न्यायपालिकाको नियति

न्यायपालिकाको नियति

न्यायपालिकाको हैसियत व्यवस्थापिका र कार्यपालिकाभन्दा माथिल्लो हुँदैन, तर निष्पक्ष, सक्षमविना मोलाहिजा र पारदर्शी हिसाबले परिआउँदा उसले संविधानको व्याख्या र राज्यलगायत कसैलाई पनि अर्घेल्याइँमा दण्ड दिन सक्नुपर्छ, तर क्रमशः त्यो वातावरण मुलुकबाट समाप्त हुँदै गएका आभास या संकेतहरू सरकारका विभिन्न कदमबाट आइरहेका छन् ।

अदालतभित्रैबाट पनि न्यायपालिका संकटको नभनिहाले पनि षड्यन्त्रको तारो बनेको अभिव्यक्ति आउनु सामान्य कुरा हैन ।
सर्वोच्च अदालतका केही न्यायाधीशविरुद्ध संसद् महाभियोग दर्ता भएलगत्तै प्रधानन्यायाधीश सुशीला कार्कीले त्यसलाई अदालतमाथि विदेशी षड्यन्त्रका रूपमा पेस गरेकी छन्, सार्वजनिक टिप्पणीमार्फत ।

यसले दुईवटा गम्भीर अर्थ बोकेको छ । पहिलो, साँच्चै विदेशीहरूले न्यायपालिका र न्यायलाई प्रभावित गर्ने प्रयास गरिरहेका छन् र त्यसलाई स्वीकार नगर्ने न्यायाधीश उनीहरूका तारो बनेका छन् । दोस्रो, त्यो 'षड्यन्त्र' मा सांसदहरूसमेत प्रयोग भएका छन् । वास्तवमा यो अत्यन्तै गम्भीर अभिव्यक्ति हो र त्यस सम्बन्धमा प्रधानन्यायाधीशसँग प्राप्त सूचना सरकारलाई उपलब्ध हुनु जरुरी छ ।

तर, न्यायाधीश र उनीहरूका नियुक्ति दलीय राजनीतिबाट अनि 'कोटा' पद्धतिबाट निर्देशित भएको स्पष्ट छ । त्यो पद्धतिका कारण 'न्याय' दलीयताबाट निर्देशित त नहोला भन्ने डर पनि सर्वत्र व्याप्त छ । खासगरी विगत १० वर्षमा दलीय हैकम अनि 'एक्टिभिज्म' न्यायपालिकामा प्रवेश गरेको छ, 'लाभको पद' के हो, के हैन भन्नेबारे समेत न्यायपालिका मौन छ, न्यायाधीशहरूको हकमा ।

त्यसले जनमानसमा न्यायपालिका तथा न्यायाधीशप्रति अविश्वास बढाउँछ र आशंकाका आधारमा महाभियोग दर्ता गर्ने चलनले निरन्तरता नपाउला भन्न सकिन्न । यसैबीच सरकारले एउटा रोचक तर खतरनाक निर्णय लिएको छ, न्यायपरिषद् सदस्यको पदपूर्तिमा ।

एकपटक कांग्रेस नेतृत्वको सरकारले 'नियुक्त' गरेको अनि त्यसपछिको एमाले सरकारले रद्द गरेको रामप्रसाद सिटौलाको नियुक्तिलाई वर्तमान गठबन्धन सरकारले फेरि सदर गरेको छ । न्यायाधीश नियुक्तिमा महत्त्वपूर्ण भूमिका खेल्ने न्यायपरिषद् दलीय कोटाको सुनिश्चितताको अर्को प्रमाण के होला ?

यति मात्र हैन, संसद्ले 'संघीय' नेपालमा सातवटा 'उच्च न्यायालय' स्थापनासम्बन्धी विधेयक पारित गरेको छ । त्यससँगै 'प्रतिगामी' शासन पद्धतिअन्तर्गतका पुनरावेदन अदालत रद्द हुनेछन् । उच्च न्यायालयमा सम्भवतः छिट्टै न्यायाधीशहरू नियुक्त हुनेछन्, तर उनीहरूको कार्यालय कहाँ स्थापना होला, सरकार निर्णय लिन सक्तैन ।

किनकि यो विषय प्रदेशको सीमांकन र राजधानी छनोटसँग जेडिन्छ । न्यायालय न्याय खोज्ने जनताको आस्था र विश्वासको केन्द्र हो, इँटा र माटोको निर्जीव आकृति हैन । यो संविधान एक वर्ष पूरा हुन लाग्दा संविधान खाली कार्यान्वयन हुन नसक्ने प्रावधान र निर्णयहरूको दस्ताबेज बन्न पुगेको छ ।

मन्त्रिपरिषद्देखि योजना आयोग उच्च जाति र पुरुषहरूको एकलौटी संस्था बन्न पुगेका छन् अर्थात् महिला, दलित र पिछडिएकाहरूको लागि निषेधित क्षेत्र बन्न पुगेका छन् । तर सर्वोच्च न्यायालय स्वतन्त्र छ र बाह्य षड्यन्त्र र भित्री दलीय राजनीतिबाट प्रभावित छैन भन्ने सन्देश गएको भए कमसेकम त्यहाँबाट न्यायिक निर्देशन आउन सक्थ्यो तर भित्रैबाट रोदन आएपछि न्याय खोज्ने कसरी ?


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.