प्रत्येक निर्वाचन क्षेत्रमा बैंक स्थापना गर्न सांसदहरुको माग

प्रत्येक निर्वाचन क्षेत्रमा बैंक स्थापना गर्न सांसदहरुको माग

काठमाडौं: वित्तीय साक्षरताको अभावमा नागरिकले बैंक तथा वित्तीय संस्थाको पहुँचमा पुग्न नसकेकाले सरकारले ग्रामीण क्षेत्रमा बैंकको शाखा तत्काल पुर्याउनुपर्नेमा सांसदहरूले जोड दिएका छन्।

व्यवस्थापिका–संसद्को सोमबारको बैठकमा जरुरी सार्वजनिक महत्वको प्रस्ताव ‘ ग्रामीण क्षेत्रमा बैंकको शाखा तुरुन्त पुर्याउने, प्रत्येक निर्वाचन क्षेत्रमा एक राष्ट्रिय बैंकको शाखा र दशवटा लघुवित्त बैंकको इकाइ खोल्ने, वित्तीय साक्षरता अभिवृद्धि अभियान चलाउने, शाखा खोल्न सम्भव नहुने ठाँउमा शाखा रहित बैंकिङ सेवा सञ्चालन गर्ने’ भन्ने प्रस्ताव माथि धारणा राख्दै उनीहरुले वित्तीय साक्षरताको विषयलाई प्रमुख रुपमा ध्यान दिन सरकारलाई आग्रह गरे।

कृषि आधारित अर्थतन्त्रलाई सबल र सक्षम बनाउन पनि ग्रामीण क्षेत्रका जनतालाई बैंक तथा वित्तीय संस्थामा पहुँच पुर्याउनुपर्ने तथा उत्पादन वृद्धिका लागि श्रम शक्ति र पूँजीको उचित संयोजन एव्म परिचालन आवश्यक रहेको उनीहरुको कथन छ ।

आर्थिक क्षेत्रमा अनुशासन कायम राख्न नसकिएको, अधिकाशं बैंक तथा वित्तीय संस्था राजधानी, जिल्ला सदरमुकाम र सुगम क्षेत्रमा मात्रै क्रियाशिल रहेका कारण ग्रामीण क्षेत्रका जनताले बैंकिङ प्रणलीमा सहज पहुँच पाउन नसकेको गुनासो गरे।

जरुरी सार्वजनिक महत्वको प्रस्तावकसमेत रहेका सांसद प्रभु साहले ग्रामीण क्षेत्रका जनताले बैंक तथा वित्तीय संस्थाको अभावमा आफ्नो सानो वचतसमेत सिरानीमा राखेर सुत्न बाध्य भएको, रकम आवश्यक पर्दा साहु महाजनकहाँ आफ्नो घर जग्गा रजिष्ट्रेसन पास गरेर चर्को व्याजदरमा ऋण लिनुपरेको बताए।

ग्रामीण जनता साहुमहाजनको शोषणमा परेको, चर्को व्याजमा ऋण लिँदा त्यसले ऋण लिनेको आर्थिक अवस्थामा समेत एकदमै नकारात्मक हुने गरेको बताउँदै उनले सानो पूँजी सङ्कलनबाट ठूलो परिणाममा राष्ट्रिय पूँजी निर्माण गर्न सकिने भएपनि त्यसप्रकारको सम्भावना कमजोर बन्दै गएकोमा चिन्ताव्यक्त गरे।

सांसद प्रभु साहले नेपाल राष्ट्र बैंकको तथ्याङ्कअनुसार कुल ४० प्रतिशत जनता मात्रै बैंक तथा वित्तीय संस्थाको पहुँचमा रहेको र बाँकी रहेका जनता हालसम्म वित्तीय संस्थाको पहुँचमा पुग्न नसक्नु दुःखद रहेकोे बताए।

सोही प्रस्तावका समर्थक भरतबहादुर खड्काले बैंक तथा वित्तीय संस्थाको अभावमा जनतामा वचत गर्ने बानीको अभाव हुनुका साथै उत्पादनशील पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेको बताए। बैंक तथा वित्तीय संस्था सहर र सुगम स्थानमा केन्द्रीत हुँदा त्यसले क्षेत्रीय असन्तुलन पैदा गरेको, ऋण लिन चाहने व्यक्तिले बैंकका कर्मचारीलाई घुस तथा कमिसन दिनुपर्ने बाध्यता रहेको उनले गुनासो गरे।

यस्तै सोही प्रस्तावका समर्थक चुडामणि विक जङ्गलीले ऋण लिन चाहने र वचत गर्ने बानी बसाल्नका लागि पनि नागरिकलाई बैंक तथा वित्तीय संस्थामा सहज पहुँच पुर्याउनुपर्नेमा जोड दिए।

ग्रामीण क्षेत्रमा बैंक शाखा तुरुन्त पु¥याउनुपर्ने, कम्तीमा एक निर्वाचन क्षेत्रमा एउटा राष्ट्रिय बैंकको शाखा र दशवटा लघुवित्त बैंकका इकाइ खोल्नुपर्ने उनले बताए। बैंक तथा वित्तीय संस्थाको म्यापिङ गरी पहुँच नभएको क्षेत्रमा मात्रै बैंक खोल्न स्वीकृति दिनुपर्ने, कृषि क्षेत्रमा कर्जा प्रवाह बढाउनुपर्ने, बैंकले संकलन गरेको निक्षेपको कम्तीमा ८० प्रतिशत सम्बन्धित क्षेत्रमा नै कर्जा प्रवाह गर्नुपर्ने, वित्तीय साक्षरता अभिवृद्धि गर्न अभियान नै चलाउनुपर्नेमा जोड दिँदै सांसद जङ्गलीले शाखा खोल्न सम्भव नहुने ठाँउमा शाखा रहित बैंकिङ वा मोबाइल बैंकिङ सञ्चालन गर्नुपर्ने बताए।

सो प्रस्तावमाथिको छलफलमा सांसदहरू केशव बडाल, विकास लम्साल, योगेन्द्र तामाङ घिसिङ, परशुराम तामाङ, रामहरि सुवेदी, बुद्धिराम भण्डारी, प्रकाश ज्वाला, वृजेशकुमार गुप्ता, सीता नेपाली, नरसिंह चौधरी, जनकराज जोशी, तारादेवी राई, डिल्लीप्रसाद काफ्ले र मिना पुनले भाग लिएका थिए।

उनीहरूले व्यापारिक बैंक तथा वित्तीय संस्था नाफा कमाउने क्षेत्रमा मात्रै केन्द्रीत भएको र ग्रामीण क्षेत्रमा जान अस्वीकार गरेका कारण सरकारले सरकारी संस्थालाई विशेष योजना बनाएर अगाडि लैजानुपर्नेमा जोड दिए। रासस


प्रतिक्रिया दिनुहोस !

सम्बन्धित खबर

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.