लाल्टिन कृष्णदेखि सभासद् हुँदै बंगुर किसान

लाल्टिन कृष्णदेखि सभासद् हुँदै बंगुर किसान

पोखराः लाहुरेहरू गाउँ आउँदा फुर्ती लडाउँथे । कतिसम्म भन्थे भने ‘दिल्लीमा त एमए पढेकाले जुत्ता पालिस गर्छ । पढेर कामै छैन ।' हुन पनि बीएड गरेर शिक्षक बनेका उनीसँग भन्दा तिनै लाहुरेसँग पैसा छेलोखेलो हुन्थ्यो ।

गाउँलेले पनि लाहुरेहरूकै इज्जत गर्थे, मानमनितो निकै हुन्थ्यो । बा लाहुरे थिए । दाइ लाहुरे थिए । बा आफूलाई सा'बको अर्दली हुँ भन्थे । उनलाई थाहा थिएन अर्दली भनेको के हो ? ठान्थे ठूलै पोस्ट होला । बा आत्मविश्वाससाथ भन्थे, ‘साबको अर्दली हुँ, तँलाई त भर्ती गराइहाल्छु ।' एकजना दाइ भने रूपाकोट गाउँ पञ्चायतका प्रधानपञ्च थिए । पछि उनलाई थाहा पनि भयो, अर्दलीले त सा'बको जुत्ता पालिस पनि गर्नुपर्ने हुँदोरहेछ । उनलाई लाहुरेको भन्दा गाउँमै बस्ने दाइकै कामले आकर्षित गर्‍यो ।

‘लाहुरे भयो भने सा'बको जुत्ता पुछ्नुपर्ने गाउँमै बस्यो भने गाउँलेको आँसु पुछ्ने काम गर्न पाइने,' उनी सुनाउँछन् । हुन पनि त्यसपछि उनी जनताको आँसु पुछ्ने सेवामूलक कर्म गर्ने अठोट लिएर शिक्षण पेसासमेत छाडी राजनीतिमा होमिए ।

गोरखामा हुँदाखाँदाको शिक्षण पेसा छाडेर रूपाकोट कास्कीका कृष्णबहादुर गुरुङ जसै पञ्चायतभित्रकै चुनावी प्रतिस्पर्धामा होमिए उनमा झन्झन् स्वदेश बस्नुको रस बस्दै गयो । राष्ट्रिय पञ्चायतसम्मकै चुनावमा पनि उनी उत्रिए । चुनाव चिह्न थियो लाल्टिन । परिचय नै भयो ‘लाल्टिन कृष्ण' । चुनाव त उनले जितेनन् तर जनताका मनमा उनी यसरी गडे कि अहिले पनि उनलाई ठ्याक्कै चिनाउन त्यही चुनाव चिह्नकै सहारा लिनुपर्ने हुन्छ ।

उनी पनि आफ्नो परिचयको प्रकाश फिँजाउन नहिचकिचाईकन त्यही लाल्टिनको प्रसंग उप्काउँछन् । जब कि खासमा उनले राजनीतिमा त्यति बेला हारेर त्यसको दुई दशकपछि ऐतिहासिक विजय प्राप्त गरिसकेका छन् । पहिलो संविधानसभाको उपचुनावमा कास्की-१ बाट उनी सभासद् बन्न सफल भए । संविधान भने त्यो संविधानसभाले लेखेन । कृष्णको राजनीतिक जिन्दगीमा भने एउटा इतिहास लेखियो र अहिले पूर्वसभासद्को परिचय थपिएको छ ।

मुलुककै सबैभन्दा ठूलो पार्टी बन्न सफल तत्कालीन नेकपा माओवादीबाट सभासद् भएका कृष्णले कार्यकाल पूरा भएपछि भने राजनीतिलाई निरन्तरता दिएनन् । अहिले उनको बेग्लै परिचय छ, किसानको । हो, अहिले कृष्णको पूरापूर कर्म भनेको किसानी नै हो ।

आफू आर्थिक रूपमा सबल भएर मात्रै राजनीतिमा लाग्नुपर्छ भन्ने उनको मान्यता थियो । ‘यो कुरा पार्टीमा पनि राखें', उनी भन्छन्, ‘त्यहाँ त्यति सुनुवाइ भएन, तर आफूले त केही गर्न पर्छ भन्ने लाग्यो ।' अरूलाई चाहिँ भन्ने आफूले केही नगर्ने प्रवृत्ति पचाउने क्षमता कमजोर रहेका कृष्णले अर्थाेपार्जनका लागि इलम गर्ने प्रणै गरे ।

त्यसै पनि सानै स्केलको तरकारी खेती र बंगुरपालन छँदै थियो । राजनीतिक आस्था बाँकी राखेर त्यतापट्टि समय दिन चटक्कै छाडेर अचेल उनी पोखरा-१८ को यती लाइभस्टक प्रालि फर्ममा व्यस्त हुन्छन् । यो कास्कीकै दोस्रो ठूलो बंगुर फर्म पनि हो, जहाँ पाँच सय बंगुर छन् । यति बृहत् तबरले व्यावसायिक बंगुर पाल्नु कम्ती कठिन छैन तर कृष्णबहादुरलाई मन लाग्ने भनेकै कठिनाइसँग जुध्न हो । भन्छन्, ‘सजिलो काम त अरू थुपै्र काम छन्, व्यापार व्यवसाय । राजनीति पनि काम नगरी कुराले मात्रै हुने भइगयो । तर मलाई त्यस्तो निको लाग्दैन ।'

