हे पशुपतिनाथ, हामीलाई मान्छे बनाउनुस् !
मर्निङ वाक’ गर्दाका केही अनुभवबाट यो लेख सुरु गर्दै छु।
बिहानै उठेर फटाफट हिँड्न खुब रमाइलो लाग्छ। तर, मर्निङ वाकमा निस्कनुअघि प्रार्थना गर्न मन लाग्छ– ‘भगवान्, बाटोमा मेरो अगाडि कसैले नथुकोस्। मेरो अगाडि मुखैनजिक कसैले नखोकोस्। म हिँडको बाटोमा कसैले छतबाट पानी नफालोस्। हिँड्दा–हिँड्दै कुचो लगाएर धुलोले नपुरोस्।’
काठमाडौं बस्न लागेको तीन दशक नाघ्यो। यसबीचमा थुप्रै राजनीतिक, सामाजिक, आर्थिक उथलपुथल भए। प्रविधि र सञ्चारको क्षेत्रमा कल्पनै नगरेको उपलब्धि नेपालले हासिल गरिसक्यो। मोबाइल र इन्टरनेटको विकासले गाउँ–सहर सबैतिर ठूलो परिवर्तन ल्याएको छ। आज हामी विश्वको जुनसुकै कुनाको राजनीतिक, आर्थिक र व्यावसायिक पाटोलाई नजिकैबाट नियाल्न सक्ने भएका छौं।
संसारका प्रभावशाली व्यक्तित्वसँग सोझै सम्पर्क स्थापित गर्न, उनीहरूको अभिव्यक्तिमा आफ्नो दृष्टिकोण, धारणासमेत दिन सक्ने भएका छौं। घरमा बसीबसी प्राप्त गरेको यो उच्चतम प्राप्ति हो।
प्रविधिका नयाँ–नयाँ तरक्कीका कारण संसारले उपयोग गरेका, बुझेका राम्रा कुराहरू मनन गर्न पाएका छौं। अझै कति परिवर्तन हुने हो ? कति नयाँ प्रविधिहरू भित्रिएलान् ? कति नयाँ अवधारणाहरू बन्नेछन्् ? त्यसको हामी निरन्तर साक्षी बन्न सक्नेछौं। यो चानचुने कुरा होइन।
फेसन, फिल्म, गीत–संगीतको प्रभाव त यति चाँडो फैलिएको छ कि नेपाल भित्रिन अलिकति पनि समय लाग्दैन। सूचना र प्रविधिमा संसारसँग जोडिएको नेपालले हाम्रो हिमाल, संस्कृति, इतिहास, रीतिरिवाज, पर्यावरण र खानपानलाई संसारभर फैलाउन सकेको छैन। जसका कारण नेपालको आर्थिक रूपान्तरणमा खास योगदान पुग्न सम्भव छ।
अझै संसारभरबाट धेरै कुरा सिकिरहेका नेपालीले आफ्नै आचरण र बानी बेहोरालाई परिवर्तन गर्न नसक्दा विदेशीका सामु लज्जित हुनुपर्ने अवस्था छ। त्यसैले हामी धेरै कुरामा आफैं परिवर्तन हुन जरुरी छ।
मेरो विचारमा यस कारण हामी ‘मान्छे’ हुन सकेका छैनौं।
१. जथाभावी थुक्नु : सबैभन्दा पहिला हामी जथाभावी थुक्न छाडौं। साना नानीहरूलाई स्कुल लिएर जाने अभिभावकलाई देख्छु। बच्चाको सिँगान हातले पुछ्ने सडकमै फाल्ने, भित्तातिर दल्ने, आफैं सडकमा थुक्दै हिँडेपछि अब त्यो बच्चाले के जान्दछ ? हामीले बुझ्नुपर्छ हाम्रो शरीरबाट बाहिर निस्कने सबै फोहोर जथाभावी गर्न मिल्दैन।
यही कुरा तपाई हामीले आफ्ना सन्तानलाई सिकाउन ढिला भैसक्यो।
२. पालो कुर्ने : बस स्टपमा हामी कतै ‘क्यु’मा बस्दैनौं। रत्नपार्कको प्रहरी प्रभागको छेउमा लाम लाग्नुपर्ने अरू ठाउँमा जसरी चढे पनि हुने हो ?
