चलचित्र छायांकनको हब मकवानपुर 

 चलचित्र छायांकनको हब मकवानपुर 

हेटौंडाः एक वर्षयता मकवानपुरमा बाह्रै महिना चलचित्र छायांकन हुन थालेका छन् । वर्षमा एकदुईवटा चलचित्रका केही अंशमात्र छायांकन हुने मकवानपुरमा प्रत्येक महिना चलचित्र छायांकन हुन थालेको हो । निर्देशकको रोजाइमा परेको मकवानपुर क्रमशः चलचित्र छायांकनको हब बन्दै गएको छ । मकवानपुरमा यतिखेर एकसाथ दुईवटा चलचित्र छायांकन भइरहेका छन् । चारवटा चलचित्रको भर्खरै छायांकन सकिएको चलचित्र विकास बोर्डका सदस्य तथा चलचित्र निर्माता नरेन्द्र महर्जनले बताए ।

आशीष भेटवालद्वारा निर्देशित चलचित्र ‘हिरो रिटन्र्स’, अमरदीप सापकोटाद्वारा निर्देशित चलचित्र ‘कारखाना’को हेटौंडामा छायांकन भइरहेको उनले बताए । हिरो रिटन्र्समा सबिन श्रेष्ठ, रेखा थापा, सरोज खनाल, सुशान्त श्रेष्ठलगायतका कलाकार अभिनयमा छन् । कारखानामा सुशील श्रेष्ठ, वर्षा शिवाकोटीलगायत कलाकारले अभिनय गरिरहेका छन् ।

यसअघि हेटौंडाका निर्माता सहदेव गौतमको चलचित्र ‘चर्खा’, सुस्मिता केसीको चलचित्र ‘म तिम्रै हुँ’, राजेन्द्र गौतमले निर्माण गरेको चलचित्र ‘ड्राइभर दाइ’ र नरेन्द्र महर्जनले निर्माण गरेको चलचित्र ‘संरक्षण’को अधिकांश भाग छायांकन भएको थियो ।

मकवानपुर काठमाडौंबाट नजिक र पर्याप्त रमणीय स्थल भएकाले चलचित्र छायांकनका लागि चलचित्रकर्मीको रोजाइमा पर्न थालेको हेटौंडेली कलाकार सुशान्त श्रेष्ठले बताए । ‘पछिल्लो समय निर्माण भएका चलचित्रहरूको थोरै भाग भए पनि मकवानपुरमा छायांकन हुने गरेको छ’, उनले भने, ‘यसले स्थानीयस्तरमा कलाकार उत्पादनमा पनि सहयोग पुयाएको छ ।’

मकवानपुरको ऐतिहासिक मकवानपुरगढी, चिसापानीगढी, सहिद स्मारक, पुण्य क्षेत्र, बनस्खण्डी, पुष्पलाल पार्क, चित्लाङको भेडा फर्म, दामन, गुम्बाडाँडा, उत्तरी क्षेत्रमा रहेका होमस्टेहरू र प्राकृतिक तालमा चलचित्र बढी छायांकन हुने गरेको जिल्ला पर्यटन विकास समितिका सचिव रामकृष्ण थापाले बताए । ‘चलचित्र छायांकनको क्रम बढेपछि जिल्लाको प्रचारप्रसारसँगै पर्यटन प्रवद्र्धनमा पनि सहयोग पुगेको छ’, उनले भने । चलचित्र छायांकनको क्रम बढेकाले केही समयपछि छायांकनमा शुल्क लगाउने तयारी गरिएको थापाले जानकारी दिए ।

मकवानपुरमा चलचित्र छायांकनको क्रम बढेपछि यहाँका होटल व्यवसायी पनि उत्साहित भएका छन् । ‘चलचित्र छायांकन टोलीलाई अन्य ग्राहकलाई भन्दा सहुलियत दरमा खानेबस्ने सुविधा दिएका छौं’, होटल एसोसिएसन मकवानपुरका अध्यक्ष भागीरथ शर्माले भने ।

 


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.