जहाज किनिदिने नेपाली
विजय लामाको फेसबुक र नेपालीले नै जहाज किनिदिने विषय अहिले चर्चाको शिखरमा छ । सफरमा उकालो कठिन नै हुन्छ । तर जसले सर्वोच्च शिखर आफ्नो गन्तव्य ठानेको हुन्छ त्यस्तालाई उकालोको के डर । आरएनएसीको स्थापना १९५८ जुलाईमा भएको थियो । एउटा डकोटा (डि.सी–३) बाट आफ्नो उडान सेवा सुरु गर्दै थुप्रै डकोटा, चाइनिज फोङ्सो, पिलाटस् पोर्टस, फोकर (एफ–२७), एभ्रो (एच.एस–७४८), टिवन अर्टर, बोइङ ७२७ तथा बोइङ ७५७ यी तमाम विमान एकै दिनमा किनिएका होइनन् ।
एकएक पाइला दृढतापूर्वक टेक्दै शिखरमा पुग्ने अभियानमा जस्तोसुकै आँधिबेहेरी तथा कठिनाइको सामना गर्दै अगाडि बढी नै रह्यो । सुरुसुरुका दिनमा विदेशी पाइलट तथा इन्जिनियर टेक्निसियनलाई विस्थापित गर्दै निगम पूर्णरूपले, मात्र नेपाली जनशक्तिद्वारा परिचालित भयो । निगमको व्यवस्थापनमा पनि नेपाली ल्याकत र तागतको प्रदर्शन सन्तोषजनक रूपले अगाडि बढी नै रह्यो ।
निगमलाई पहाडी दुर्गम क्षेत्रको विकासका निमित्त वरदान सावित हुने ट्विन अटर सेवा सुरु गर्ने र डकोटा युगबाट बोइङ ७२७ को जेट विमानको युगमा प्रवेश गराउने छोटो समयका निमित्त आएको फ्रेन्च व्यवस्थापनलाई न नेपालीले बिर्सन सक्छ न राष्ट्रले । कल्पनाको उडानका निमित्त स्रोत तथा साधनको उचित व्यवस्थापन भइदिने हो भने नेपालीले के गर्न सक्दैन, कहाँमात्र पुग्न सक्दैन र ? दूरमा पटना र दिल्लीबाट उडान सुरु गरेको निगम कलकत्ता, ढाका, श्रीलंका, माल्दिभ्स, वर्मा, बैंकक, सिंगापुर, हङ्कङ, सांघाइ (चीन), जापान, कराँची, दुबइ, जर्मनी, बेलायत र फ्रान्समा नियमित सेवा सञ्चालन गर्दथ्यो ।
अफ्रिकी देश हरारे, जापानको फुकुओका जस्तै अन्य थुप्रै गन्तव्यमा चार्टर्ड उडान गर्दथ्यो । यतिले मात्र नपुगेर संयुक्त राष्ट्रसंघ (यूएन) का निमित्त सैनिक ओसारपसार गर्न चार्टर्ड गरिएका निगमका विमान ग्रीस हुँदै इजरायलको तेल अभिवसम्म उड्न भ्याउँथ्यो । निगमको सिंगापुर हुँदै अस्ट्रेलियाको सिड्नीसम्म पुग्ने उडान योजना निगमका तिनताकका प्रबन्धकहरूको संकीर्णता (पाइलटले प्राप्त गर्ने डलर भत्ता तथा बस्ने पाँचतारे होटल) को खर्चको राप सहन नसक्दा तुहिन पुगेको थियो ।
अझ साउदी अरेवियाले निगमकै विमान तथा पाइलटहरूद्वारा आफ्नो रियाद–काठमाडौं उडान सञ्चालन गर्न गरिएको अनुरोध नेपाली पाइट साउदीले लगिदेला भन्ने डरका कारण व्यवस्थापनले मञ्जुर गरेन । यसरी संस्थापन पक्षको अदूरदर्शिताका कारण निगम विश्वबजारमा छलाङ लगाउनबाट वञ्चित भयो । निगम आफ्नै बलबुतामा कहाँसम्म पुग्न सफल भयो, कहाँसम्म पुग्न सक्थ्यो तथा निगमको अवनति कहाँबाट सुरु भयो त्यो प्रत्येक नेपालीले जान्नैपर्ने यथार्थ हो ।
निगमले २८ वर्ष पश्चात् २०७१ माघ र २०७२ वैशाखमा भित्रएका आफ्ना दुइटा एयरबस ३२० विमानद्वारा सञ्चालित उडान ९८ प्रतिशत सफलतापूर्वक भएको तथ्य बजारमा आएको छ । छिट्टै दुइटा लामो दुरीका अन्तर्राष्ट्रिय उडान गर्ने वाइड बडी जहाज एयरबस ३३० पनि ल्याउने निगमको योजना छ । योजनाकै कुरा गर्ने हो भने १९८७ र १९८८ मा दुइटा अत्याधुनिक बोइङ ७५७ विमान भित्र्याउँदा नै १९९२ सम्ममा निगमले वाइड बडी बोइङ ७६७ भित्र्याएर आफ्नो सेवा बेलायत वा जर्मनीहुँदै सोझै अमेरिका पुर्याउने लक्ष्य थियो ।
तर २०४७ पछि चलेको ब्रम्हलुटको सिलसिलाले देशमा स्थापित उद्योगधन्दा मात्र हैन अपितु उड्दा उड्दैका जहाज बेचिन पुगे । निगमको दोहनको सिलसिला लामो समयसम्म १८÷१९ औं पटक भाडामा विदेसी जहाज भित्र्याएर कायम रह्यो । जसको दुश्परिणाम निगमले मात्र हैन देशको सम्पूर्ण पर्यटन क्षेत्रले भोग्नुपर्यो ।
