सालको वैज्ञानिक व्यवस्थापन 

सालको वैज्ञानिक व्यवस्थापन 

तीन चार दशकअगाडि प्रचलनमा रहेको ‘हरियो वन, नेपालको धन' आह्वान आजकल असान्दर्भिक जस्तै बन्दै गएको छ । नेपालबाट विदेश निर्यातसमेत हुने गरेको काष्ठजन्य पदार्थ हाल प्रतिवर्ष ४० अर्बभन्दा बढीको मलेसिया, भियतनाम, इन्डोनेसियालगायतका देशबाट आयात भइरहेको तथ्यांक छ । अर्कोतिर हाम्रो आफ्नै देशमा उत्पादन भइरहेको काष्ठजन्य वनसम्पदा डँढेलोमा जल्ने, धोद्रो हुने र सडेर गल्ने गरेको छ । अझै निर्यात गर्न सक्ने सामथ्र्य हुँदाहुँदै हाम्रै व्यवस्थापनको कमजोरीका कारणले विदेशी मुद्रा खर्चेर पैठारी गर्नुपर्ने स्थितिमा हामी रहेका छौँ ।

झ्यालढोकाको निर्माण, फर्निचर तथा अन्य घरायसी प्रयोजनका लागि अरू जातका काठभन्दा सालको काठ अत्यन्तै गुणस्तरको मानिन्छ । यो प्रजातिको रूख उष्ण तथा समशितोष्ण हावापानीमा समुद्री सतहदेखि १५ सय मिटरको उचाइसम्म अत्यन्तै प्रभावशाली हुन्छ । यसको बहुआयामिक विशेषताहरूलाई हेर्ने हो भने साल प्रकृतिको वरदान नै हो । सालको बारेमा कहावत नै छ, ‘सय वर्ष खडा, सय वर्ष लडा, सय वर्ष पडा । साल कति मजबुत छ भन्ने कुरा यसैले पुष्टि हुन्छ ।

सालको जंगल अत्यन्तै घना रूपले विकसित हुन सक्ने, थोरै आकाशछत्र ढाके पनि हुने र औसत उचाइ ३०-५० मिटर र व्यास ३-३.५ मिटरसम्म रहेको पाइन्छ । यसको वन स्वतः पुनरुत्पादित भइराख्ने हुन्छ । बीउ या जराबाट पलाउने मुना बाट । सालको बिरुवामा डँढेलो तथा रोगहरूसँग अत्यन्तै प्रतिरोध गर्न सक्ने क्षमताको हुन्छ । जरामाथिको भाग मरेर गएजस्तो देखिए पनि पुनः दुईतीन वर्षपछि नयाँ मुना पलाएर लक्षित उचाइ कायम गर्न सक्ने क्षमता राख्दछ । जसलाई डाई ब्याक सिस्टम भनिन्छ । तराईको चारकोसे जंगललाई अतिक्रमणबाट बचाउनमात्र सके पुनः सालको घना जंगल पुनस्र्थापित हुन सक्छ ।

यसको बिरुवा हुर्काउन जान्दा अत्यन्तै सजिलो, नजान्दा अत्यन्तै गाह्रो हुन्छ । बीउ पाकेर बोटबाट झरेको एक हप्तासम्म यसको उमारशक्ति जीवित रहन्छ । बीउलाई खुल्ला हावायुक्त अवस्थामा रहन दिनुपर्छ । जमिनमुनि खनेर रोपेको स्थितिमा बीउ उम्रने क्षमता शून्य प्रायः हुन्छ । जमिनमाथि त्यत्तिकै रहन दिएमा वा छरेमा र एक हप्ताभित्र उचित वर्षा भएमा ९० प्रतिशतभन्दा बढी उमार क्षमता हुन्छ । जमिनमा उम्रिएको बिरुवा उखालेर अर्को स्थानमा सार्दा यो सर्न सक्तैन । सालको बीउ जेठ पहिलो हप्तादेखि असार पहिलो हप्तासम्म परिपक्व हुन्छ । सालको बीउ ब्याडमिन्टन र्‍याकेट जस्तो प्वाँखदार हुने भएकोले हावाको झोंकाले सयौं मिटर टाढासम्म पुर्‍याउँछ । यसको फैलावट टाढाटाढासम्म हुन पुग्छ ।

 वातावरणीय तथा आम्दानीका हिसाबले अत्यन्तै बहुउपयोगी सालको वैज्ञानिक तरिकाले चाँडो व्यवस्थापन गर्नु जरुरी भइसकेको छ । वनमा लडेका, बुढो भई मरेका तथा उमेर पुगेका रूखलाई चाँडो आधुनिक उपकरणको प्रयोग गरी निकाल्नु पर्दछ ।

