दाहाल-मोदी वार्ता

दाहाल-मोदी वार्ता

नयाँदिल्लीः प्रधानमन्त्री पुष्पकमल दाहालले भारतीय नेतृत्वसँग रचनात्मक वार्ताका आधारमा विश्वासको सम्बन्ध स्थापित गर्ने बताएका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग वार्ता गर्नु एक दिनअघि नेपाली दूतावास नयाँदिल्लीद्वारा आयोजित रात्रिभोजमा प्रधानमन्त्री दाहालले नेपाल र भारतबीचको सम्बन्ध मजबुत रहेको समेत बताए । उनी ४२ सदस्यीय सरकारी प्रतिनिधिमण्डलसहित बिहीबार मध्याह्न भारतको चार दिने राजकीय भ्रमणमा आएका हुन् ।

‘नेपाल र भारत राम्रो सम्बन्ध भएका बेलाका मात्र मित्र होइनन् । चाहिएको बेला मद्दत गर्ने मित्र हुन्,' भारतीय विभिन्न दलका नेता, पूर्वकूटनीतिज्ञ र सञ्चारकर्मीमाझ उनले भने, ‘सदीयौंदेखिको हामीबीचको सम्बन्ध समानता र संस्कृतिका हिसाबले निकट रहँदै आएको छ ।' दाहालले नेपाल र भारतका जनताको साझा भाग्य एकअर्कामा मिसिएको बताए । भूकम्पपछिको पुनर्निर्माणमा भारतले दिएको सहयोगका लागि उनले धन्यवाद दिए ।

मधेस समस्या समाधानमा सहयोग माग

प्रधानमन्त्री दाहालले मधेस समस्याको समाधानमा सहयोग गरिदिन घुमाउरो पाराले भारतीय नेताहरूसँग अनुरोध गरेका छन् । भारतका प्रतिपक्षी दलका नेताहरू सीताराम यचुरी, जनता दल युनाइटेड र नेसनलिस्ट कंग्रेसका नेताहरूसँग बिहीबार नयाँदिल्लीस्थित नेपाली दूतावासमा भएका अलगअलग भेटमा दाहालले बाह्रबुँदे समझदारीबाट सुरु भएको नेपालको शान्ति प्रक्रियामा दक्षिणी छिमेकी भारतको महत्वपूर्ण भूमिका रहेको भन्दै त्यसको उच्च प्रशंसा गरे ।

भारतीय कम्युनिस्ट पार्टीका महासचिव यचुरीले संविधान संशोधन प्रक्रियामार्फत असन्तुष्ट पक्षको माग सम्बोधन भई नेपालमा राजनीतिक स्थायित्व भएको हेर्न भारतले चाहेको भेटपछि पत्रकारहरूलाई प्रतिक्रिया दिए । नेपालको वर्तमान राजनीतिक घटनाक्रमबारे भेटमा कुरा भएको उनले बताए ।

यचुरीको दल भारतीय कम्युनिस्ट पार्टी (माक्र्सवादी) ले नेपालका भूकम्पपीडितहरूलाई सहयोगस्वरूप नौ करोड भारतीय रुपैयाँ उपलब्ध गराएको छ । यचुरीले भेटका अवसरमा उक्त रकम दिने प्रतिबद्धता व्यक्त गर्दै एक पत्र दाहाललाई हस्तान्तरण गरेका थिए ।

भारतीय नेसनलिस्ट कंग्रेसका महासचिव डीपी त्रिपाठी र जनता दल युनाइटेडका पूर्वअध्यक्ष शरद यादवले पनि दाहालसँग बिहीबारै भिन्दा—भिन्दै भेटवार्ता गरे । प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यका अनुसार भारतीय प्रतिपक्षी दलका नेताहरूले नेपालको आन्तरिक समस्या नेपालले आफैंले हल गरी स्थायित्व र विकासमा अघि बढेको हेर्न चाहेको बताए ।
आचार्यका अनुसार दाहालले भारतीय नेताहरूलाई नेपालको अहिलेको समस्या समाधानमा ‘तपाईंहरूको शुभेच्छा चाहेको छु' भनेका थिए ।

कोसी उच्च बाँधबारे नीतिशले कुरा उठाए

भारतीय सीमावर्ती राज्य बिहारका मुख्यमन्त्री नीतिश कुमारले प्रधानमन्त्री दाहालसँग एक्लै ३० मिनेट वार्ता गरेका छन् । भेटमा आफू र दाहालबीच सीमा विवाद, कोसी उच्च बाँध निर्माण र डुबान समस्याका विषयमा कुरा भएको नितिशले पत्रकारहरूलाई बताए । भारतले लामो समयदेखि कोसी बाँध निर्माणका लागि नेपाललाई दबाब दिँदै आएको छ । कोसी बाँध बनाइए नेपालका तराईका हजारौं बस्ती उठाउनुपर्ने हुन्छ ।

