लाल्टिन कृष्णदेखि सभासद् हुँदै बंगुर किसान
पोखराः लाहुरेहरू गाउँ आउँदा फुर्ती लडाउँथे । कतिसम्म भन्थे भने ‘दिल्लीमा त एमए पढेकाले जुत्ता पालिस गर्छ । पढेर कामै छैन ।' हुन पनि बीएड गरेर शिक्षक बनेका उनीसँग भन्दा तिनै लाहुरेसँग पैसा छेलोखेलो हुन्थ्यो ।
गाउँलेले पनि लाहुरेहरूकै इज्जत गर्थे, मानमनितो निकै हुन्थ्यो । बा लाहुरे थिए । दाइ लाहुरे थिए । बा आफूलाई सा'बको अर्दली हुँ भन्थे । उनलाई थाहा थिएन अर्दली भनेको के हो ? ठान्थे ठूलै पोस्ट होला । बा आत्मविश्वाससाथ भन्थे, ‘साबको अर्दली हुँ, तँलाई त भर्ती गराइहाल्छु ।' एकजना दाइ भने रूपाकोट गाउँ पञ्चायतका प्रधानपञ्च थिए । पछि उनलाई थाहा पनि भयो, अर्दलीले त सा'बको जुत्ता पालिस पनि गर्नुपर्ने हुँदोरहेछ । उनलाई लाहुरेको भन्दा गाउँमै बस्ने दाइकै कामले आकर्षित गर्यो ।
‘लाहुरे भयो भने सा'बको जुत्ता पुछ्नुपर्ने गाउँमै बस्यो भने गाउँलेको आँसु पुछ्ने काम गर्न पाइने,' उनी सुनाउँछन् । हुन पनि त्यसपछि उनी जनताको आँसु पुछ्ने सेवामूलक कर्म गर्ने अठोट लिएर शिक्षण पेसासमेत छाडी राजनीतिमा होमिए ।
गोरखामा हुँदाखाँदाको शिक्षण पेसा छाडेर रूपाकोट कास्कीका कृष्णबहादुर गुरुङ जसै पञ्चायतभित्रकै चुनावी प्रतिस्पर्धामा होमिए उनमा झन्झन् स्वदेश बस्नुको रस बस्दै गयो । राष्ट्रिय पञ्चायतसम्मकै चुनावमा पनि उनी उत्रिए । चुनाव चिह्न थियो लाल्टिन । परिचय नै भयो ‘लाल्टिन कृष्ण' । चुनाव त उनले जितेनन् तर जनताका मनमा उनी यसरी गडे कि अहिले पनि उनलाई ठ्याक्कै चिनाउन त्यही चुनाव चिह्नकै सहारा लिनुपर्ने हुन्छ ।
उनी पनि आफ्नो परिचयको प्रकाश फिँजाउन नहिचकिचाईकन त्यही लाल्टिनको प्रसंग उप्काउँछन् । जब कि खासमा उनले राजनीतिमा त्यति बेला हारेर त्यसको दुई दशकपछि ऐतिहासिक विजय प्राप्त गरिसकेका छन् । पहिलो संविधानसभाको उपचुनावमा कास्की-१ बाट उनी सभासद् बन्न सफल भए । संविधान भने त्यो संविधानसभाले लेखेन । कृष्णको राजनीतिक जिन्दगीमा भने एउटा इतिहास लेखियो र अहिले पूर्वसभासद्को परिचय थपिएको छ ।
मुलुककै सबैभन्दा ठूलो पार्टी बन्न सफल तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका कृष्णले कार्यकाल पूरा भएपछि भने राजनीतिलाई निरन्तरता दिएनन् । अहिले उनको बेग्लै परिचय छ, किसानको । हो, अहिले कृष्णको पूरापूर कर्म भनेको किसानी नै हो ।
आफू आर्थिक रूपमा सबल भएर मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने उनको मान्यता थियो । ‘यो कुरा पार्टीमा पनि राखें', उनी भन्छन्, ‘त्यहाँ त्यति सुनुवाइ भएन, तर आफूले त केही गर्न पर्छ भन्ने लाग्यो ।' अरूलाई चाहिँ भन्ने आफूले केही नगर्ने प्रवृत्ति पचाउने क्षमता कमजोर रहेका कृष्णले अर्थाेपार्जनका लागि इलम गर्ने प्रणै गरे ।
त्यसै पनि सानै स्केलको तरकारी खेती र बंगुरपालन छँदै थियो । राजनीतिक आस्था बाँकी राखेर त्यतापट्टि समय दिन चटक्कै छाडेर अचेल उनी पोखरा-१८ को यती लाइभस्टक प्रालि फर्ममा व्यस्त हुन्छन् । यो कास्कीकै दोस्रो ठूलो बंगुर फर्म पनि हो, जहाँ पाँच सय बंगुर छन् । यति बृहत् तबरले व्यावसायिक बंगुर पाल्नु कम्ती कठिन छैन तर कृष्णबहादुरलाई मन लाग्ने भनेकै कठिनाइसँग जुध्न हो । भन्छन्, ‘सजिलो काम त अरू थुपै्र काम छन्, व्यापार व्यवसाय । राजनीति पनि काम नगरी कुराले मात्रै हुने भइगयो । तर मलाई त्यस्तो निको लाग्दैन ।'
