खाँचो नागरिक शिक्षाको

खाँचो नागरिक शिक्षाको

भनिन्छ, नेपाली समाज यतिबेला परिवर्तनउन्मुख छ । यसले परिवर्तनको प्रक्रिया आत्मसात गरेको छ । यसै कुरालाई प्रमाणित गर्न एकथरी बुज्रुकहरू समाजमा यतिबेला व्याप्त विकृति, विसंगति र अधोपतनका लक्षणहरूलाई समेत यी केही नभएर प्रसूति अवस्थामा महिलाले व्यहोर्नुपर्ने पीडा जस्तै हुन्, भोलि नयाँ शिशुको जन्म (नयाँ नेपाल निर्माण) पछि यी पीडाहरू खुसियालीमा परिणत हुनेछन् र नेपाली समाजले नयाँ स्वरूप धारणा गर्नेछ भन्ने दाबीसमेत गर्छन् ।

तर 'हुने बिरुवाको चिल्लो पात नहुने बिरुवाको खस्रो पात' भनेजस्तै अहिले नेपाली समाजमा जेजस्ता लक्षणहरू देखा पर्दैछन्, ती सकारात्मक परिवर्तनका नभएर पतनका सूचकहरू लाग्छन् । यो कुन अर्थमा भने समाजमा यतिखेर चारैतर्फ नैतिकता, इमानदारी एवं मानव मूल्यको तीव्र ह्रास हुँदै गरेको देखिन्छ ।

समाजमा जताततै विवेक एवं संवेदनशून्यता मात्र देख्न पाइन्छ । समाजमा स्थापित पूर्व मान्यताहरू धराशायी हुन पुगेका छन् । तर तिनको स्थानमा नयाँ एवं सकारात्मक मान्यताहरूको स्थापना हुने कुनै लक्षणसमेत देखिँदैन । यस किसिमको अवस्थालाई परिवर्तन होइन, सामाजिक विघटनउन्मुख अवस्था मान्न मिल्ने देखिन्छ ।

यद्यपि नेपाली समाज विघटनउन्मुख रहेको दर्शाउन धेरै आधार प्रस्तुत गर्न सकिन्छ, तापनि प्रस्तुत लेखमा राजधानी काठमाडौंमा सञ्चालित सार्वजनिक यातायातका साधनहरूमा यात्रा गर्नेहरूले व्यहोर्नुपर्ने कष्ट, अपमान र अपराधजन्य अवस्था समेट्ने प्रयास गरिएको छ ।

काठमाडौंमा सार्वजनिक यातायातका साधन प्रयोग गर्नेहरूको संख्या निकै छ । यहाँ सार्वजनिक यातायातका साधनहरूको रूपमा बस, मिनिबस, माइक्रोबस, ट्याक्सी र टेम्पोहरू चल्ने गरेका छन् । यसरी चल्ने साधनहरूमा यात्रा गर्नेहरूलाई ट्राफिक जाम, सडकको दुरवस्था र आपराधिक मनोवृत्तिका यात्रुहरूको व्यवहारले असहज हुने कुरा त आफ्नो ठाउँमा छ, योभन्दा बढी यातायातका साधन सञ्चालक (चालक र कन्डक्टर) हरूबाट हुने दुव्र्यवहारका कारण असुविधा व्यहोर्नुपर्ने गरेको छ ।

ट्याक्सी र टेम्पो छोडेर अन्य साधनहरूमा यात्रा गर्नेहरूले अनुभव गरेको हुनुपर्छ, एक त ती साधनहरूमा क्षमताभन्दा बढी यात्रु कोचाकोच गरेर राखिन्छ । त्यसरी कोचाकोच भई यात्रा गर्नेहरूले कन्डक्टरको निर्देशनबमोजिम उभिनुपर्छ । उसले भनेजस्तो गरी उभिँदा यात्रुहरूको हालत यातना शिविरमा यातना भोगिरहेजस्तो हुन जान्छ ।

