नेपालबाट थप केयर गिभर लैजान इजरायल सकारात्मक
काठमाडौँ: इजरायलले नेपालबाट थप केयर भिभर (स्याहार सुसार गर्ने) हरुका लागि थप कामदार लिन आफू सकारात्मक रहेको जनाएको छ । परराष्ट्रमन्त्री डा प्रकाश शरण महतसँग शुक्रबार परराष्ट्र मन्त्रालय सिंहदरबारमा भएको भेटमा नेपालका लागि इजरायली राजदूत यारोन मायरले त्यस्तो बताएका हुन् ।
उनले नेपालबाट कामदारका रुपमा इजरायल जाने केयर गिभरको सङ्ख्या बढाउने विषयमा एक अध्ययन टोली नेपाल आउने र त्यसको सिफारिशका आधारमा बढाउन सकिने बताए ।
भेटमा मन्त्री महतले तत्कालीन प्रधानमन्त्री विपी कोइरालाले इजरायलसँग ५६ वर्षअघि स्थापना गरेको कुटनीतिक सम्बन्धको स्मरण गरेको महतका जनसम्पर्क सल्लाहकार एकराज पाठकले प्रेस वक्तव्यमा जनाएका छन् ।
नेपाल इजरायलसंगको सम्बन्ध पुरानो र घनिष्ठ गरेको प्रसंग उल्लेख गर्दै मन्त्री महतले पछिल्ला वर्षहरुमा इजरायल नेपालको बैदेशिक रोजगारीका लागि सजिलो गन्तव्य बन्दै गएको बताएका थिए । उनले इजरायलमा थप रोजगारीका अवसरका लागि नेपालले सहयोगको अपेक्षा गरेको बताए ।
परराष्ट्रमन्त्री महतले नेपालमा गतवर्ष गएको महाभूकम्पको उद्वारका क्षेत्रमा इजरायलले गरेको सहयोगको पनि सराहना गरे ।
नेपाल र इजरायलबीच सन् १९६० जुन १ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो ।
यसैगरी, शुक्रबारै मन्त्री महतसँग नेपालका लागि इजिप्टका राजदूत बहेर नबिल अब्देल फताह हेल्मीले पनि मन्त्रालयमा शिष्टाचार भेट गरे ।