युवा वर्ष मोती पुरस्कार रमेश शुभेच्छु र गोविन्द नेपालीलाई

युवा वर्ष मोती पुरस्कार रमेश शुभेच्छु र गोविन्द नेपालीलाई

काठमाडौँ: राष्ट्रिय युवा सेवा कोशले यस वर्षको युवा वर्ष मोती पुरस्कार युवा साहित्यकार रमेश शुभेच्छु (पाँचथर) र गोविन्द नेपाली (जुम्ला)लाई दिने निर्णय गरेको छ । भदौ ६ गते पुरस्कार छनोट समितिका संयोजक प्रा.डा. चूडामणि बन्धूको संयोजकत्वमा बसेको बैठकले शुभेच्छु र नेपालीलाई संयुक्त रुपमा पुस्कार प्रदान गर्ने निर्णय गरेको हो ।

कोशले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली भाषा साहित्यको उत्थान र यसको श्रीवृद्धिका लागि विविध क्रियाकलाप र गतिविधि सञ्चालन गरी प्रशंसनीय योगदान दिए वापत साहित्यकारद्वयलाई सो पुरस्कारद्वारा पुरस्कृति गर्ने निर्णय गरेको हो ।’

कोशले २०४२ सालमा स्थापना भएको मोती पुरस्कार २०७३ का लागि शुभेच्छु र नेपालीलाई दिने निर्णय गरेको हो । पुरस्कारको राशी ५० हजार नगद, स्वर्ण पदक र प्रमाणपत्र रहेको छ । कोशले मोती पुरस्कार स्थापना कालदेखि नै प्रत्येक वर्ष ४० वर्ष ननाघेका युवा साहित्यकारलाई प्रदान गर्दै आएको छ ।

राष्ट्रिय विभूति युवा कवि मोतीराम भट्टको १५१ औँ जयन्तीको अवसरमा भदौ १६ गते पुरस्कार प्रदान गरिने राष्ट्रिय युवा कोशका अध्यक्ष भीमबहादुर अधिकारीले अन्नपूर्णलाई जानकारी दिए ।

पुरस्कार पाउने खबर सुनेपछि अन्नपूर्णसँग साहित्यकार शुभेच्छुले भने, ‘गर्दै गए हौसला र माया पाइने रहेछ । अनि निरन्तर गर्दै गए सम्मान पनि पाइने रहेछ ।’

पुरस्कार घोषणा हुँदा बैतडीमा रहेका नेपालीले अन्नपूर्णसँग खुशी साट्दै भने, ‘कर्णालीको गाउँमा जन्मिएर गरेको निरन्तरताको फल जस्तो लागेको छ ।’ नेपालीले अबको लेखन यात्रा अझ चुनौती थपिएको समेत सुनाए ।

को हुन् शुभेच्छु
रमेश शुभेच्छु सूर्यनाथ लुइटेल र पुण्यमाता लुइटेलको कोखबाट २०३५ साल चैत ३० गते पाँचथर जिल्लाको सुभाङ गाविस ९ भालुखोपमा जन्मिएका हुन् । प्राथमिक तहबाटै कविता सिर्जना सुरु गरेका शुभेच्छुको पहिलो कृति गजल संग्रह हो । आँसु नदेऊ मलाई (गजल संग्रह, २०५७)मा प्रकाशित भएपछि साहित्यमा औपचारिक यात्रा सुरु गरेका शुभेच्छुका सिर्जना र सम्पादन गरेर दर्जनौ कृति प्रकाशित छन् । शुभेच्छुका चर्चित सम्पादित कृतिमा मेची पद्यमाला (२०५९) , नेपाली गजलमा नारी हस्ताक्षर, २०६२ हुन्  ।

छन्द कवितामा विशेष कमल चलाउने शुभेच्छुका सिर्जनात्मक कृतिमा हजुरबा (शोककाव्य, २०५८), आमाको माया (बालकाव्य, २०६१), बगँैचा (कविता–गीत–गजल सङ्ग्रह, २०६५) लगायत कृति प्रकाशित छन् । ‘देवकोटाका महाकाव्यमा स्वच्छन्दतावाद’ शीर्षकमा विद्यावारिधिरत शुभेच्छु साहित्य सिर्जना सँगै प्राध्यापन र छन्द प्रशिक्षणमा सक्रिय छन् ।

को हुन् नेपाली
गोविन्द नेपाली स्व.मुने नेपाली र स्व.अमृता नेपालीको कोखबाट २०३६ साल कात्तिक ५ गते जुम्ला चन्दनाथ गाविस डाडाकोट गाउँ (हाल चन्दनाथ नगरपालि ४) मा जन्मिएका हुन् । 

माध्यमिक तह पढ्दैदेखि साहित्य सिर्जना गर्न थालेका नेपालीले १२ वटा साहित्यिक कृति प्रकाशन गरिसकेका छन् । नेपालीको कलम उपन्यास, कथा, गजल, कवितालगायतको विधामा सशक्त देखिन्छ ।

नेपालीको पहिलो कृति फाटोकोट (नाटक, २०६२) सालमा प्रकाशित भएको हो । नेपालीका ‘अञ्जान अप्सरालाई रविको पत्र (उपन्यास, २०६३) जागरुक डुसा (कविता संग्रह, २०६७),  कर्णाली दर्पण (कविता संग्रह, २०७०) रपचतहरकै चिनारी (कविता संग्रह, २०७२) चर्चित कृति हुन् । ‘दलितको सामाजिक संस्कार’ शीर्षकमा विद्यावारिधि गरिरहेका नेपाली सिर्जना यात्रामा सक्रिय छन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.