सांस्कृतिक परम्परामा शाक्त दर्शन

सांस्कृतिक परम्परामा शाक्त दर्शन

विश्व सभ्यताको इतिहासमा पूर्वीय दर्शन, संस्कृति र सभ्यताको महत्वपूर्ण स्थान छ । सभ्यताको शिशु बिहानीमा मानवले जीवनयापन गर्ने क्रममा प्रकृतिसँग समाहित हुने सिलसिलामा धर्म र दर्शनको प्रादुर्भाव भएको मानिन्छ ।

प्रकृतिको अद्भुत क्रियाकलापलाई मानवले अदृश्य शक्तिद्वारा सञ्चालित भएको ठान्यो र डर वा आस्थाका कारण प्रकृतिको पूजा, उपासना गर्ने गरेको पाइन्छ । संसारको जुनसुकै धर्ममा पनि प्रकृतिलाई भगवानको रूपमा पूजा गर्ने गरेको प्रमाण आज पनि प्रष्ट देख्न सकिन्छ ।

सांख्य दर्शनको मान्यताअनुसार संसार दुईवटा शक्तिद्वारा सञ्चालित छ । पुरुष र प्रकृतिको संयोजन र वियोजनबाट नै सृष्टि तथा प्रलयको क्रियाकलाप निरन्तर चलिरहन्छ भन्ने धार्मिक तथा दार्शनिक मान्यता छ । जुन तथ्यलाई भौतिक विज्ञानले पनि पुष्टि गरेको छ ।

भौतिक विज्ञानअनुसार पदार्थमा निहित इलोक्ट्रोन र प्रोटोनद्वारा नै पदार्थ अस्तित्वमा आएको देखिन्छ । भौतिक विज्ञानले सृष्टिको मान्यतालाई जसरी व्याख्या गरे पनि सृष्टिको प्रथम शक्तिको रूपमा अर्थात् नारी शक्तिलाई प्राग मानवको चेतनाले स्वीकार गरेको पाइन्छ । उत्तर पुरापाषाणकालीन संस्कृतिका मानवले सिर्जना गरेको मानिएको भेनसको मूर्तिले यस तथ्यलाई प्रमाणित गरेको छ ।

सभ्यताको विकासको सिलसिलामा उच्च पुरापाषाणकालीन संस्कृतिपछिको सभ्यता मानिने सिन्धु सभ्यतामा आउँदा मान्छेले शक्तिपूजाको परम्परालाई महत्व दिएको कुरा उत्खननबाट प्राप्त तथ्यहरूबाट पुष्टि भइसकेको छ । सिन्धु सभ्यताको उत्खननबाट प्राप्त ध्यानस्थ योगीको आकृतिलाई शिवजीको रूप मानिएको छ । अर्कोतिर जहाँ शिव छन् त्यहाँ शक्तिको पूजा हुन्छ भन्ने मान्यताबाट पनि यस कुराको पुष्टि हुन्छ ।

सिन्धु सभ्यतापछिको सभ्यता मानिने वैदिककालमा अर्थात् ऋगवेदमा शक्तिपूजाको परम्पराले व्यापकता पाएको देखिन्छ । ऋगवेदमा उषा, धावा (पृथ्वी) र बागदेवीलगायतका मातृदेवीहरूको उल्लेख गरिएको छ ।

 नेपालीहरूको महान् चाड दसंै शाक्त दर्शनको पृष्ठभूमिमा मनाउँदै आएको पाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिने दसैं शक्तिरूपा भगवतीले अत्याचारी दानवलाई वध गरेको खुसीमा मनाइन्छ । धन्यधान्यले सुशोभित शरद ऋतुमा मनाइने दसैंले नेपालीहरूको जातीय एकतालाई एकसूत्रमा बाँध्ने कार्य गरेको छ ।

वैदिक सभ्यतापछिको उपनिषदकालमा शक्तिको पर्याप्त वर्णन परेको छ । श्वैताश्वैतर उपनिषदमा शक्तिबारे धरै कुराहरू लेखिएका छन् । तर विचारणीय कुरो के छ भने शिवसँगै शक्ति देवीलाई पनि प्राग ऐतिहासिककालदेखि नै पुजिँदै आएको प्रतीत हुन्छ ।

