‘आँसुको शक्ति’मा भक्कानिए ओली 

‘आँसुको शक्ति’मा भक्कानिए ओली 

काठमाडौः एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली बोल्दाबोल्दै रोकिए । एकपटक पुलुक्क सुनीता दनुवारतिर हेरे । पुनः रोस्ट्रमतिर मुन्टो घुमाउँदै भने, ‘म त्यति भावुक भइहाल्ने मान्छे त होइन तर यो पुस्तक पढिरहँदा रोकिनु पर्‍यो ।’

राजधानीको अन्नपूर्ण होटलमा लेखिका सुनीता दनुवारको पुस्तक लोकार्पणमा प्रमुख निम्तालु ओलीले थपे, ‘आँसुको शक्ति एकजनाको कथाका रूपमा आए पनि यसभित्र मैले हजार छोरीचेलीका व्यथा र पीडा पाएको छु ।’

ओलीले कार्यव्यस्तताका कारण पुस्तक सांगोपांगो पढ्न नपाउँदै कार्यक्रममा बोल्न आएकोमा दुःखमनाउसमेत गरे । उनले भने, ‘यो समाजमा दाजुभाइ ठानेकाहरू नै आफ्नै छोरी, बहिनी, चेलीलाई नारकीय जीवन भोगाउन उद्यत छन्, विभिन्न अपराधका अनुहार हेर्न र एउटी छोरीले कठोर जिन्दगीलाई पुनर्निर्माण गरेर देखाएको साँचो कथा जान्न यो पुस्तक पढ्नैपर्छ ।’

मुम्बईको कोठीमा पुर्‍याइएकी सुनीताले दुधे बच्चा च्यापेर कसरी यौनदुराचार सहनुपर्‍यो, त्यहाँ पुर्‍याइँदाको आफ्नै निर्मम कथा र सन् १९९६ मा मुक्त भएर नेपाल फर्कन गरेको संघर्ष अनि नेपाली समाजमा स्थापित हुन गर्नु परेको कठोर यात्रालाई ‘आँसुको शक्ति’ पुस्तकाकार दिएकी हुन् ।

पुस्तक सार्वजनिकका क्रममा उनले भनिन्, ‘अहिले पनि मैलेजस्तै छोरीचेलीले बेचिनुपर्ने समस्या ज्यूँका त्यूँ छ, स्वरूप फेरिएको छ, हिजो बम्बईका कोठीमा बेचिएका मजस्ता चेली अहिले विवाहका नाममा, वैदेशिक रोजगारका नाममा, विभिन्न पद र जागिरका नाममा ।’ समाजको यो कालो अनुहार उदांगो पार्नैपर्ने लागेपछि आफूले पुस्तक लेख्ने आँट गरेको उनले बताइन् ।

‘हामी बेचिनेको के दोष, बेच्ने समाज दोषी हो’, उनले भनिन्, ‘मजत्तिको महिलाले पनि यसलाई सार्वजनिक गर्न सकिनँ भने अरू कसले गरिदिने ? भन्ने लाग्यो र मैले यो पुस्तक लेख्ने आँट गरेँ ।’ एक थुकी सुकी सय थुकी नदी भनेरै घोस्ट राइटिङको सहयोगमा आफूले पुस्तक लेखेको उनले बताइन् ।

कार्यक्रममा मानवअधिकारवादी गौरीले सुनीताले १९९६ मा मुम्बईबाट नेपाल फर्कन गरेको संघर्ष र आँटभन्दा यो पुस्तक लेख्ने साहस सलाम गर्नलायक भएको बताए । उनले आफ्नै छोरीचेली बेच्ने समाजमा सुनीता दनुवारलाई जीवनसाथी बनाउने नृप दनुवार साँच्चै हिरो भएको बताए ।

‘सुनिताले लेखेको यो किताबमात्र होइन, यो भोगाइको सागर हो । दुराचार, अत्याचारको बीचबाट जन्मिएको अमिट इतिहास हो ।’ सुनीताका पति नृपले उनलाई स्वीकारेको मात्र नभई प्रेम गरेको, परिवारले साथ दिएकै कारण यो सम्भव भएको प्रधानले बताए ।

वक्ताका रूपमा शर्मिला पराजुलीले सुनीताको अदम्य साहसले आमनेपाली महिलालाई जागरुक र हिम्मतिलो बनाउन प्रेरणा मिल्ने विश्वास व्यक्त गरिन् । उनले यो किताब दस्तावेजका रूपमा जुगजुग रहने विश्वास व्यक्त गरिन् ।

कुनै पनि बेला हरेक छोरीचेली जोखिममा पर्नसक्ने भएकाले राज्य, समाज र समाजभित्रका हरेक वर्गलाई चनाखो हुन लेखिका दनुवारले आग्रह गरिन् । घोस्ट राइटिङ नेपाललले पुस्तक बजारमा ल्याएको हो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.