सालको बेर्नाको काण्ड जति जमिन माथि हुन्छ त्यसको जरा हाराहारी अनुपातमा जमिनमुनि जान्छ । जराको गहिरोपना र बिरुवाको बाक्लोपनको कारणले रूख सुरिलो भएर जाने र कम आकाशछत्र ढाक्ने गर्दछ । यसको बोक्रा एकदम बाक्लो र रसिलो हुने भएकोले डँढेकोले खान नसक्ने खालको हुन्छ । साल ढिलो बढ्छ र धेरै वर्षसम्म बाँच्न सक्छ भने यसको बायोमास उत्पादन पनि उच्च छ । अझ नेपालमा यसको उचाइ ४५ मिटर, मूल डाँठ उचाइ २५ मिटर र घेराको नाप ८ मिटरसम्म भेटिएको छ । काठमाडौंको हनुमानढोकास्थित काष्ठमण्डपको भवन एउटै सालको रूखबाट बनेको भन्ने कुरा सत्य रहेछ भन्न सकिन्छ ।

साल नदीको बाडले छोडेर गएको माटो वा बलौटे दोमट माटोमा राम्ररी सप्रन्छ । उष्ण हावापानी तथा वार्षिक औसत हजार मिमिदेखि दुई हजार मिमि वर्षा हुने क्षेत्रमा यसको वृद्धि राम्रो भएको पाइन्छ । साल एक बहुउपयोगी वनस्पतिमा पर्दछ । विशेषतः काठको निम्ति अत्यन्तै बहुमूल्य मानिन्छ । धमिरा नलाग्ने, अत्यन्तै कडा, नसड्ने, पानीले नखाने भएकाले घरका खाँवा, झ्याल, ढोका, दलिनका साथै फर्निचरहरूमा समेत प्रयोग गरिन्छ ।

विशेषता र फाइदा

सालको वन आफैं रिजेनेरेट हुने भएकोले बिरुवा रोप्ने, गोडमेल गर्ने, हेरचाह गर्ने झन्झट हुँदैन । राज्यको दिगो आयस्रोतको बाटो बन्न सक्छ । पात, बोक्रा र बीउ कुहिएर माटो क्रमशः मलिलो भई पानी थाम्न सक्ने क्षमता वृद्धि हुन्छ । खोलानाला, खोल्सी, नदीमा पानीको वहाव बढ्न गई तल्लो क्षेत्रको भूभाग मलिलो, रसिलो हुनाले उत्पादकत्वमा वृद्धि हुन जान्छ । वर्षा र सालको बीचमा अन्योन्यास्रित सम्बन्ध छ । वर्षात् बढी हुने क्षेत्रमा सालको वृद्धि चाँडो हुन्छ भने यसको घना वन क्षेत्र रहेको स्थानमा जलवाष्प चिस्याउने क्षमता बढी हुने भएकाले वर्षात् पनि ज्यादा हुन्छ । सालको पातमा पोषक तत्व बढी हुने भएकोले सूक्ष्म जीवाणु, चराचुरुंगीलगायत अन्य जीवहरूको गतिविधि बढ्न गई इकोसिस्टममा अनुकूल प्रभाव पर्दछ । साल वनले प्रतिवर्ष प्रतिहेक्टर १० टन कार्वन सञ्चिति गर्न मद्दत पुर्‍याउँछ । अरू वनले सञ्चित गर्ने मात्रा भन्दा ज्यादा हो ।

साल वन व्यवस्थापन

वातावरणीय तथा आम्दानीका हिसाबले अत्यन्तै बहुउपयोगी सालको वैज्ञानिक तरिकाले चाँडो व्यवस्थापन गर्नु जरुरी भइसकेको छ । वनमा लडेका, बुढो भई मरेका तथा उमेर पुगेका रूखलाई चाँडो आधुनिक उपकरणको प्रयोग गरी निकाल्नु पर्दछ । लगभग ६०-७० वर्षभन्दा बढी उमेरको भएपछि भित्री भागबाट प्वाल पस्न सुरु हुनुका साथै वृद्धि पनि खासै नहुने भएकोले तिनीहरूलाई अनिवार्य रूपमा निकाल्नु पर्दछ । लामो समयसम्म साल नकुहिने भएकोले नयाँ बिरुवाको विकासमा प्रतिकूल असर गर्नुका साथै आफैं लड्ने सालको रूखले अरू धेरै बिरुवालाई समेत असर पुर्‍याउन सक्छ । बाढी, पहिरो र भूक्षयका साथै तराईलाई मरुभूमीकरण हुनबाट जोगाउन चुरे क्षेत्रमा यसको विशेष संरक्षण योजना कार्यान्वयनमा ल्याउनु जरुरी भइसकेको छ । सोही उद्देश्यलाई लक्षित गर्दै आएको राष्ट्रपति चुरे संरक्षण परियोजनाले पनि आशातीत सफलता हासिल गर्न सकेको छैन ।