शिवको उपासना लिंगको रूपमा गर्ने परम्परालाई अत्यन्त पुरानो मान्ने हो भने लिंगको साथ पुजिने योनीलाई शक्तिको प्रतीक मान्नुपर्ने हुन्छ । केन उपनिषदमा रुद्रको साथमा हेमवतीको नाम उल्लेख छ । उपनिषदकालदेखि नै शक्तिको स्वतन्त्र अस्तित्वको विकास भएको पाइन्छ ।

उपनिषदले प्रतिपादन गरेको सांख्य दर्शनले प्रकृतिलाई पुरुषको अपेक्षा बढी क्रियाशील ठानियो र यिनै प्रकृतिको शक्तिरूपी देवीसित मेल देखाइयो । प्रकृतिबिना पुरुष निष्क्रिय छ भन्ने दर्शनको विकास भयो । त्यसपछि महाकाव्यकाल तथा पुराणकालमा आएर यस भावनाको अझ विकास भयो ।

महाभारतको भीष्मपर्वमा युद्धमा विजय पाउनको लागि अर्जुनले श्रीकृष्णको परामर्शअनुसार देवी दुर्गाको उपासना गरेका थिए । मार्कण्डेय पुराणमा महिषासुर मर्दिनी भगवतीलाई शिव, विष्णु र ब्रम्हाको तेजबाट बनेकी भनी लेखिएको छ । यसरी प्राचिनकालदेखि नै नारी अर्थात् शक्तिपूजा निरन्तर चल्दै आएको कुरा विभिन्न स्रोतहरूबाट पुष्टि हुन्छ ।

नारी स्वयम् स्रष्टा र सिर्जना हुन् भन्ने वास्तविकता प्राग मानवले मनन् गरेको देखिन्छ । नारीको कोखबाट सृजित शिशु जन्मको दृश्यलाई अद्भुत यथार्थ मान्दै प्राग मानवको आद्य चेतनाले स्वीकार देखेको देखिन्छ ।

नेपालमा पनि शाक्त दर्शनको प्राचीनतालाई हेर्दा अभिलेख्य साक्षबाहेक साहित्यिक स्रोतहरूको आधारबाट हेर्दा पनि लिच्छविकालभन्दा पनि पर नेपालको पौराणिककालसम्म पुग्न सक्छौं । काठमाडौं उपत्यकाको उत्पत्तिबारे विभिन्न पौराणिक साहित्यका आ-आफ्नै दाबी छन् ।

प्रारम्भिक लिच्छविकालको मानिने कीर्तिपुरको सप्तमातृका, चांगुको सप्तमातृका, पाटन च्यासलहिटीको गजलक्ष्मी, बल्खुका सप्तमातृका, हौगलबहालको मातृकालगायतका मूर्तिहरूले नेपालमा शाक्त दर्शनको अति प्राचीन परम्परालाई अभिलेख्य साक्षले प्रमाणित गरेका छन् ।

लिच्छविकालका थुप्रै अभिलेख्य तथा मूर्ति साक्षहरूको अध्ययनबाट नेपालमा शाक्त पूजाको परम्परा र त्यसले सामाजिक जीवनमा पारेको प्रभाव जान्न सकिन्छ । मानदेवकी छोरी विजयवतीले पलाञ्चोक भगवतीको मूर्ति स्थापना गरी शिलालेख पनि राख्न लगाएकी थिइन् । यस आधारबाट विजयवतीको अरू विशेष विषय थाहा पाउन नसके पनि त्यस समयमा शाक्त सम्प्रदाय लोकप्रिय थियो भन्ने थाहा हुन्छ ।

अंशुवर्माको हाँडीगाउँमा अवस्थित संवत् ३१ को अभिलेखमा षष्ठी देवी मन्दिरका लागि केही रकमको व्यवस्था गरेको वर्णन छ । प्राचीन नेपालको धार्मिक सम्प्रदायमा शाक्त धर्मको अस्तित्वबारे लिच्छविकालीन मुद्राहरूबाट पनि थाहा हुन्छ । त्यसकालमा शाक्त सम्प्रदायको विकास भएको तथ्यलाई मुद्रामा अंकित गरिएका देवी प्रतिमा तथा सिंहाकृतिले प्रष्ट्याएको छ ।