आखिर जीवन धान्न कुनै न कुनै पेसा गर्नु नै पर्छ । मुलुकमा गणतन्त्र आइसकेपछि अब आर्थिक उन्नतिको बाटो खन्नुपर्छ भनेर धेरै नेताले भने, उनकै पार्टीका नेताले पनि भनेकै थिए तर झिँगो कसैले मारेन । कृष्णले मुलुकलाई आर्थिक उन्नतितिर लैजाने हो भने कृषिमै केही गर्नुपर्ने देखे । ‘कि कमिसनको खेलतिर लाग्नुपर्यो, कि जीवन धान्न केही गर्नुपर्यो', उनी बोले, ‘कमिसनतिर लाग्नु हुन्न भन्ने मान्यता भएकैले कृषिमा लागें ।'
यती फर्म २० रोपनीमा फैलिएको छ । सात रोपनी कृष्णकै निजी हो । बाँकी भाडामा लिएका हुन् । झन्डै ४० लाख रुपैयाँका बंगुर छन् । पाँच ठाउँमा फरकफरक उमेरका बंगुरका लागि छुट्टाछुट्टै गोठ छन् ।
पोखरा चिप्लेढुंगामा उनकी जीवनसाथी मीनाकुमारी यती फ्रेस हाउस चलाउँथिन् । बंगुरको मासु खोज्ने पनि आउँथे । कृष्णले भेउ पाए— बंगुर मासुको पनि माग राम्रै छ । फ्रेस हाउसबाटै निस्कने खेर जाने मासु खुवाएर पनि बंगुरलाई हुन्छ भन्ने लाग्यो । सुरुसुरुमा त्यसै गरेर केही बंगुर पाले । पालिहाले पनि त्यसरी हुन्न भन्ने आइडिया पनि आयो । अहिले आफैं दाना उत्पादन गर्छन् र उच्चगुणस्तरीय आहारा खुवाउँछन् । बंगुर फर्म व्यवस्थित छ । उनलाई थाहा छ शुद्ध दाना खुवाएर बंगुर पाल्ने किसान १० प्रतिशत पनि छैनन् ।
तर राजनीति फोहोरी खेल भयो भन्ने मान्छेले गर्ने कुनै कर्ममा पनि फोहोरी काम गर्नुहुन्न भन्ने ठाने । ‘त्यसैले शुद्ध दाना खुवाएर स्वस्थ बंगुर उत्पादन गर्छु', उनी सगर्व सुनाउँछन् । यसै पनि हेलचक्र्याइँ गर्दा बंगुरबाट मानिसलाई ज्यान लिने रोगव्याधि लाग्न सक्छ भन्ने हेक्का उनलाई छ । मासु पनि डिपफ्रिजमा चिस्याएर मात्रै बेच्छन् । काट्नका लागि स्तरीय वधशाला पनि फर्मभित्रै छ । त्यसका लागि विश्व बैंकअन्तर्गतको सहुलियतपूर्ण ऋण सहयोग पाएका छन् । वधशालामा मात्रै जग्गासहित एक करोड रुपैयाँ लगानी भएको छ ।
मुलुकमा गणतन्त्र आइसकेपछि अब आर्थिक उन्नतिको बाटो खन्नुपर्छ भनेर धेरै नेताले भने, उनकै पार्टीका नेताले पनि भनेकै थिए तर झिँगो कसैले मारेन । कृष्णले मुलुकलाई आर्थिक उन्नतितिर लैजाने हो भने कृषिमै केही गर्नुपर्ने देखे ।
फर्मबाट मासुका लागि बंगुर बिक्री हुनुका साथै उन्नत नश्लका पाठापाठी उत्तिकै बिक्छन् । पाँच हप्तामा पाठापाठी बिक्रीका लागि तयार हुन्छ । कृष्ण भन्छन्, ‘झापादेखि धनगढीसम्म पुग्छन् हाम्रा पाठापाठी ।' एउटा बंगुर वर्षमा दुईपटक ब्याउँछ । एक बेतमा १२ वटासम्म पाठापाठी पाउँछ । पाँच हप्ताको पाठोपाठी चार हजारदेखि ४५ सय रुपैयाँमा बिक्छ ।
छोरा अनुप पनि कृष्णलाई सघाउँछन् । वर्षको १२/१५ लाख रुपैयाँ मुनाफा फर्मले दिइरहेको छ । त्यसैले विदेश नगई छोरा यतै टिके हुन्थ्यो भन्ने लाग्छ कृष्णलाई । अनुपले लक्षण बाबुको चाहनाअनुसारकै देखाएका छन् । परिवारकै सपोर्ट लिएर कृष्ण बंगुर मासुको कारखानै खोल्ने योजनामा छन् । बंगुरको मासु मानव स्वास्थ्यका लागि उपयुक्त हुने हुँदा यसको महत्व नेपाली समाजले बुझ्दै गएको उनको अनुभव छ । भन्छन्, ‘स्वस्थ मासु उत्पादन गर्यो भने मार्केट छ ।'