उनले नेपाल र भारतबीचको सम्बन्ध सुदृढ गर्नेबारे कुराकानी भएको बताए । ‘उहाँ प्रधानमन्त्रीका रूपमा फेरि भारत आउनुभएको छ । उहाँलाई मैले बिहार आउन पनि निमन्त्रणा गरेको छु,' नीतिशले भने ।
प्रधानमन्त्री दाहाल बिहीबारै नयाँदिल्लीस्थित प्रवासी नेपालीहरूले नेपाली दूतावासमा आयोजना गरेको कार्यक्रममा पनि सहभागी भए । उनले मधेसी, थारू, जनजाति र मुस्लिमका मुद्दा समेट्न संविधान संशोधन गर्नुको विकल्प नरहेको बताए ।


‘भारतीय नेतृत्वसँग रचनात्मक वार्ता गर्न आएको हुँ'

उनले जनयुद्धका बेला प्रवासी नेपालीहरूले योगदान गरेको चर्चा गर्दै उनीहरूका समस्याको समाधान गर्ने प्रतिबद्धता व्यक्त गरे । प्रधानमन्त्री दाहाललाई भारतीय विदेशमन्त्री सुस्मा स्वराज, भारतस्थित नेपाली कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाललगायतले विमानस्थलमा स्वागत गरे ।

टोलीमा परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक योजनामन्त्री रमेश लेखक, प्रधानमन्त्री पत्नी सीता दाहाल, परराष्ट्रसचिव शंकरदास बैरागी, वाणिज्य सचिव ङइन्द्र उपाध्याय, शिष्टाचार महापाल दीपक अधिकारी, अर्थ मन्त्रालयका सहसचिव वैकुण्ठ अर्याल, परराष्ट्र सहसचिव भृगु ढुंगाना, परराष्ट्रकै उपसचिवद्वय हरि ओडारी र प्रकाश अधिकारी र शिष्टाचार अधिकृत प्रथमा उप्रेती छन् ।

प्रधानमन्त्रीको निजी सचिवालयबाट प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल, प्रमुख सचिव रमेश मल्ल, प्रेस सल्लाहकार गोविन्द आचार्य, फोटोग्राफर दिनेश श्रेष्ठ टोलीमा छन् । त्यस्तै विभिन्न दलका सांसदहरू, सरकारी सञ्चारमाध्यमका प्रतिनिधिहरू, प्रधानमन्त्रीका निजी सुरक्षाकर्मीहरूलगायत पनि टोलीमा छन् ।

दाहालले शुक्रबार बिहान ९ बजे राष्ट्रपति भवनमा सेरेमोनियल रिसेप्सनमा भाग लिनेछन् जहाँ उनले गार्ड अफ अनरको निरीक्षण गर्नेछन् । ९ः३० मा दाहालले राजघाटमा महात्मा गान्धीलाई श्रद्धाञ्जलि अर्पण गर्नेछन् । पहिलो उच्चस्तरीय भेटघाटका क्रममा दाहाललाई भारतीय विदेशमन्त्री स्वराजले बिहान १०ः३० राष्ट्रपति भवनमा भेट्नेछिन् । त्यसलगत्तै ११ः३० मा दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच हैदराबाद हाउसमा द्विपक्षीय भेटवार्ता हुनेछ । उनले मोदीसँग एक्लै पनि वार्ता गर्ने भएका छन् ।

हैदराबाद हाउसमै दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा नेपाल र भारतका उच्च अधिकारीहरूले विभिन्न समझदारी पत्रमा हस्ताक्षर गर्ने भएका छन् । त्यस्तै दाहाल र मोदीले संयुक्त पत्रकार सम्मेलनमा पत्रकारलाई सम्बोधन गर्नेछन् । शुक्रबार नै भारतीय वित्तमन्त्री अरुण जेट्ली, भारतीय विद्युत्मन्त्री पीयूष गोयलले दाहाललाई राष्ट्रपति भवनमा भेट्नेछन् । दाहालले भारतीय राष्ट्रपति प्रणव मुखर्जी र भारतीय व्यापारीहरूसँग पनि शुक्रबार नै भेट्दैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.