कन्डक्टरले यसो गरी उभिन लगाउँदा यदि कुनै यात्रुले आपत्ति जनायो भने उसलाई त्यसो नगर्नेले कार वा ट्याक्सीमा यात्रा गर्नु नि ! बसमा किन चढेको ? यदि भनेजस्तो गरी नउभिने हो भने बसबाट उत्रिई हाल्नु भन्ने जस्ता अपमानजन्य वचनको प्रयोगदेखि लिएर गालीगलौजसम्म गर्ने गर्छ । जसले गर्दा यात्रुहरू चुपचाप कन्डक्टरको निर्देशन पालन गर्न बाध्य हुन्छन् ।

कुरा यतिसम्म मात्र टुंगिँदैन, यात्रुहरूलाई कुनै निधारित स्थलमा बस चढ्ने र उत्रने सुविधा छैन । बस चालकहरू यात्रुलाई जुनसुकै स्थानबाट बस चढाउँछन्, तर उत्रने बेलामा भने यात्रुको सुविधा नभएर उनीहरूको आफ्नो इच्छाअनुसारको स्थानमा मात्र ओराल्ने गर्छन् । यात्रुहरूलाई कोचाकोच गरेर राख्ने, एक स्थानमा उत्रनुपर्ने यात्रुलाई अर्को स्थानमा उतारिदिने मात्र नभएर यात्रुबाट निर्धारित भाडाभन्दा बढी रकम लिने कार्यसमेत गर्छन् ।

यस किसिमको कार्य चालक र कन्डक्टर दुवैको मिलेमतोमा हुने गर्छ । तर यात्रुसँग त्यस किसिमको व्यवहार सहनुबाहेक अर्को विकल्प छैन । योबाहेक त्यहाँभित्र हुने पाकेटमारा र महिलाप्रति हुने यौनजन्य हिंसा जस्ता कुराहरूको त झन् चर्चा गरिसाध्य छैन । कारण बसमा ती दुवै कार्यको लागि अनुकूल वातावरण सिर्जना हुने गर्छ ।

यसरी देशको राजधानीमा एकजना यात्रुले सुरक्षित एवं सम्मानजनक रूपमा यात्रासम्म गर्न पाउँदैन । उसले एकपटक सार्वजनिक यातायातको साधनमा यात्रा गर्दा उल्लिखित अवस्था व्यहोर्नुपर्ने हुन्छ । जसले पटकपटक यात्रा गर्छ, उसले सोही अनुपातमा थप कष्ट र अपमान व्यहोर्नुपर्ने हुन्छ । यसबारे ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र यातायात व्यवसायी संघ कसैलाई कुनै चासो रहेको पाइँदैन ।

यो सबै देख्दा नेपाली समाजमा परिवर्तनको गति कुन दिशातिर उन्मुख छ भन्ने कुरा सहजै अनुमान गर्न सकिन्छ । नेपाली समाजमा भइरहेका परिवर्तनको मूल कारक आफू नै रहेको दाबी गर्नेहरूले यस किसिमका क्रियाकलापको जिम्मेवारी लिनुपर्छ ।

यस किसिमको चर्चा गरिरहँदा उल्लिखित व्यवहार पछाडिको कारण के हो ? र यसको लागि को जिम्मेवार छ ? भन्नेजस्ता प्रश्नहरू स्वाभाविक रूपमा उपस्थित हुन पुग्छन् । निश्चय पनि हो, यस किसिमका क्रियाकलाप यातायातका साधनमा मात्र हुँदैनन् । यसको लागि यातायात सञ्चालकहरू मात्र जिम्मेवार छैनन् । यस पछाडिको मूल कारण नेपाली समाजमा हुर्कंदै गएको स्वार्थी, अविवेकी र संवेदनशून्य प्रवृत्ति नै हो ।

