार गरे । उनले अचम्म मान्दै भने जितकुमारीको प्रशंसा त सधैंजसो सुन्छु तर एकाबिहानै ट्रकभरि सामान लिएर के हो यो ?

मेजर भीष्मको कुरा सुनेर सबै छक्कै परे । स्नेहाले भनिन्, 'सम्पदाले हजुरलाई केही भनेकी छैनन् ? उनले नै हाम्रो घरमा बस्न आउनु भनेर फोन गरेकी थिइन् ।'

भीष्मले हाँस्दै भने, 'ओ आई सी बल्ल बुझेँ । तिमीले घरको सम्पूर्ण कुरा निर्णय गछ्र्यौ भनेर सुनेको थिएँ । सम्पदाले पनि त्यही देखासिकी गरिछन् । पढाइमा पनि तिम्रो देखासिखी गरे त हुने थियो नि ! खैर राम्रै भयो । सँगै बस्यौ भने अवश्य राम्रा कुराहरू सिक्लिन् ।

हाम्रो घर पछाडि बारीमा सानो घर छ । अहिले त्यसैमा सामान राख्नू ।' भनेर खुसी हुँदै हिँडे ।

मेहनतीले कहीँ दुःख पाउनु पर्दैन भन्छन् । स्नेहाको परिवारलाई पनि मेजरको घरमा पटक्कै दुःख भएन । घर पछाडि प्रशस्तै जग्गा थियो । त्यसमा तरकारी, च्याउखेती, विकासे जातका बाख्रा पाले । उनीहरूले मेजरका परिवारलाई रिझाए र प्रशस्त आम्दानी पनि गरे ।

उता स्नेहासँगको संगतले गर्दा सम्पदाको पढाइ राम्रो हुँदै गयो । उनको आनीबानी पनि सुध्रिँदै गयो । उनले घरको काममा सघाउन थालिन् । बिग्रिन लागेका सन्तान सप्रेको देखेर मेजर मेजर्नी पनि खुसी भए ।

एक दिन स्नेहा स्कुलबाट फर्किंदा मेजरसँग एक जना मानिसले कुरा गरिरहेको देखिन् । त्यो मानिसले मैलो र पुरानो कपडा लगाइरहेका थिए । दाह्री पनि झुम्म परेको थियो । उनलाई त्यो मानिस चिनेजस्तो लाग्यो । उनले कोठाबाहिर ढोकैमा बसेर कुरा सुन्न थालिन् ।

मेजर भन्दै थिए, 'तपाईंका भाइ, बुहारी र सानी छोरीसमेत साह्रै मेहनती छन् । अनि तपाईं मेहनत गर्न सक्नुहुन्न ?
उनीहरूको मेहनत देखेर मेरो बिग्रिएका छोराछोरीसमेत अहिले राम्रा भएका छन् । संगत गुनाको फल भन्थे अहिले आफैंले भोगेर थाहा पाएँ बुझ्नुभयो ? '

लाटोलाटो भाइ र भाइको एकमात्र छोरीको बारेमा मेजरले भनेको कुरा सुनेर त्यो मानिसको आँखाभरि आँसु छचल्कियो । उसले सानो स्वरमा भन्यो, 'पाप धुरीबाट कराउँछ भन्थे कराइहाल्यो नि । मैले भाइलाई अन्याय गरेँ ।

फेन्सी सामानको ठूलो पसल खोलेँ । पैसा कमाएर के गर्नु छोरा कुलतमा लाग्यो । छोरीको पनि त्यही चाल भयो । भाइकी छोरीले त भन्थी 'ठूलो बा सबैको बिमा गर्नुपर्छ । हाम्रो स्कुलका सरले भन्नुभएको अहिले सबैको बिमा गर्नुपर्छ रे ।तपाईंले पनि यो पसलको बिमा गर्नुहोस् । पसलमा केही नोक्सानी भयो भने पैसा पाइन्छ रे । मैले उसलाई दुईचार अक्षर पढेर मभन्दा जान्नी हुने भनेर गाली गरेँ । नभन्दै पसलको बत्ती सट भएर आगो लाग्यो । हामी घरको न घाटको भयौं । अर्ती भन्ने कुरा सानाको पनि मान्नुपर्ने रहेछ । बुद्धि पुगेन ।'

त्यो मानिसको कुरा सुनेर स्नेहाले आफूलाई रोक्न सकिनन् । उनले 'ठूलो बा !' भन्दै त्यो मानिसलाई अँगालो हालिन् ।
मेजरले सबै दृश्य छक्क परेर हेरिरहे । आफू र आफ्नो परिवारलाई दुःख दिने ठूलो बुबालाई पनि स्नेहाले त्यसरी माया गरेको देखेर उनको पनि आँखा रसायो ।

स्नेहाको ठूलो बाले आँखाबाट झरेको आँसुलाई पुछ्दै भने, 'मेजर साहेब हजुरकहाँ आएर मैले मेरो हराएको संसार भेट्टाएँ । छोरीले भनेझैं अब बचेखुचेको जे छ त्यसको बिमा गराउँछु ।'

मेजर मनमनै 'बल्ल तिम्रो घैंटोमा घाम लागेछ' भने । मुखले चाहिँ ठीक सोच्नुभयो मैले पनि घरको र कुकुरको पनि बिमा गरेको छु भने ।

स्नेहाले ठूलो बुबालाई आफ्ना बाबुआमासँग भेट गराउन घर पछाडिको सानो घरमा लगिन् । सबै एकअर्कालाई देखेर खुसी भए । पाँच वर्षको अन्तरालमा उनीहरूको भेट भएको थियो ।

त्यतिखेरसम्म स्नेहाका परिवारले कमाएको पैसाले मेजरले लुभुमा तीन आनाको जग्गा किनिदिएका थिए भाइले प्रगति गरेको सुन्दा दाइलाई कुनै ईष्र्या लागेन । बरु हर्षको आँसु झर्‌यो । धेरैबेर दुःखसुखका कुरा गरे ।

स्नेहाले ठूलो बुबालाई मनपर्ने आलुको अचार र चिउरा खाजा बनाइदिइन् । सबैले मीठो मानेर खाए । स्नेहाकी आमाले गाईको पनि बिमा गरेको छ भन्दा उनी झनै छक्क परे । जान्नेलाई बाँच्न गाह्रो रहेनछ भन्ने कुरा उनले राम्रोसँग बुझे ।
सबैसँग बिदा भएर ठूलो बा बाटो लागे । सबैले उनी गएतिर हेरिरहे ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.