कि हामीलाई पालो कुर्न पनि सधैं प्रहरी नै चाहिने हो ? किन हामी आफू पालो कुर्न सक्दैनौं ? अरूलाई प्राथमिकता दिन सक्दैनौं।
हामी नै यस्तो भएपछि हाम्रो सन्तानले बाइकमा पेट्रोल भर्ने बेला उ किन ‘क्यु’मा बसोस् ? सोझै लाइन मिचेर पुग्छ। सडकमा ठेलमठेल गरेर सवारी साधन चलाउनुभन्दा धैर्य गरेर चलाउनुस्। तपाईंंसँगै यात्रा गरेको तपाईंंको सन्तानले पनि त्यस्तै धैर्य गर्न सिक्छ। आफूले पनि पालो कुर्नुहोस् र आफ्ना सन्तानलाई पनि पालो कुर्न सिकाउनुहोस्।
३. फोहोर फाल्ने : गुड्का खायो खोल सडकमा फाल्यो। चुइगम, चकलेटको खोल सडकमा। सडक छेउका घरघरमा आफूलाई मनलाग्दो गरी विज्ञापन टाँस्यो। बिजुली र टेलिकमका पोलहरूमा जथाभावी पोस्टर टाँस्यो, फोहोर गरिदियो। यतिमात्र होइन, घरबाट बेलुका हतार हतार सडकमा लगेर फोहोर फाल्यो, लुसुक्क घर आयो। तपाईंंलाई लाग्छ, तपाईंको घर सफा भए पुग्छ। तपाईंलाई टोल समाज वा सडक सफा हुनु पटक्कै पदैन। चुरोट खायो जथाभावी फाल्यो। खैनी खायो खोल सडकमै मिल्कायो। अनि हामीलाई नै यो देश बिग्रिएकोमा चिन्ता छ। हैन ?
३. बाइकको अगाडि साना बालबालिका : बाइकमा बच्चालाई बोक्नु अगाडि सोच्नु भएको छ कदाचित दुर्घटना भएमा के होला ? अवोध नानीहरूलाई बाइकमा यात्रा गर्न चुपचाप समर्थन गर्ने हाम्रो ट्राफिक नियम पनि तत्काल परिमार्जन गर्न जरुरी छ। अझ रोचक कुरा त बाइकमा ३ जना चढ्न मिल्दैन तर बच्चा जति जना बोके पनि ट्राफिक प्रहरी नदेखेजस्तो गरिदिन्छन््। यो कस्तो नियम हो ? ट्राफिक महाशाखा र नेपाल प्रहरीलाई मेरो प्रश्न के साना नानीहरू मान्छे होइनन् ? के कारण दुईजनाभन्दा बढी चढ्न नमिल्ने वाइकमा साना नानीहरू बोक्दा तपाईंहरू चुपचाप ? अनि, जतिसुकै चिसो होस्, वाइकमा हामी साना नानीलाई राख्छौं।
अझै सबैभन्दा अगाडि। यो झनै ठूलो अपराध हो। हामीले जानीजानी उसलाई बिरामी बनाइरहेका छौं। एकातिर चिसोको डर त्योभन्दा ठूलो दुर्घटनाको डर।
६. धकेल्दै हिँड्ने : बाटो हिँड्ने ठाउँमा पछाडिबाट धकेल्दै हिँड्ने, भीडमा महिला, युवतीहरूलाई छोएर हिँड्ने आचरण छ भने हाम्रो यो जुनी खेर गैसकेको सम्झनुस्। अझ बस, ट्याम्पुमा युवतीलाई छुने, धक्का दिने गरेका थाहा पाउँदा साँच्चिकै दु:खले हृदय भरिन्छ। हामी कस्तो समाजमा छौं ?