नेपाली समाजमा यस किसिमको व्यवहार सार्वजनिक यातायातका चालक र कन्डक्टरहरूबाट मात्र प्रदर्शित हुने गरेको छैन । यो सर्वत्र व्याप्त छ । एउटा सेवाग्राहीले चाहे प्रशासन एवं सार्वजनिक सेवा प्रदान गर्ने कुनै निकायबाट सेवा लिँदा होस्, न्यायिक निकायसमक्ष न्याय माग्न जाँदा, अस्पतालमा चिकित्सकीय सेवा लिन जाँदा होस् वा शिक्षालयमा शिक्षा आर्जन गर्दा होस्, सर्वत्र यसै किसिमको असहज अवस्था वा अपमान व्यहोर्नुपर्ने हुन्छ ।

त्यति मात्र नभएर बजारमा उपभोग्य वस्तुहरू खरिद गर्दासमेत क्रेताहरूले यसै किसिमको व्यवहार खेप्नुपर्छ । यसो किन हुने गरेको छ भने, हामीकहाँ कसैबाट सेवा वा वस्तुवापत कर वा शुल्क (मूल्य) लिइसकेपछि उसलाई उचित सेवा वा वस्तु प्रदान गर्नुपर्छ भन्ने मान्यताको विकास हुन सकेको छैन ।

सेवाग्राही वा ग्राहकहरूलाई ठग्ने, सताउने, होच्याउने अनि उनीहरूबाट अनावश्यक फाइदा लिने गर्दा आफूलाई सफल ठान्ने प्रवृत्तिको हामीकहाँ निकै विकास भएको छ । यही नै हाम्रो व्यावसायिक आचरण अनि राष्ट्रिय संस्कार बन्न पुगेको छ भन्दा फरक पर्ने छैन । यस कुरालाई हाम्रो चिन्तन र व्यवहारले बल पु‍र्‌याइराखेको छ ।

जहाँसम्म यस किसिमको अवस्थाका लागि को जिम्मेवार छ (? ) भन्ने प्रश्न छ, यसको लागि कुनै एउटा पक्ष मात्र जिम्मेवार छैन । तापनि सबैभन्दा बढी जिम्मेवार यस देशका अगुवाहरू नै हुन् । यस सन्दर्भमा अगुवाहरू भन्नाले यहाँका शासक, प्रशासक, नेता, व्यवसायी, बुद्धिजीवी र सञ्चारकर्मीलाई सम्झनुपर्ने हुन्छ । यी वर्गका व्यक्तिहरूको व्यवहारले नै यतिबेला नेपाली जनजीवनका सबै पक्षहरू अमर्यादित, भ्रष्ट र अव्यवस्थित हुन पुगेको जीवित सत्य हो ।

होइन भने विचार गरौं त, सार्वजनिक यातायात व्यवस्थालाई व्यवस्थित तुल्याउने पहिलो जिम्मेवारी शासक र प्रशासकहरूको होइन र ? तर हाम्रा शासक–प्रशासक (प्रहरी, सुरक्षाकर्मी समेत) यस किसिमको अवस्थाप्रति कत्ति पनि संवेदनशील देखिँदैनन् । भ्रष्टाचारलाई जीवनको मूल आदर्श ठान्नेहरूका लागि जनताका समस्या एवं आफ्नो जिम्मेवारीप्रति चासो रहने कुरै भएन ।

यही हाल राजनीतिक नेतृत्वको रहेको छ । यो जगजाहेर विषय भइसकेको छ, अब राजनीति राज्य सञ्चालनको नीति रहेन । यो तस्करीजस्तै छिटो धनी बन्ने व्यवसाय बन्न पुगेको छ । त्यसैले राजनीतिमा कर्तव्यनिष्ठ, इमानदार एवं नैतिक व्यक्ति आकर्षित हुँदैन । त्यस्तो कोही व्यक्ति राजनीतिमा संलग्न रहेको भए पनि ऊ त्यहाँ टिकिरहने स्थिति छैन ।

यसरी राजनीतिलाई कमाउ धन्दा बनाएका नेताहरूले जनताका समस्याप्रति के को सरोकार राख्थे र ! उल्टै उनीहरूको संरक्षण असामाजिक, जनविरोधी, भ्रष्टाचारी एवं आपराधिक तत्त्वहरूलाई हुने गरेको छ । यस मुलुकमा बुद्धिजीवीको हालत पनि राजनीतिक नेता एवं प्रशासकको भन्दा खासै भिन्न देखिँदैन ।

