सेयर बजारमा किन भयो यति धेरै उतारचढाव ?

सेयर बजारमा किन भयो यति धेरै उतारचढाव ?

काठमाडौं: नेप्सेले १५ सय अंक पारे गरेपछि लगानीकर्ताको एउटा ठूलो समूहले सेयर बिक्री गर्‌यो । बिक्री गरेकोको समूहले बजार घटाउन विभिन्न चलखेल थाल्यो ।

सरकार, राजनीतिक दलका नेता तथा नियामक निकायलाई समेत दबाब दिने काम भयो । बजार घटेन भने साना लगानीकर्ता चुर्लुम्मै डुब्छन् भन्ने हल्ला फैलाउन अनि सरोकारवाला निकायका उच्चपदस्थ अधिकारीलाई तत्काल कदम चाल्ने दबाब दिन त्यो समूह निकै हदसम्म सफल भयो ।

बजारमा साना लगानीकर्ता डुब्दैछन् भन्ने आवाज बुलन्द भएपछि नियामक नेपाल धितोपत्र बोर्डका उच्चनेतृत्व पनि झस्कियो । अनि, बोर्डले विज्ञप्ति निकाल्नेलगायतका काम गर्न थाल्यो । यतिले पनि बजार तल नआउने देखेपछि बोर्डले कालोधन छानबिनको अस्त्र फाल्यो ।

समिति नै गठन गरेपछि ठूला लगानीकर्ता पनि साँच्चिकै डराए । यही बेला सेयर बजारमा समेत राम्रै पडक मानिएका मारवाडी समुदायका एक व्यापारीलाई लागू औषधी कारोबारको आरोपमा पक्रिने काम भयो । अनि, बजार बेस्सरी बिच्कियो ।

नाफा बुक गरिसकेका अन्य ठूला लगानीकर्ताले पनि यही मौकामा बजारमा सेलिङ प्रेसर बढाए । यो काममा केही ब्रोकरले पनि साँच्चिकै साथ दिए । अनि, बजारमा सबैथरीका लगानीकर्ताको आत्मबल गुम्ने अवस्थामा आइपुग्यो ।

यसपटकको ठूला खेलाडीले गरेको चलखेलमा दोष चाहिँ धितोपत्र बोर्डले पायो । सामाजिक सञ्जालमा बोर्डको विज्ञप्ति र छानबिन समितिलाई आधार मानेर गालीगलौज गरियो । केहीले माओवादी सरकारप्रति लगानीकर्ताको विश्वास गुमेको तर्क पनि अघि सारे ।

बजार एक सातामै दुई सय अंकभन्दा बढीले घटेपछि धितोपत्र बोर्ड पनि आफ्नो अडानमा उभिन सकेन । सामाजिक सञ्जालमा गरिएको गाली अनि एकथरी लगानीकर्ताको दबाब बजार साँच्चिकै पेनिक हुने डर भयो । लगानीकर्ताले धर्ना दिन थाले । अर्थमन्त्रीसम्म कुरा पुर्‌याएर बोर्ड अध्यक्षलाई तत्काल पूर्ण निर्णय र अडान परिवर्तन गर्न दबाब दिइयो ।

फलस्वरुपः सोमबार धितोपत्र बोर्डले कालोधन छानबिन समिति खारेज गरिएको विज्ञप्ति जारी गर्‌यो । वास्तवमा ठूला लगानीकर्ता अनि केहीहदसम्म ब्रोकरले खोजेको मसला यही थियो । यसबीचमा कतिपय ठूला लगानीकर्ताले सानालाई पेनिक बनाएर सेयर किन्न भ्याइसकेका थिए ।

यही बेला छानबिन समिति भंग भएको समाचारलाई क्यास गरेर मंगलबार बजारमा सर्किट ब्रेकर लाग्ने गरी बजार बढाउन ठूला खेलाडी सफल भए ।

बजार बढाउने र घटाउने दुवैथरी खेलाडीले जहिले पनि साना लगानीकर्तालाई दुहाई दिने गरेका छन् । तर, यसबीचमा सबैभन्दा बढी मारमा साना र नयाँ लगानीकर्ता नै परे । महँगोमा सेयर किनेका साना लगानीकर्ता बजार घट्दा सबैभन्दा पहिला बिक्री गर्न पुगे । जसको सेयर कौडीको भाउमा ठूलाले कुम्ल्याए ।

बजार मंगलबार सर्किट ब्रेकर लागेर बढे पनि लगानीकर्ता हौसिहाल्ने अवस्था छैन । नेप्से माथिल्लो बिन्दुमै छ । बजारको चाल राम्रोसँग अध्ययन गरेर आकर्षक नाफा भएका, व्यवस्थापन चुस्त रहेको कम्पनीका सेयर किन्नुपर्ने बजार विज्ञको सुझाव छ । त्यसो त विगतमा जस्तो बजार घट्दा पनि नेप्से निकै तल्लो बिन्दुमा आउने सम्भावना पनि नरहेको विश्लेषक बताउँछन् ।

 

बजारका पुराना खेलाडी सेयर बजार पनि एक किसिमको राजनीति नै हो भन्छन् । राजनीति गर्नेले जहिले पनि जनताको दुहाई दिएजस्तै सेयर बजारमा पनि साना लगानीकर्ताको नाममा टाठाबाठाले कमाउने गर्छन् अनि मारमा सधैं साना लगानीकर्ता नै पर्छन्, उनीहरूको भनाइ छ । साना लगानीकर्ता सचेत नभएमा भविष्यमा पनि यस्ता खेल र प्रवृत्ति दोहोरिरहने उनीहरूको भनाइ छ ।

