न्यायालय र अनियमितता

न्यायालय र अनियमितता

न्यायपालिका र त्यसका सर्वोच्च निकाय सर्वोच्च अदालत जतिसुकै विवादमा तानिए पनि आम जनताको त्यसमाथिको विश्वास सहजै हट्दैन । अर्थात् अदालतमा वर्षौं मुद्दा खेपेर 'न्याय नपाएको' अनुभव र अनुभूति सँगालेकाहरूबाहेक अधिकांश अरू पर्दा 'अदालत' बाट न्याय पाइन्छ होला भन्ने मान्यता राख्छन् । सम्भवतः त्यो विश्वासमा प्रत्यक्ष चोट नपरेसम्म त्यो मान्यता रहिरहन्छ उनीहरूको दिलदिमागमा ।

तर अहिले अदालतलाई प्रभावित गर्ने गरी या त्यसलाई केन्द्रमा राखेर आएका अभिव्यक्ति तथा राजनीतिक निर्णयहरूले अदालतको छविमा निकै नकारात्मक ग्रहण लाग्दै गएको छ । त्यसैले त्यसको क्षमता, निष्पक्षता, स्वतन्त्रता उकास्न र न्यायपालिकाको दैनिक कामकाज र न्याय निष्पादनमा तेर्सिएका विकृति हटाउन बाहिरबाट भन्दा भित्रैबाट प्रयास हुनु आवश्यक छ ।

हालै पूर्व क्षेत्रको एउटा औपचारिक कार्यक्रममा प्रधानन्यायाधीश सुशीला कार्कीले बिचौलियाहरूको उपस्थितिले न्याय असहज बनाएको अभिव्यक्ति दिएकी छन् । न्यायपालिका प्रमुखले समस्याको पहिचान गर्नु त्यसको समाधानमा महत्त्वपूर्ण खुट्किलोमा टेक्नुजस्तै हो, यद्यपि त्यो पर्याप्त हुँदैन ।

बिचौलिया प्रवृत्ति के हो, त्यसका संरक्षक को हुन्, तिनीहरूको उपस्थिति र चलखेलले कसरी न्याय मरेको छ, न्याय मर्दा अदालतको औचित्य र अस्तित्वको अर्थ के हुन्छ ? यी प्रश्नहरूको जवाफ पनि न्यायपालिकाको सुधारिएको कार्यबाट आउनु जरुरी हुन्छ । न्यायपालिका नेतृत्वको मुख्य जवाफदेहिता न्यायका आकांक्षी र न्यायपालिकालाई संविधानवाद र प्रजातन्त्रको 'प्राण' का रूपमा स्वीकार गरेकाहरूप्रति हुन्छ ।

न्यायपालिकाले आन्तरिक सुधार तथा न्याय सुनिश्चित हुने प्रमाण दिन थालेमा उसले सहजै जनसमर्थन बटुल्नेछ र प्रजातन्त्र तथा संविधानवादका मूल्यहरू दरिलोसँग स्थापित हुनेछन् । तर विगत १० वर्षमा न्यायपालिका राजनीतिक हस्तक्षेप र कार्यकारी हस्तक्षेपप्रति अनेकौंपटक न्यायपालिका निरीह र नतमस्तक बनेको छ ।

खिलराज रेग्मी प्रकरण अपवादका रूपमा हैन, त्यही निरीहता प्रदर्शनबाट सिर्जित एउटा प्रयोग थियो, दातालगायत बाह्य दबाब र नेपाली न्यायपालिका तथा राजनीतिक नेतृत्वबीचको साँठगाँठमा पोषित र सिञ्चित । अर्थात् वर्तमान प्रधानन्यायाधीशले भनेअनुसार बिचौलिया संस्कृति र दृश्यअदृश्य संयन्त्र समाप्त पार्न अदालतले मुख्य रूपमा दलीय राजनीति र दातालगायत बाह्य शक्तिको प्रभावबाट आफूलाई मुक्त राख्न सक्नुपर्छ ।

यो चुनौती पार गर्न सकेमा न्यायपालिकाले राणाशासनको उत्तराद्र्धदेखि नै व्यावसायिकता र आधुनिक न्यायिक मान्यता अँगाल्दै गएको नेपाली न्यायपालिकाको गति र गन्तव्यसँग आफूलाई जोड्न सक्नेछ र न्यायपालिकाप्रतिको बढ्दो आशंकालाई सम्बोधन गर्न सक्नेछ । तर त्यसको लागि न्यायाधीश हैन, न्याय बोल्नुपर्ने हुन्छ ।

न्यायपालिकाको यो भोगाइ र आन्तरिक मन्थनकै बीच न्याय तथा कानुनमन्त्री अजयशंकर नायकले अदालतमा देखा परेका 'अनियमितता' नियन्त्रण गर्न आफू लागिपरेको अभिव्यक्ति दिएका छन् । सम्बन्धित मन्त्रीले आफ्नो दललाई प्रशंसनीय उदाहरण बनाई अरू दलहरूलाई समेत न्यायाधीश नियुक्तिमा दलीय हस्तक्षेप नगर्न प्रोत्साहित गर्न सके र अराजनीतिक, योग्य, चरित्रवान् तथा निष्पक्षलाई न्यायाधीश नियुक्त गर्न सके भने त्यो नै ठूलो योगदान हुनेछ, उनको न्यायपालिकाको पक्षमा ।

राजनीतिक दल या सरकारले अन्य तरिकाबाट न्यायपालिकाका 'अनियमितता' हटाउने प्रयास गर्दा प्रत्युत्पादक हुनेछ । ०६३ यता न्यायपालिकालाई अग्रगामी र राजनीतिक परिवर्तनसापेक्ष बनाउन भएका 'ताजा शपथ' संसदीय सुनुवाइ, दलीयता र 'एक्टिभिस्ट' हरूको न्यायपालिकामा नियुक्ति अनि प्रधानन्यायाधीश र मुख्य दलहरूबीचको सहकार्य मुख्य रूपमा विद्यमान नकारात्मक प्रवृत्तिको लागि जिम्मेवार छन् । अनियमितता नियन्त्रणको नाममा अर्को राजनीतिक प्रयोग नहोस् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.