आफ्नो क्षमताका आधारमा नभएर भ्रष्ट नेता एवं प्रशासकको कृपा पात्र बनेर हैसियत निर्माण गर्ने लक्ष्यप्रति प्रतिबद्ध बुद्धिजीवीहरू साँचोलाई साँचो र झूटोलाई झूटो भन्नेसम्म आँट गर्दैनन् । त्यस्ताहरूबाट समाजमा व्याप्त विकृतिहरूविरुद्ध आवाज उठ्ला भन्ने आशा राख्नु पनि गलत कुरो हुन जाने स्थिति छ ।

रह्यो कुरा सञ्चार जगत्को, प्रायोजित समाचारको माध्यमबाट समाजमा सनसनी फैल्याएर निहित स्वार्थसिद्ध गर्ने कुरालाई पेसागत आदर्श बनाएको नेपाली सञ्चार जगत्ले जनताका समस्यालाई जस्ताको त्यस्तै प्रसारण गर्ने जिम्मेवारीसम्म पूरा गरेको पाइँदैन । त्यसो नहुँदो हो त देशको राजधानीमै सार्वजनिक यातायातका साधनहरूमा यात्रुमाथि हुने बेथिति र अमर्यादित कार्यबारे नियमित समाचार एवं रिपोर्टहरू प्रकाशन भइरहेका हुने थिए । तर समाचार माध्यमहरूमा राजनीतिक नेता एवं सम्भ्रान्तहरूको दैनिकीले मात्र स्थान पाइरहेको हुन्छ ।

हाम्रा प्रयास सभ्य, शिष्ट र मर्यादित समाज निर्माणको दिशामा नभएर समाजलाई भ्रष्ट, स्वार्थी र अमर्यादित तुल्याउने दिशामा लक्षित रहेका छन् । यसलाई रोक्न हामीले सबै तहका नागरिकबीच सामाजिक शिष्टता, मर्यादा र दायित्वबोध गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ, जसको प्रारम्भ यातायातकर्मीहरू बीचबाट गर्नुपर्ने खाँचो रहेको देखिन्छ ।

हामीकहाँ सार्वजनिक यातायातका साधनहरूमा यात्रुहरूले असुविधा भोग्नुपरेको कुरा रोक्ने र सुधार गर्नेतर्फ सम्बन्धित निकायबाट प्रयाससम्म हुने गरेको पाइँदैन । यद्यपि कहिलेकाहीँ ट्राफिक प्रहरी र यातायातकर्मीहरूले संयुक्त हातेमालो कार्यक्रम सञ्चालन गरेको सुनिने गर्छन्, तर त्यो हातेमालो तिमी तिम्रो ठाउँमा ठीक, म मेरो ठाउँमा ठीक, त्यसैले हामी दुवै ठीक भन्ने प्रस्तुति हो वा यातायात सेवालाई मर्यादित तुल्याउने प्रयास भन्ने कुरा स्पष्ट हुन सकेको छैन ।

त्यसैगरी 'प्रहरी मेरा साथी' भन्ने कार्यक्रम सञ्चालन गरेर जनताको मन जित्न खोजेको देखाउने प्रहरीलाई अधिकारसम्पन्न तुल्याउन यातायातका साधन सञ्चालकहरूले सामान्य नियम उल्लंघन गर्दा पनि कडा जरिबाना गर्न सक्ने अधिकार प्रदान गरिएको भए पनि प्रहरीले उक्त अधिकार यात्रुलाई मर्यादित रूपमा यात्रा गर्ने वातावरण सिर्जना गर्नको लागि नभई अर्थ संकलन गर्ने प्रयोजनको लागि मात्र प्रयोग गरिरहेको देखिन्छ ।

