मेसेन्जर, जिमेल, स्काइप एकै ठाउँबाट चलाउने तरिका
अनलाइनमा नबस्दा पानीबिनाको माछाजस्तै लाग्छ । यसो हिसाब गर्ने हो भने, दिनकै १० घन्टा जति समय अनलाइनमै बित्छ ।
अधिकांश समय त फेसबुक, ट्विटर, जिमेल, स्काइप, आउटलुक, ब्लगरजस्ता वेब एप्पमै सकिन्छ ।अफिसको तनाव, पढाइका कुरा, आमाबाका गाली, साथीका अफर सबैबाट समय निकालेर सामाजिक सञ्जालमा हराउन मन लाग्छ । जति नै कामको भार होस् सामाजिक सञ्जालमा अपडेट हुनैपर्छ भन्ने लाग्छ ।
लाग्छ यो त एक खालको नशा नै भइसक्यो ।ल्यापटप खोलेलगत्तै फेसबुक, ट्विटर खुलिसकेका हुन्छन् । तर हरेक समय सामाजिक, मेसेजिङ र इमेल वेब एप्प खोलिराख्ने मजस्ता लाखौं प्रयोगकर्तालाई झन्झट चाहिँ अवश्य हुन्छ । यसको कुनै समाधान छ कि भनेर खोज्दै जाँदा र्यामबक्सनामक फ्रि र ओपनसोर्स एप्प फेला पारेँ ।
यो एप्पको प्रयोग गरेर आफ्ना सबै सामाजिक, मेसेजिङ र इमेल सेवा एकै ठाउँबाट प्रयोग गर्न सकिन्छ । आफ्नो ब्राउजर खोलेर हरेक समय नयाँ ट्याबमा प्रयोग हुने सम्पूर्ण वेबसेवा खोल्न झन्झट गर्नु पर्दैन । र्यामबक्स एप्पदेखि छिटो र छरितो रूपमा आफ्ना वेब सेवा प्रयोग गर्दा समयको बचत हुन्छ ।
यो एप्प फ्रिमा प्रयोग गर्न सकिन्छ । विन्डोज, म्याक र लिनक्स तीनै अपरेटिङ सिस्टमका यो एप्प उपलब्ध छ । आवश्यक परेको खण्डमा यसको सोर्स–कोड पनि गिट्हबदेखि डाउन्लोड गर्न सकिन्छ ।
हालसम्म, मेसेन्जर, जिमेल, स्काइप, आउटलुक, टेलिग्राम, गुगल ह्यंगआउटलगायत ४४ अरु थर्ड पार्टी वेब सेवा यस एप्पमा समावेश गरिसकिएको छ ।
नोटिफिकेसन्स, एप्प लक, डिस्टर्ब मोड, आदिजस्ता विशेषता भएको यो एप्पले धेरै समय अनलाइन बस्न रुचाउनेहरूका लागि समय बचत गर्नेछ ।
ट्वीटर: @RlamsalNP