आखिर जीवन धान्न कुनै न कुनै पेसा गर्नु नै पर्छ । मुलुकमा गणतन्त्र आइसकेपछि अब आर्थिक उन्नतिको बाटो खन्नुपर्छ भनेर धेरै नेताले भने, उनकै पार्टीका नेताले पनि भनेकै थिए तर झिँगो कसैले मारेन । कृष्णले मुलुकलाई आर्थिक उन्नतितिर लैजाने हो भने कृषिमै केही गर्नुपर्ने देखे । ‘कि कमिसनको खेलतिर लाग्नुपर्‍यो, कि जीवन धान्न केही गर्नुपर्‍यो', उनी बोले, ‘कमिसनतिर लाग्नु हुन्न भन्ने मान्यता भएकैले कृषिमा लागें ।'

यती फर्म २० रोपनीमा फैलिएको छ । सात रोपनी कृष्णकै निजी हो । बाँकी भाडामा लिएका हुन् । झन्डै ४० लाख रुपैयाँका बंगुर छन् । पाँच ठाउँमा फरकफरक उमेरका बंगुरका लागि छुट्टाछुट्टै गोठ छन् ।

पोखरा चिप्लेढुंगामा उनकी जीवनसाथी मीनाकुमारी यती फ्रेस हाउस चलाउँथिन् । बंगुरको मासु खोज्ने पनि आउँथे । कृष्णले भेउ पाए— बंगुर मासुको पनि माग राम्रै छ । फ्रेस हाउसबाटै निस्कने खेर जाने मासु खुवाएर पनि बंगुरलाई हुन्छ भन्ने लाग्यो । सुरुसुरुमा त्यसै गरेर केही बंगुर पाले । पालिहाले पनि त्यसरी हुन्न भन्ने आइडिया पनि आयो । अहिले आफैं दाना उत्पादन गर्छन् र उच्चगुणस्तरीय आहारा खुवाउँछन् । बंगुर फर्म व्यवस्थित छ । उनलाई थाहा छ शुद्ध दाना खुवाएर बंगुर पाल्ने किसान १० प्रतिशत पनि छैनन् ।

तर राजनीति फोहोरी खेल भयो भन्ने मान्छेले गर्ने कुनै कर्ममा पनि फोहोरी काम गर्नुहुन्न भन्ने ठाने । ‘त्यसैले शुद्ध दाना खुवाएर स्वस्थ बंगुर उत्पादन गर्छु', उनी सगर्व सुनाउँछन् । यसै पनि हेलचक्र्याइँ गर्दा बंगुरबाट मानिसलाई ज्यान लिने रोगव्याधि लाग्न सक्छ भन्ने हेक्का उनलाई छ । मासु पनि डिपफ्रिजमा चिस्याएर मात्रै बेच्छन् । काट्नका लागि स्तरीय वधशाला पनि फर्मभित्रै छ । त्यसका लागि विश्व बैंकअन्तर्गतको सहुलियतपूर्ण ऋण सहयोग पाएका छन् । वधशालामा मात्रै जग्गासहित एक करोड रुपैयाँ लगानी भएको छ ।

मुलुकमा गणतन्त्र आइसकेपछि अब आर्थिक उन्नतिको बाटो खन्नुपर्छ भनेर धेरै नेताले भने, उनकै पार्टीका नेताले पनि भनेकै थिए तर झिँगो कसैले मारेन । कृष्णले मुलुकलाई आर्थिक उन्नतितिर लैजाने हो भने कृषिमै केही गर्नुपर्ने देखे ।

फर्मबाट मासुका लागि बंगुर बिक्री हुनुका साथै उन्नत नश्लका पाठापाठी उत्तिकै बिक्छन् । पाँच हप्तामा पाठापाठी बिक्रीका लागि तयार हुन्छ । कृष्ण भन्छन्, ‘झापादेखि धनगढीसम्म पुग्छन् हाम्रा पाठापाठी ।' एउटा बंगुर वर्षमा दुईपटक ब्याउँछ । एक बेतमा १२ वटासम्म पाठापाठी पाउँछ । पाँच हप्ताको पाठोपाठी चार हजारदेखि ४५ सय रुपैयाँमा बिक्छ ।

छोरा अनुप पनि कृष्णलाई सघाउँछन् । वर्षको १२/१५ लाख रुपैयाँ मुनाफा फर्मले दिइरहेको छ । त्यसैले विदेश नगई छोरा यतै टिके हुन्थ्यो भन्ने लाग्छ कृष्णलाई । अनुपले लक्षण बाबुको चाहनाअनुसारकै देखाएका छन् । परिवारकै सपोर्ट लिएर कृष्ण बंगुर मासुको कारखानै खोल्ने योजनामा छन् । बंगुरको मासु मानव स्वास्थ्यका लागि उपयुक्त हुने हुँदा यसको महत्व नेपाली समाजले बुझ्दै गएको उनको अनुभव छ । भन्छन्, ‘स्वस्थ मासु उत्पादन गर्‍यो भने मार्केट छ ।'


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.