७. बाटोमै पार्किड : हामीलाई यति हतार हुन्छ कि जता मन लाग्यो, त्यतै पार्किङ गरेर हिँड्ने। हामीले ध्यान दिनुपर्ने कुरा हाम्रो कारण अरूलाई हुने कष्ट र समस्याको ध्यान दिन हामी किन सक्दैनौं ?
८. जहाँ पनि बस स्टप : सार्वजनिक यातायात चलाउने चालक र त्यसका सहचालकहरू संयमित र विनम्र हुन जरुरी छ। उनीहरूलाई कसरी बोल्ने यात्रुहरूसँग कस्तो व्यवहार गर्ने विषयमा कुनै पनि सार्वजनिक सवारी संस्थाले तालिम दिएको मलाई याद छैन।
तर, दिनदिनै लाखौं नागरिकले यात्रा गर्ने सार्वजनिक यातायातको क्षेत्रलाई मर्यादित बनाउन पनि यस्ता तालिमको आवश्यकता भैसकेको छ। तालिमसँगै उनीहरूलाई बस स्टप बाहेक अरू ठाउँमा बस रोक्न नमिल्ने ज्ञान पनि दिनु जरुरी छ। जता मन लाग्यो त्यतै रोकेर यात्रु चढाउने र यात्रु ओराल्ने मात्र होइन, जहाँबाट पनि चढ्न र ओर्लिन खोज्ने यात्रुले पनि बुझ्नुप¥यो। बस स्टपभन्दा अन्यत्रबाट चढ्न र ओर्लिनु हुँदैन।
९. फुटपाथमै पसल: हिँड्नका लागि सहज बनाइएका फुटपाथमा हामी आफ्नो व्यवसाय चलाउँछौं। निर्माण सामग्री राखेर यात्रुलाई हैरान बनाउँछौं।
तपाईंलाई लाग्छ होला, त्यसो भए थोरै पुँजीबाट स्वरोजगार हुन खोज्नेलाई फुटपाथको विकल्प के हुन्छ त ? विकल्प चाहियो भन्नुहोला।
त्यसका लागि सम्बन्धित महानगरपालिका, नगरपालिका, वडा कार्यालयमा सम्पर्क राख्ने। र, उनीहरूले निर्धारण गरेको निश्चित समय र निश्चित ठाउँमा मात्र व्यवसाय गर्ने। सार्वजनिक रूपमा सडकपेटी कब्जा आफ्नो हितमा प्रयोग गर्नु किमार्थ स्वीकार्य हुँदैन।
१०. छिमेकीको दैलोमा कुकुरलाई शौच : हामी आफ्नो घरमा कुकुर पाल्छौं। कुकुरलाई शौच गराउन भने बाटो, पार्क वा छिमेकीको दैलोमा लैजाने गर्छौं। अब हामी नै आफूलाई महान् ठान्छौं। हामीले आफूलाई सम्भ्रान्त ठान्छौं।
११. बाइक, स्कुटरबाटै किनमेल : सहरका भित्री सडक छेउका पसलमा सामान किन्नु परे हामी बाइक, स्कुटरलाई पसलकै अगाडि लैजान्छौं। पसलेलाई त्यहींबाट सामान माग्छौं। हामीलाई अलिकति पनि हेक्का हुन्न हामीले बाटो छेक्नु हुन्न भनेर। अनि हामीलाई नै चाहिएको छ फराकिलो बाटो र अनुशासित चालक।
यसरी हेर्दा, हामीले पहिला आफ्नो आचरण परिवर्तन नगरी हाम्रो सुन्दर घर, सुन्दर समाजको सपना पूर्ण हुँदैन। हाम्रो टोल नगर सभ्य नभए पूरै देश कसरी सभ्य र सुसंस्कृत होला ? त्यसैले मेरो प्रार्थना पशुपतिनाथले सुनुन्– ‘हे पशुपतिनाथ हामीलाई मान्छे बनाउनुस्।’
प्रतिक्रिया दिनुहोस !