१५ हजार मेट्रिक टन खाद्यान्न अपुग
अछामः लामो खडेरीका कारण गहुँ उत्पादनमा कमी आएपछि यस वर्ष अछाममा करिब १५ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने देखिएको छ ।
मौजुदा जनसंख्यालाई पुग्ने गरी खाद्यान्न उत्पादन हुन नसकेपछि करिब १५ हजार मेट्रिक टन खाद्यान्न बाहिरी जिल्लाबाट आयात गरेर पूर्ति गर्नुपर्ने देखिएको हो ।
जिल्ला कृषि विकास कार्यालयका अनुसार जिल्लाको अनुमानित जनसंख्या दुई लाख ७५ हजार तीन सय २८ लाई वार्षिक रूपमा करिब ६० हजार मेट्रिक टन प्रशोधित खाद्यान्न आवश्यक पर्छ ।
गएको वर्ष लामो खडेरीका कारणले धानपछिको प्रमुख बाली गहुँको उत्पादन करिब ३० प्रतिशतले घटेपछि १५ हजार दुई सय ४१ मेट्रिक टन प्रशोधित खाद्यान्न अपुग हुने जानकारी वरिष्ठ कृषि विकास अधिकृत कृष्णहरि देवकोटाले दिए ।
यस वर्षको खाद्यान्न अपुगको मात्रा गत अघिल्लो आर्थिक वर्ष ०७२/७३ को भन्दा करिब पाँच गुणाले बढी हो । अघिल्लो वर्ष गहुँ र धान उत्पादन राम्रो भएपछि करिब तीन हजार मेट्रिक टन खाद्यान्नमात्र अपुग भएको तथ्यांक कृषि कार्यालयको छ ।
यस्तै आर्थिक वर्ष ०७१/७२ मा जिल्लामा करिब सात हजार ८२ मेट्रिक टन प्रशोधित खाद्यान्न अपुग भएको अनुमान थियो । कृषि कार्यालयका अनुसार हाल अछाममा ५६ हजार चार सय ४७ हेक्टरमा खेती गरिँदै आएकोमा नियमित र मौसमी गरी १० हजार हेक्टरमा मात्र सिँचाइ सुविधा भएकाले खाद्यान्न उत्पादन नभएको हो । अधिकांश जमिन आकासे पानीको भरमा खेती गर्नुपर्ने भएकाले समयमा पानी नपरेको वर्षमा खाद्यान्न उत्पादनमा निकै कमी आउने गर्छ ।
एकातर्फ पर्याप्त सिँचाइको अभाव र त्यसैमा खेती गरिएको जमिनमा किसानले रासायनिक मलखाद प्रयोग गर्ने प्रचलन ज्यादै कम भएर पनि जमिनको उत्पादकत्व कम देखिन्छ । कृषि कार्यालयका अनुसार जिल्लामा प्रतिहेक्टरमा बढीमा १० देखि ११ किलोग्राममात्र रासायनिक मल प्रयोग हुने गर्छ । ‘रासायनिक मलखादको प्रयोगको अवस्था हेर्ने हो भने त एकदमै नगन्य मात्रामा हो', देवकोटाले भने, ‘मलखादको प्रयोगको दर बढाउन सकेमात्र पनि खाद्यान्न उत्पादनमा उल्लेख्य मात्रामा वृद्धि हुनसक्छ ।'
पहिलेको भन्दा किसानले आजभोलि मलखादको प्रयोग तथा उन्नत जातको बिउबिजन लगाउने गरेकाले बर्सेनि उत्पादन बढ्दै गएको भए पनि गत वर्षको खडेरीले मात्र उत्पादन घटेको जानकारी उनले दिए । खाद्य सुरक्षा सञ्जालको तथ्यांकअनुसार आर्थिक वर्ष २०६५÷०६६ मा वार्षिक रूपमा करिब २५ हजार मेट्रिक टन खाद्यान्न अपुग हुने गरेको थियो । त्यसपछिका वर्षहरूमा उत्पादन बढ्दै गएको देखिन्छ । जिल्लामा लगाइने प्रमुख खाद्यान्न बालीहरू धान, गहुँ, कोदो र मकै छन् ।
खेती गरिएको जमिनको तुलनामा खाद्यान्न उत्पादन कम हुनुमा खेती गरिएको जमिन प्रायः पाखो र भिरालो हुनु ससानो टुक्रे जमिन हुनु, चरम भूक्षय हुनु, एकातर्फ मलखादको न्यून प्रयोग हुनु तथा भएको मलखाद पनि जमिन भिरालो भएकाले मलखाद पनि खेती गरिएको जमिनको माथिल्लो मलिलो माटोको तहसहित वर्षाको पानी र हावाले बगाएर र उडाएर उर्वरापनको नोक्सान गर्नुजस्ता कारण पनि रहेको कृषि कार्यालयले जनाएको छ ।
यसका साथै कृषि प्रसार सेवामा थोरैमात्र कृषकको पहुँच हुनुले पनि खेती लगाउने तथा त्यसमा आवश्यक पर्ने बिउ, मलखाद तथा रोग निन्त्रणका उपायबारेमा आवश्यक ज्ञानको अभाव छ । त्यसले पनि खाद्यान्न उत्पादनमा कमी आएको बागबानी विकास अधिकृत डम्मर भाटले बताए ।
उनका अनुसार जिल्लामा करिब १८ देखि २० प्रतिशत किसानमा मात्र कृषि प्रसार सेवामा पहुँच छ । कृषि कार्यालयमा दरबन्दी अनुसार कर्मचारी नहुनुले पनि सबै किसानसँग कृषि प्राविधिकको पहुँच नपुगेको जानकारी भाटले दिए । उनका अनुसार कार्यालय प्रमुखसहित छ अधिकृत कर्मचारीको दरबन्दी भए पनि दुईमात्र कार्यरत छन् । यस्तै जिल्ला तथा छवटा कृषि सेवाकेन्द्र समेतमा काम गर्ने गरी २४ जेटी र जेटीएको दरबन्दीमध्ये १८ मात्र कार्यरत छन् ।
खाद्यान्न उत्पादनमा कमी हुनुको अर्को प्रमुख कारण जंगली जनावरले गर्ने क्षति पनि छ । धान, मकै, कोदोलगायत जुनसुकै पनि खाद्यान्न, तरकारी तथा फलफूलमा जंगली जनावर बँदेल, भालु, दुम्सी, बाँदरका साथै विभिन्न चराचुरुंगीले समेत नोक्सानी पुर्याउने गरेका छन् । विशेषगरी बँदेलले बालीमा क्षति पुर्याउन थालेपछि थुप्रै किसानले खेती गर्न पनि छोडेका छन् ।