नेविसंघ चुनाव : १० बजेसम्म लाइन बस्नेले भोट हाल्न पाउने
काठमाडौँ: तोकिएको समयभन्दा सात घण्टा ढिला सुरु भएको नेविसंघको केन्द्रीय कार्यसमिति चयनको मतदानमा सहभागीलाई १० बजेसम्म लाइन बसिसक्न निर्वाचन समितिले आग्रह गरेको छ ।
मतदाता नामावलीमा देखिएको विवाद र मेसिनबाट मतदान गर्न प्राविधिक कठिनाइका कारण विहान सात बजे तोकिएको मतदान कार्यक्रम दिउँसो एक बजेबाट मात्रै सुरु भएको थियो । लामो विवादपछि ढेड सातापछि सुरु भएको संघको मतदानमा बुधबार राती १० बजेभित्रमा लाइनमा बस्नेलाई मात्र सहभागी गराइने भएको छ ।
नेविसंघका प्रवक्ता युपी लामिछानेले भने, ‘१० बजेभित्र लाइन बसीसक्न सबैलाई आग्रह गर्दछौँ ।’ लामिछानेका अनुसार अहिलेसम्म १३ सय ५२ मत खसेको छ । निर्वाचन समितिले मतदान सुरु हुनुभन्दा केही घण्टामात्रै अगाडी मतदाता नमावली बढाएर ३ हजार ८ सय ५२ पुगेको छ । यसअघि ३ जहार ७ सय ६० मतदाता भएको सूचना निर्वाचत समितिले प्रकाशित गरेको थियो ।
एक अध्यक्ष, ११ उपाध्यक्ष, दुई महामन्त्री, १३ सहमहामन्त्री र एक कोषाध्यक्ष सहित १ सय २९ पदका लागि निर्वाचन भएको हो । त्यसमध्ये एक सहमहामन्त्री र पाँच सदस्य भने यसअघिनै निर्विरोध निर्वाचित भइसकेका छन् । मधेसीतर्फको सहमहामन्त्रीमा परमेश्वर साह निर्विरोध निर्वार्चित भएका हुन् । त्यस्तै, छात्रा मुश्लिम आरक्षणबाट सितारा बानु, अपाङग छात्राबाट कल्पना खड्का, पिछडिएको क्षेत्र छात्राबाट सुमित्ता शाही सदस्यमा निर्विरोध निर्वार्चित भएका हुन् ।