यस्तो भयो वर्ल्डलिंक र मेरो सातवर्षे सम्बन्ध

यस्तो भयो वर्ल्डलिंक र मेरो सातवर्षे सम्बन्ध

पहिलोपटक इन्टरनेट के रहेछ भनेर मैले थाहा पाएको ६२/६३ को जनआन्दोलताका हो । फोनको लाइन डेस्कटप कम्प्युटरमा जोडेर, बुवालाई थाहा नदिई उहाँको 'डायल अप'को युजरनेम र पासवर्ड पत्ता लगाएर, याहु र हटमेल चलाएको दिन अहिले पनि ताजै छ । म सातआठ कक्षामा अध्ययन गर्ने विद्यार्थी । धेरै अनलाइनमा च्याट एप्लिकेसन चलाउँदा बिग्रिएला कि छोरा भनेर होला, इन्टरनेट चलाउने कुरामा बुवा कडाइ गर्नुहुन्थ्यो ।

त्यो बेलाको बालमन आफ्नै राम्रोका लागि भए पनि के मान्थ्यो ? घरमा कोही नभएको समय पारेर एकदुई घन्टा लगाएर पहिलो याहु ईमेल आईडी बनाएको र त्यस समयमा टेलिफोनको बिल मज्जाले उठाएको सम्झँदा आज पनि हाँसो लाग्छ । लुकीछिपी गर्दै इन्टरनेट यसरी नै चलाउँदै गइयो ।

सन् २००९ मा पहिलोपटक मेरै लागि भनेर घरमा इन्टरनेट जोडियो, त्यो पनि वायरलेस सेवा । इन्टरनेट सेवा प्रदायक कम्पनी थियो 'वर्ल्डलिंक' । खुट्टा भुइँमै भएन । युट्युब चलाउन पाएपछि केही खान पनि नपर्ने ! दिन बितेको पत्तै हुन छाड्यो । कम्प्युटरमा बसेपछि, अरू कुरामा ध्यानै नजाने । यसरी रुचि नै 'वेब र टेक्नोलोजी'मा बस्न पुग्यो ।

अन्ततः काठमाडौं विश्वविद्यालयमा कम्प्युटर इन्जिनियरिङ पढेर सकेँ । इन्जिनियरिङ पढ्ने समयमा धेरैजसो समय 'नेटवर्किङ'तिरै ध्यान केन्द्रित गरेँ । घर आउँदा त्यही इन्टरनेट प्रयोग गर्थें । छोटो बिदामा इन्टरनेट स्लो हुँदा खासै ध्यान दिन जरुरी ठानिनँ । 'वर्ल्डलिंक'को ग्राहक सेवा एकदमै राम्रो थियो ।

वर्ल्डलिंक प्रयोगकर्ताका समस्या

वायरलेस सेवामा धेरैजसो समस्या देखिने गर्छ । एक समय, वायरलेस डिभाइस फेर्नुपर्ने भएको रहेछ । वर्ल्डलिंकका मान्छे आएर फेरिदिए । कहिलेकाहीँ इन्टरनेट साह्रै स्लो भएको खण्डमा वर्ल्डलिंक सपोर्टमा एक फोन गरेको भरमा समस्या समाधान हुन्थ्यो । सेवा र ग्राहक सपोर्ट देखेर छिमेकका केही घरले पनि वर्ल्डलिंकको इन्टरनेट जडान गरे ।

इन्जिनियरिङ सकेर जब घर बस्ने दिन आए, तब सुरु भए वर्ल्डलिंकसँग इन्टरनेट स्लो भएको दुखेसो पोख्ने मौका । मैले '१०२४ केबीपीएस'को इन्टरनेट प्याकेज लिएको थिएँ । प्राविधिक रूपले भन्नुपर्दा, वायरलेस सेवामा भएकाले तोकेको जति इन्टरनेट स्पिड अवश्य आउँदैन ।

तर, '१०२४ केबीपीएस'को प्याकेज लिएको ग्राहकले आठ सयदेखि नौ सय केबीपीएस आशा गर्न पाउँछ । म पनि आठ सय केबीपीएसजति स्पिडमा इन्टरनेट चलिदिए सन्तुष्ट नहुने कुरै थिएन । तर, त्यसो भएन । चार सयदेखि पाँचसय केबीपीएसमात्र थियो । तोकेको स्पिडभन्दा पचास प्रतिशत कम । कुनै समय त, स्पिड घटेर ५० देखि एक सय ५० केबीपीएस पुग्थ्यो, साह्रै दिक्क लाग्थ्यो । पाँच सय केबीपीएसभन्दा माथि स्पिड गएको मैले कहिल्यै देखिनँ । काम धेरैजसो इन्टरनेटमै हुन्थ्यो ।

वर्ल्डलिंकको वेबसाइट र मोबाइल एप्पदेखि सबैतिर समस्याबारे जानकारी गराउँथेँ । जानकारी दिएको केही समयपछि नै वर्ल्डलिंकबाट फोन आउँथ्यो र 'राउटर' बन्द गरेर फेरि सुचारु गर्न अथवा इन्टरनेट कनेक्सन री डायल गर्न लगाइन्थ्यो । सधैं यस्तै भइरह्यो ।

अन्ततः एक दिन मलाई वर्ल्डलिंक कालीमाटी शाखादेखि फोनमा भनियो, 'वायरलेस सेवाका प्रयोगकर्ता कम छन्, तपाईंको समस्या समाधान गर्न अहिले जडान गरिएको वायरलेस डिभाइस फेर्नुपर्ने देखिन्छ, जुन हामीसँग उपलब्ध छैन । तपाईं फाइबर सेवा प्रयोग गर्नुहोस्, समस्या हुनेछैन ।'

मलाई पनि यो उपाय ठीक लाग्यो र वर्ल्डलिंकको कार्यालय पुगेर ठेगाना र समस्याबारे बताएँ । फाइबर जोड्न भनेर केही दिनपछि वर्ल्डलिंकबाट कर्मचारी आए । केही बेरको अवलोकनपछि, यहाँ 'बक्स' सायद स्प्लिटर होला खाली छैन, यस ठाउँको 'जीपीएस लोकेसन' रिपोर्ट गरिदिएका छौं, अर्को हप्तासम्म नयाँ बक्स हालेपछि तपाईंकहाँ फाइबर जडान गर्नेछौं, अहिले तपाईंले एकपटक कम्प्लेन गर्नु यसबारे, अलि छिटो हुनसक्छ', भनेर उनीहरू फिर्ता भए ।

मैले पनि एक दुईपटक वर्ल्डलिंकमा फोन गरेर गुनासो राखेँ । एक हप्तापछि फेरि गुनासो राख्दा अझै एकदुई महिना समय लाग्नसक्ने र निश्चित नभएको जवाफ आयो ।

दुःख लाग्यो । म एक्लो ग्राहकको समस्या भएर त होला नि, वर्ल्डलिंकले मेरो गुनासो नसुनेको । बुझ्नुपर्ने कुरा भनेको ग्राहकको गुनासो सुनेर त्यस समस्याको समाधान दिने वा यसो गर्दा ठीक होला भनेर सुझाव दिने कम्पनी हामीले छान्नुपर्दो रहेछ । वर्ल्डलिंकले न मेरो समस्या समाधान गरिदियो; न त हामी सक्दैनौं, कृपया अर्कै इन्टरनेट सेवाप्रदायक कम्पनी छान्नुहोस् भन्यो ।

ट्वीटर-@RlamsalNP

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.