ब्रोकर्स एसोसिएसनका पूर्वअध्यक्ष नन्दकिशोर मुन्दडा सेयर बजारमा लगानीकर्ताको मनोविज्ञानले अत्यन्तै ठूलो भूमिका निर्वाह गर्ने बताउँछन् । ‘कालोधन छानबिनले लगानीकर्ता तर्सिए । फेरि, धितोपत्र बोर्डले डराउनुपर्दैन भनेपछि लगानीकर्ताको आत्मबल एकाएक बढ्यो, बजार उतारचढाव हुनुको मुख्य कारण यही हो', उनले भने । एक सातायताको उतारचढाव अब विस्तारै सामान्य अवस्थामा फर्किने उनको भनाइ छ ।

फेरि सर्किट ब्रेक

सेयर बजारमा सर्किट ब्रेकरको खेल सुरू भएको छ । सोमबार पाँच प्रतिशतले बजार घटेर सर्किट ब्रेकर लागेको थियो । मंगलबार फेरि पाँच प्रतिशतले नै बढेर बजारमा अर्को सर्किट ब्रेकर लाग्यो अनि बजार दिनभरका लागि बन्द भयो ।
मंगलबार करिब सवा १२ बजेसम्ममात्र बजार चल्यो ।

११ बजेदेखि खुलेको बजार तीन पटकसम्म सर्किट ब्रेकर लाग्दा २७ मिनेटमात्र काम भयो । अस्वभाविक उतारचढाव हुन नदिन समग्र बजार पाँच प्रतिशतले तलमाथि गर्ने बित्तिकै त्यस दिनका लागि सम्पूर्ण कारोबार नै बन्द गरिन्छ । यसलाई सर्किट ब्रेकर भन्ने गरिएको हो ।

बजार खुलेको एक घन्टाभित्र तीन प्रतिशतले नेप्से बढेमा १५ मिनेट कारोबर स्थगित हुन्छ । त्यसपछि फेरि बजार खुल्छ । फेरि बजार बढेर दुई घन्टाभित्रै चार प्रतिशत पुग्यो भने थप आधा घन्टाका लागि कारोबार रोकिन्छ । त्यसपछि खुलेको बजार पाँच प्रतिशतसम्म बढ्यो भने दिनभरकै कारोबार रोक्का हुन्छ । मंगलबार यही भएको हो ।

मंगलबार १२ बजेर ११ मिनेट जाँदा पाँच प्रतिशतले बजार बढेपछि पूरै दिनको कारोबार रोकिएको हो । पछिल्लो समय सेयर बजारमा अनगिन्ती हल्ला चले । त्यसलाई बजारका कतिपय ठूला खेलाडीले कमाउने अवसरका रूपमा प्रयोग गर्दा बजारमा अस्वभाविक उतारचढाव देखिएको हो ।

बजार कहिले तलबाट सर्किट ब्रेकर हान्ने अनि कहिले माथितिरबाट ब्रेकर लाग्नुको कारण यही हो । यस दिन नेप्से ८४.५१ अंकले बढेर १७६०.४२ विन्दुमा आइपुगेको छ । २९ करोड ८३ लाख ३२ हजार सात सय ८५ रूपैयाँको सेयर कारोबार भयो ।

बढाउने पक्षमा राष्ट्रबैंक

राष्ट्र बैंक सेयर बजार नबिग्रियोस भन्ने पक्षमा नेपाल राष्ट्र बैंकले पनि सेयर बजारको पछिल्लो उतारचढावप्रति सूक्ष्मरूपमा अध्ययन गरिरहेको बताएको छ । सेयर बजारको नियमन राष्ट्र बैंकले नगर्ने भए पनि अहिले बजार बिग्रिँदा राष्ट्र बैंकको चुक्ता पुँजी वृद्धिको नीतिमा असर पुग्ने डर छ ।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई चुक्ता पुँजी बढाउन निर्देशन दिएको छ । अब वाणिज्य बैंकहरूले चुक्ता पुँजी न्यूनतम आठ अर्ब पुर्‌याउनुपर्छ । सेयर बजार ह्वात्तै घट्यो भने चुक्ता पुँजी योजनामा असर पर्न सक्ने चिन्ता राष्ट्र बैंकलाई छ ।

अहिलेको अवस्थामा सेयर बजार बिग्रिनु हुँदैन भन्ने हाम्रो बुझाइ हो, गभर्नरसम्बद्ध स्रोतले अन्नपूर्णलाई भन्यो । ‘बजारलाई आफ्नै गतिमा चल्न दिँदा राम्रो हुन्छ । बैंकको चुक्ता पुँजी वृद्धि योजना अब कसैले चाहेर रोकिनेवाला छैन,' स्रोतले मंगलबार भन्यो ।

त्यसो त सेयर बजारसहित मुलुकको समग्र अर्थतन्त्रका बारेमा जानकारी लिन मंगलबार अर्थमन्त्री कृष्णबहादुर महराले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपाल, धितोपत्र बोर्डका अध्यक्ष डा. रेवतबहादुर कार्कीलगायतका अधिकारीलाई मन्त्रालयमा बोलाएर जानकारी लिएका थिए ।

भेटमा गभर्नर डा. नेपालले अहिलेको समग्र अर्थतन्त्रका बारेमा अर्थमन्त्रीलाई जानकारी गराएका थिए । बोर्डका अध्यक्षले पनि सेयर बजारको अवस्थाका बारेमा बताएका थिए ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.