बम बिस्फोट गराउने बालक खोज्दै टर्किस् प्रहरी
अङ्कारा: टर्कीको एक विवाह समारोहमा बम विस्फोट गराउने व्यक्ति १२ देखि १४ वर्षको बालक रहेको प्रारम्भिक सूचना सार्वजनिक भएको छ। प्रहरीद्वारा नै सो सूचना सार्वजनिक भएपछि टर्किस् प्रहरीले सो बालकको पहिचान खोजिरहेका छ।
टर्कीका राष्ट्रपति रिसेप तैयप एर्दाेगानले पत्रकार सम्मेलनमा सो विवाह समारोहमा बम हमला गर्ने आत्मघाती बालक रहेको भनी जानकारी दिएका छन्।
सो हत्याकाण्डपछि आइतबार स्तानबुलमा आयोजित पत्रकार सम्मेलनमा उहाँले सो बालक १२ देखि १४ वर्षसम्मको रहेको पाइएको जानकारी दिनुभएको थियो। तर उसको पहिचान भने खुलेको छैन।
टर्किस् प्रहरीले पनि सो बम हमलाकारी बालक रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको र उसले त्यही बालकको खोजी गरिरहेको सोमबार जानकारी दिएको छ।
सो बम हमला गरिएको नगर घाजियान्तेप हो र सो नगर सिरियाको सिमानामा पर्दछ। सिरियाको नजिक रहेको सो नगरमा आइएसले नै उसलाई बम हमला गराएको वा गर्न लगाएको पाइएको टर्की सरकारको भनाई छ।
विस्फोटमा संलग्न आत्मघाती हमलाकारी रहेको र सो हमलामा आईएसको हात रहेको पनि उनले बताए। संयुक्त राष्ट्रसंघले सो हमला अत्यन्तै शक्तिशाली भएको भन्दै यसको अनुसन्धान आवश्यक मात्रामा गरी दोषीमाथि कडा कारबाहीको माग गरेको छ।
सो हमलामा परी मारिनेको सङ्ख्या ५१ पुगेको जानकारी टर्किस् प्रहरीले दिएको छ। प्रहरीले घाइतेको सङ्ख्या ६९ रहेको र १७ जना नराम्ररी घाइते भएको पनि बताएको छ। प्रहरीले सो बालकको डिएनए परीक्षण गरिरहेको जनाएको छ। डिएनए परीक्षण गरी सो परीक्षणका माध्यमबाट उसको पहिचान खुलाउने प्रयासमा प्रहरी रहेको छ।
कतिपयले सो बालक सिरियाबाटै ल्याइएको हुनसक्ने जनाएका छन्। तर केहीले भने उक्त सहरमा नै आइएसले बम बनाउने काम गरिरहेकोले आत्मघातीहरुका रुपमा पनि टर्कीकै नागरिकलाई प्रयोग गरेको हुनसक्ने बताएका छन्। रासस÷एएफपी
प्रतिक्रिया दिनुहोस !