मल्लकालमा आएर नेपाली समाजमा शाक्त धर्म र दर्शनले व्यापकता पाएको देखिन्छ । सबैभन्दा मुख्य त गुणकामदेवले कान्तिपुर सहरको स्थापना गरेको विषय मननीय छ । भाषा वंशावलीअनुसार यिनले श्मशानाघाट बनाएर (पूर्णवती­) खड्गाकार यस कान्तिपुर सहरलाई कान्तिश्वर महादेवको नामले कान्तिपुर नामांकरण गरेलगायतको वर्णन छ ।

भाषा वंशावलीमा यिनले कान्तिपुर सहर बसाइबीचमा चण्डेश्वरी, पूर्वमा लुमडी, पश्चिममा नवदुर्गा कंकेश्वरी र दक्षिणपट्टी देशको रक्षार्थ मुख्य क्षेत्रपाल, पचली भैरव, उत्तरतिर इन्द्रायणी, मनमैजु पीठ र विजयेश्वरी पनि स्थापना गरे भनिएको छ ।

मल्लकालका राजाहरू प्रायः शैव र शाक्त सम्प्रदायका अनुयायी हुन्थे । रानी देवलदेवीले तुलजा भवानीलाई काठमाडौंमा स्थापित गरेकी थिइन । मल्लकालका प्रतापी राजा जयस्थिति मल्ल मानेश्वरीका परमभक्त थिए । उनले श्री मानेश्वरीवरलब्धप्रसाद उपाधि लिएका थिए । यसैताका कंकेश्वरी भगवती पनि निकै प्रख्यात थिइन् ।

नेपाल संवत् ५७ तिरका फर्पिङ भेकका स्थानीय शासक जयजैत्रसिंह देवले श्री श्रीभंmकेश्वरीवरलब्धप्रसाद उपाधि लिएका थिए । शाहकालमा आएर भने शाहकालीन राजाहरूले शक्ति पीठमा पूजा गर्ने र पञ्चवलि दिनेलगायतका कार्यमा समाहित हुँ शाक्त दर्शन र त्यसको पूजा परम्परालाई अंगीकार गरेको देखिन्छ । शक्तिपूजाको परम्परामा कुमारी पूजाको पनि विशेष स्थान छ । कन्याकुमारीलाई जीवित देवीको रूपमा पूजा गर्ने यहाँको नेवारी समाजमा अझै पनि प्रचलनमा छ ।

वास्तवमा हाम्रा पूर्वजहरूको चिन्तन र मनन्बाट नै धर्म र संस्कृतिका दार्शनिक पक्षहरूका विकास भएको पाइन्छ । अदृश्य शक्तिलाई उपासना गर्ने क्रममा नै बहुदेववादको अवधारणाले ठाउँ पाएको देखिन्छ । आदि प्रकृतिरूपा शक्तिको मान्यता र दार्शनिक पक्षले शक्ति र शिवको एकात्मकताको प्रतिस्थापन गरेपछि हिन्दु समाजमा शक्तिको विशेष महत्व बढ्दै गएको देखिन्छ । यसमा सांख्य दर्शनको चिन्तन परम्पराले निकै बल दिएको देखिन्छ । देवीदेवता र प्राणी मात्रलाई जन्म दिई शक्तिको सञ्चार गर्ने हुनाले महिमामयी शक्तिलाई प्रकृति भनी स्वतन्त्र रूपमा कल्पना गरिएको हो ।

तन्त्रमन्त्रमा विश्वास राख्नु शाक्त अनुयायीहरूको प्रमुख विशेषता हो । यस मार्गका अनुयायीहरूलाई कौल भनिन्छ । कौलहरू स्त्रीरूप ईश्वरलाई नै एकमात्र परमेश्वर मान्दछन् । नौवटा योनीहरूको बीच एक योनीको चित्र बनाई त्यसको पूजा गर्नु कौलहरूको लागि आवश्यक छ । केही थरी कौलहरू जीवित नारीकै योनीको पूजा गर्दछन् तर हाल भने यो प्रचलन हटिसकेको छ । नेपालमा शक्तिपूजाको परम्परामा अष्टमातृकाको पनि पूजा गरिँदै आएको पाइन्छ ।