यसै सिलसिलमा पंक्तिकारको एउटा अनुभव यहाँ उल्लेख गर्नु सान्दर्भिक होला । बोइङ विमानमा मनोरञ्जनका साधन (अडियो, भिडियो वा म्युजिक) हरू नभएकाले म फ्लाइटमा इच्छुक यात्रुगणलाई ककपिट (उडान कक्ष) मा आएर अवलोकन गर्न अनुमति दिने गर्दथें । यसै सिलसिलामा एक ख्यातिप्राप्त होटेल सञ्चालकलाई ककपिटमा बस्ने अनुमति दिएको थिएँ ।
कुराको सिलसिलामा मैले उहाँलाई आग्रह गरें, 'निगमले आफ्नो योजनाअनुरूप वाइड वडी विमान (बोईङ ७६७) ल्याउन सकेको छैन, जसले गर्दा लामो दूरीका हाम्रा उडान जस्तै, बेलायत, जर्मन, फ्रान्स तथा अमेरिका पुग्ने लक्षसमेत प्रभावित भएका छन् । तपाइँ होटेल व्यवसायी सबै मिलेर एउटा बोइङ ७६७ विमान मात्र किनिदिनुभयो भने देशको पर्यटन क्षेत्रले फड्को त मार्ने नै थियो साथसाथै पर्यटकको वृद्धिबाट होटेल व्यवसायीसमेत लाभान्वित हुने थिए ।'
मेरो आग्रह उनले चाखपूर्वक सुने तर त्यस दिशामा होटेल व्यवसायी धनाड्यले कहिल्यै कुनै रूची देखाएनन् । देखाएको भए आज प्राप्त गरेको ९८ प्रतिशत सफलता उहिले नै प्राप्त हुने थियो । निगमको आधुनिक जहाजको उक्त आवश्यकता पूर्ति भएको भए निगममा जहाज आज रातोदिन संसारको प्रत्येक कुनाकुनामा देखिन्थे । दुर्भाग्य हाम्रा होटेल भर्न पर्यटक जहाजबाट आउँछन् त्यसमा पनि उही देशको विमानद्वारा नै भित्रिने इच्छा प्रकट गर्छन् भन्ने यथार्थ होटेल व्यवसायीको सोचमा कहिल्यै आएन ।
विजय लामा एउटा कुशल पाइलट मात्रै नभई बहुआयामिक प्रतिभाका धनी पनि हुन् । टेलिभिजन, प्रिन्ट मिडिया, अनलाइन, चलचित्र ( हलिउडसम्म ) विज्ञापन तथा अनेकन विषयमा छाइरहन्छन् । सबैभन्दा महत्त्वपूर्ण, नेपाली राष्ट्रियताका विषयमा उनका अभिव्यक्ति तथा राजनीतिज्ञका गलत राजनीतिप्रति उनको बेलाबेलामा आउने प्रतिरोधात्मक शब्दले फेसबुकमा धेरैलाई प्रभावित पारिरहेको हुन्छ ।
वर्षौंपछि नेपाल वायुसेवाको स्थगित पहिलो दुवई उडानमा भरिभराउ यात्रु र नेपालको झन्डाअंकित निगमको जहाज देख्नेबित्तिकै आत्मविभोर नेपाली जनसमूहको उर्लेको आत्मीयताले एकपटक फेरि नेपाल वायुसेवा निगमलाई चर्चामा ल्यायो । फेसबुकमा एकजना पाका नेपाली बसेको जहाजको सिटका पछाडि उभिएको विजय लामा (उक्त विमानकै पाइलट) को फेसबुकमा आएको फोटो र उक्त यात्रुको अभिव्यक्ति थियो, 'बाबु यो जहाज किन्न कति पैसा पर्ला, यसरी आफ्नै देशको जहाज नियमित रूपले हामी नेपालीले चढ्न पाउने हो भने पचासौं लाख हामी यता काम गर्ने नेपाली मिलेर किनिदिउँला नि यस्ता जहाज' भनेको कुरा फेसबुकमा भाइरल भयो ।
तत्पश्चात विभिन्न मुलुक, साउदी अरब, मलेसिया, कोरिया, जापान आदि धेरै मुलुकमा काम गर्नेहरूले एउटै कुरा राखे आफ्नो कमेन्टमा, जहाज दुबइ मात्र किन, हामी बसेको मलेसिया, कोरिया, जापान आदिमा पनि सेवा विस्तार गर्ने हो भने पैसा उठाएर निगमलाई जहाज हामी पनि किनिदिन सक्छौं भन्ने अभिव्यक्तिले मोबाइल भरियो । यतिले मात्र नपुगेर कठिन परि श्रम बेचेर केही पैसा कमाउन सफल नेपाली देशका निमित्त आफ्नो पेट काटेर भए पनि केही योगदान गर्न वा लगानी गर्न उद्यत छन् ।
धनाड्य अरबपति, खरबपति तथा विश्वमै धनीमानीमा दरिन सफलको नेपालमा कमी छैन, तर विजय लामाले फेसबुकमा राखेको एक नेपालीको फोटो र उनको विचार (जहाज किनिदिने) लाई फलो गर्ने हजारौं परि श्रमी नेपालीको सपना कसरी, कहिले र कुन रूपमा पूरा हुने हो त्यो आसमा विदेशी भूमिमा रगतपसिना बगाउने नेपाली कतिन्जेल बस्नुपर्ने हो कसैलाई थाहा छैन ।