यसो नभएको भए उक्त अधिकारलाई प्रहरीले यातायातका साधन चलाउनेले सडकमा कोरिएको सेतो धर्सोलाई कुल्चिएको कुरामा निहुँ खोज्ने कार्यमा मात्र नभई यात्रुले सम्मानपूर्वक यात्रा गर्न पाइरहेका छन् छैनन् भन्नेतिर ध्यान दिने र यात्रुले केही समस्या भोग्नुपरेको भए त्यस्ता समस्या समाधान गर्ने हेतुले प्रयोग गर्ने थिए । तर त्यत्ति पनि नगरेर प्रहरीले आफूलाई जनताको साथी भनी गर्ने गरेको प्रचारबाजीप्रति पनि शंका गर्नुपर्ने स्थिति सिर्जना हुन पुगेको छ ।

प्रहरीले आफ्नो छवि सुधार्नु छ भने विज्ञापन र नारामा होइन, अपराध नियन्त्रण एवं जनपक्षीय क्रियाकलाप सञ्चालनमा आफ्नो ध्यान केन्द्रित गर्नुपर्छ ।

हुन त उल्लिखित विकृति नियन्त्रण गर्ने कार्य कानुन व्यवस्थाबाट मात्र नभएर नागरिक शिक्षाको माध्यमबाट पनि सम्भव हुने कुरा हो । तर नागरिक शिक्षा देशको शिक्षा योजना वा अन्य कुनै पनि तहमा प्राथमिकतामा परेको छैन । देशका शासक, राजनेतादेखि लिएर हरेक तहका अगुवाहरूबाट अर्कोलाई होच्याउने, दुःख दिने र शोषण गर्ने कार्य गरेर मात्र आफू ठूलो हुने दीक्षा पाइरहेका नेपाली जनताबीच नागरिक शिक्षाको प्रसंग उठाउनु पनि फजुलको कुरा हुन जाने अवस्था यतिखेर हामीकहाँ विद्यमान छ ।

तर केचाहिँ स्पष्ट छ भने नागरिक शिक्षाको अभावमा हामी कहाँ अन्य सबै किसिमका शिक्षा, तालिम र विज्ञताको प्रयोजन नै हुन छोडेको छ । हाम्रा प्रयास सभ्य, शिष्ट र मर्यादित समाज निर्माणको दिशामा नभएर समाजलाई भ्रष्ट, स्वार्थी र अमर्यादित तुल्याउने दिशामा लक्षित रहेका छन् ।

यस किसिमको अवस्था कसैको लागि पनि फाइदाजनक छैन भन्नेतर्फ हाम्रो ध्यान जानु आवश्यक छ । यसलाई रोक्न हामीले सबै तहका नागरिकबीच सामाजिक शिष्टता, मर्यादा र दायित्वबोध गराउने खालका कार्यक्रमहरू सञ्चालन गर्नु आवश्यक छ । जुन कुराको प्रारम्भ यातायातकर्मीहरू बीचबाट गर्नुपर्ने खाँचो रहेको देखिन्छ ।

त्यसैले अब नयाँ नेपाल निर्माणको कुरा कोरा क्रान्तिकारी लफ्फाजी, झूटा तथ्यांकमा आधारित विकास र मानिसलाई ब्वाँसोभन्दा तल्लो स्तरमा झार्ने निजीकरणका योजना जस्ता कुराबाट सम्भव छैन । यतिखेरको पहिलो प्राथमिकता नागरिकहरूलाई नागरिक शिक्षा प्रदान गर्दै आफू र आफ्नो भन्ने मात्र नभएर समाज, राष्ट्र र मानवताप्रतिको दायित्वबोध गराउनु हो ।

हामीले यति मात्र गर्न सक्यौं भने त्यो नै हामीले प्रारम्भ गर्ने जुनसुकै नयाँ कार्यको लागि आधारशिला हुनेछ, अन्यथा नेपाली समाज, राष्ट्र र नेपाली जातिकै पतनको प्रक्रिया कसैले रोक्न सक्ने छैन ।

 


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.