खासगरी ब्रम्हायणी, वैष्णवी, महेश्वरी, एन्द्री, कौमारी, वाराही, चामुण्डा र महालक्ष्मी अष्टमातृकाअन्तर्गत पर्दछन् । काली, तारा, षोडसी, भुवनेश्वरी, भैरवी, छिन्नमस्ता, धुमावती, बगला, कमला र मातांगीलगायतका दशमहाविद्याको पूजा अर्चना गर्ने परमपरा खासगरी ललितपुरमा रहेको देखिन्छ । शाक्त धार्मिक सम्प्रदायमा नवदुर्गाको महत्व छ । नवदुर्गा वा भगवती दुर्गा वा कालीका नौवटा रूपहरू जस्तो शैलपुत्री, ब्रम्हचारिणी, चन्द्रघन्टा, कुस्माण्डा, स्कन्दमाता, कात्यानी, कालरात्री, महागौरी र सिद्धिदात्रीको पूजा विभिन्न शक्तिपीठहरूमा गरिन्छ ।

अर्धचन्द्र मुकुट धारण गर्ने सिंहबाहिने उर्वरताकी देवी दुर्गा हुन् । शक्ति तत्व सृष्टि तत्वभित्रको मूल तत्व मानिने ऊर्जा हो । बिनाशक्ति भौतिक तत्व जड हुन्छ । चैतन्य शक्तिरूपाद्वारा नै प्रकृति जीवन्त छिन् । हाम्रा दर्शन शास्त्रले चैतन्यरूपा प्रकृतिबिनाको पुरुषतत्व जड मानेको छ । अद्वैत वेदान्तले ब्रम्हसिद्धिले गर्दा माया तत्वको आ श्रय लिनु अनिवार्य हुन्छ र सृष्टिको क्रमलाई व्याख्या गर्दा निर्गुण ब्रम्ह पनि सगुणमा रूपान्तरित हुनु पर्दछ । द्रव्य जगतकी आदिकारण बनेकी मूल प्रकृतिको विशिष्टतालाई कुनै न कूनै रूपमा स्वीकार गर्नै पर्दछ ।

नेपालीहरूको महान् चाड दसंै शाक्त दर्शनको पृष्ठभूमिमा मनाउँदै आएको पाइन्छ । असत्यमाथि सत्यको विजयको प्रतीकको रूपमा मानिने दसैं शक्तिरूपा भगवतीले अत्याचारी दानवलाई वध गरेको खुसीमा मनाइन्छ ।

धन्यधान्यले सुशोभित शरद ऋतुमा मनाइने दसैंले नेपालीहरूको जातीय एकतालाई एकसूत्रमा बाँध्ने कार्य गरेको छ । यसभित्रको दार्शनिक तत्वलाई अन्वेषण गर्दा प्रकृतिको सृृष्टिधर्मितालाई उजागर गरेको छ । शैवदर्शनको तान्त्रिक परम्परामा अ र हं ले प्रकृति र पुरुषको सम्बन्धलाई व्यक्त गर्दछ ।

अ भनेको स्त्री र हं भनेको पुरुष हो । अ र हं को संयोजन र वियोजन अर्थात् अहंकारबाट नै सृष्टिको सिर्जना र विनाश हुन्छ भन्ने दार्शनिक मान्यता छ । बौद्ध दर्शनको बज्रयानी परम्परामा प्रज्ञोपाय अर्थात शून्यता र करुणाको दर्शनलाई यता शाक्त दर्शनबाट हेर्न सकिन्छ भने अर्कोतिर फ्रायडिय मतमा इड, इगो र सुपर इगो अर्थात् मस्तिष्कको यो अवस्थालाई प्रकृतिको सौम्य, उग्र र कामरूपबाट पनि हेर्न सकिन्छ । यिनै सकारात्मक र नकारात्मक अर्थात् स्त्री तत्व र पुरुषतत्वको संयोजन र वियोजनबाट नै सृष्टि र प्रलय हुन्छ भन्ने दार्शनिक मान्यता छ ।


प्रतिक्रिया दिनुहोस !

लोकप्रिय

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.