निजी क्षेत्रको सहभागिता

वनको संरक्षण र व्यवस्थापनमा जनताको प्रत्यक्ष सहभागिता तथा निजी क्षेत्रको संलग्नता हुनु जरुरी छ । अरू बिरुवाभन्दा ढिलो बढ्ने भए पनि उत्पादकत्वका हिसाबले साल अत्यन्तै फाइदाजनक मानिन्छ । एक बिरुवादेखि अर्को बिरुवाको दूरी कम भए पनि वृद्धि हुन सक्ने, जति बाक्लो भयो त्यति नै सुरिलो भएर जाने हुनाले थोरै जमिनमा धेरै बिरुवा अट्ने र बढ्न सक्ने हुन्छ । एक बिरुवादेखि अर्को बिरुवाको दूरी १० फिटमा रोप्ने हो भने प्रतिबिघा कम्तीमा एक हजार बिरुवासम्म अट्न सक्छ ।

करिब ५० वर्षमा वयस्क हुँदा आजको मूल्यमा कम्तीमा ५० हजार रुपैयाँको मूल्यमा बिक्री हुन सक्छ । प्रतिवर्ष प्रतिबिघा जमिनको उत्पादकत्व १० लाख रुपैयाँसम्म हुनसक्छ । तुलनात्मक रूपमा यो अरू खेतीभन्दा ज्यादै लाभदायक देखिन्छ । यस किसिमका बिरुवा लगाउन आम नागरिक तथा निजी क्षेत्रलाई समेत आकर्षित गर्नुपर्दछ र दिगो व्यावसायिक खेतीको रूपमा विकसित गर्नुपर्दछ ।

वैज्ञानिक वन व्यवस्थापन

सामाजिक, आर्थिक तथा वातावरणीय हिसाबले उपयुक्त तथा वनले उत्पादन गर्ने वस्तुको निरन्तरताको सुनिश्चिततासहितको वन व्यवस्थापन नै वैज्ञानिक वन व्यवस्थापन हो । नेपालको कुल क्षेत्रफलको करिब ४५ प्रतिशत भूभाग वन क्षेत्रले ओगटेको भए पनि राष्ट्रिय आयमा आशातीत योगदान दिन सकेको छैन । उचित व्यवस्थापन गर्न सके स्थानीय तथा राष्ट्रियस्तरमा काठ तथा दाउराको सहज आपूर्तिका साथै राजस्वमा अनुमानित एक खर्बबराबरको योगदान पुग्ने छ । यसले पाँच लाखदेखि १३ लाखसम्म रोजगारी सिर्जना हुन सक्ने देखिन्छ ।

राष्ट्रिय वन नीति, २०३३ ले वनसम्बन्धी धेरै विषयवस्तु समेटे पनि वैज्ञानिक वन व्यवस्थापनसम्बन्धी उपर्युक्त सोच दिन सकेन । वन व्यवस्थापन गुरुयोजना, २०४६ ले पनि केही प्राथमिकताहरू तोकी कार्यक्रम सञ्चालन गरे पनि वैज्ञानिक वन व्यवस्थापनलाई समेट्न सकेको देखिँदैन । वन ऐन, २०४९ तथा नियमावली, २०५१ ले जिल्ला वन कार्यालय तथा सामुदायिक वनहरूलाई नै तिनीहरूको उचित व्यवस्थापन गर्ने जिम्मेवारी दिएको देखिन्छ ।

वैज्ञानिक वन व्यवस्थापनले व्यवस्थापनमा दूरदृष्टि राख्ने, उद्देश्य प्राप्तिका निम्ति रणनीति बनाउने र नतिजा निर्धारण गर्नुका साथै वनको मौज्दात विश्लेषण, वार्षिक रूपमा उत्पादन हुने काठ दाउराको परिमाण निर्धारण तथा आर्थिक, सामाजिक तथ्यांक संकलन र विश्लेषण गर्न सकिन्छ । भू-उपग्रहको माध्यमबाट खिचिएका तस्बिरहरूको उपयोग गरी वन क्षेत्रको प्रजातिगत नक्सांकन गरी दिगो वन व्यवस्थापन गर्न सकिन्छ । वन संवद्र्धन प्रणालीद्वारा वनमा रहेका परिपक्व रूखहरूलाई हटाई नयाँ बिरुवाले प्रतिस्थापन गराउनु पर्दछ ।

बीचबीचमा बढी हाँगाहरू भएको वयस्क रूखलाई माउ रूखको रूपमा त्यत्तिकै छोडिदिएमा केही वर्ष पछि खालि भएको ठाउँमा पुनः घनाजंगलको सिर्जना हुन जान्छ । वन व्यवस्थापन गर्ने विधि अपनाउन सके राष्ट्रिय आयमा भरपर्दो टेवा हुन सक्ने देखिन्छ ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.