खर्चको हिसाबले पाँच सय ६५ धेरै हुन्छ

खर्चको हिसाबले पाँच सय ६५ धेरै हुन्छ


बालानन्द पौडेल/अध्यक्ष-गाउँपालिका, नगरपालिका तथा विशेष, संरक्षित वा स्वायत्त क्षेत्रको संख्या तथा सीमा निर्धारण आयोग

आयोग गठनको ६ महिना भयो । अहिले के काम गर्दैछ ?

मुख्य काम गाउँपालिका, नगरपालिका, विशेष क्षेत्र र स्वायत्त क्षेत्रको संख्या र सीमा निर्धारण गर्ने हो । काठमाडौं उपत्यका र राजधानी काठमाडौंको एकीकृत समन्वयात्मक विकासको ढाँचा कस्तो हुने भन्ने सुझाव मागेको छ । पहिला राज्य शक्ति सरकार (केन्द्र) मा निहीत थियो, अब राज्य शक्तिको बाँडफाँट भयो- संघ, प्रदेश र स्थानीय तहमा । अब प्रदेश र स्थानीय तहले पनि शासन गर्छ । कार्यपालिका, विधायिक, न्यायपालिका हुन्छ । स्थानीय अदालत भनेको छ । यो आधारभूत परिवर्तन हो । हामीले संविधानको त्यो मर्मभित्र रहेर काम गर्छौ । स्थानीय तह भनेको स्थानीय निकाय हैन, यो स्थानीय सरकार हो । यस्तो एकाइ बनाउन कस्तो व्यवस्था गर्नुपर्छ भन्ने ढंगले पनि हामीले विश्लेषण गर्दैछौं । संविधानले न्यायिक निकायबारे धेरै प्रष्ट पारेको छैन ।

अबको स्थानीय तहको संरचना कस्तो हुन्छ ?

स्थानीय व्यवस्थापिकामा गाउँसभा वा नगरसभामा हरेक वडाबाट प्रतिनिधित्व गर्नेसदस्य हुन्छन् । गाउँपालिकामा पाँचदेखि २१ वटासम्म वडा हुन्छन् । नगरपालिकामा नौदेखि ३५ वटासम्म वडा हुन्छन् । त्यही वडाको आधारमा गाउँसभा र नगरपालिकाका सदस्यको संख्या तलमाथि हुन्छ ।

अब बन्ने गाउँपालिकाले अहिले जिल्लाबाट पाउने सुविधा सबै दिन सक्छ ?

अहिले नागरिकता, पासपोर्ट, लालपुर्जाको सिफारिसमात्र गाविसबाट हुन्छ । अब हामी ती सिफारिस चाहिँ वडा सेवा केन्द्रबाट दिन्छौं । गाउँ विकास समितिले जन्म र मृत्यु दर्ता गर्छ । सामाजिक सुरक्षा भत्ता वितरण गर्छ । नाता प्रमाणित गर्छ । घरजग्गा मूल्यांकन गर्छ । मालपोत उठाउँछ । सर्जमिन मुचुल्का गर्छ । म्याद तामेली गर्दिन्छ । सरकारले पठाउने अनुदान रकमबाट सानातिना पूर्वाधार निर्माण गर्छ ।

अब यी काम वडाले गर्नेछन् । यतिसम्म छ कि माध्यमिक तह (१२ कक्षा) सम्मको शिक्षाको स्वीकृति दिन सक्छ । पाठ्यक्रम आफैं परिमार्जन गर्न सक्छ । आधारभूत स्वास्थ्य, सिँचाइ, कृषि, खानेपानी, बिजुलीसँग सम्बन्धित सबै काम स्थानीय तहलाई दिएको छ । हिजो योजना बनाउन राष्ट्रिय योजना आयोगमा आउँथ्यो, त्यहाँ प्राथमिकीकरण हुन्थ्यो । अब ती योजना स्थानीय तहले नै बनाउँछ । प्राथमिकीकरण आफैं गर्छ ।

राजस्व उठाउने अधिकार त संघमै छ । अप्ठेरो हुँदैन ?

राजस्व उठाउने अधिकार चाहिँ संघलाई दिएको छ तर कामको जिम्मा धेरै दिएको छ । ८० प्रतिशतभन्दा बढी राजस्व चाहिँ संघले नै उठाउँछ, काम जति स्थानीय तहमा गयो । काम र स्रोतको बीचको जुन अन्तर छ, संघले स्रोतको हस्तान्तरण गरी तल पठाउँछ । पहिले योजना नै केन्द्रमा बनाएर पठाउँथे, रकम चाहिँ हस्तान्तरण गर्ने भयो । कामसँगै कर्मचारी पनि तल जाने भए ।

गाउँपालिकामा कर्मचारी चाहिँ कुन तहका हुन्छन् ?

आयोगलाई स्थानीय विकास अधिकारीहरूले दिएको सुझावमा न्यूनतम उपसचिव भनेको छ । ठूला गाउँपालिका र नगरपालिकामा चाहिँ सहसचिव खटाइन्छ । उपसचिव घटी त कहीँ पनि कार्यालय प्रमुख खटाइन्न । विस्तारै सबै सहसचिवकै तहमा पुग्छ । धेरै ठूलो स्ट्रक्चर बनाइँदैछ ।

अब पाँच सय ६५ स्थानीय सरकार, सातवटा प्रदेश सरकार र एउटा संघीय सरकार हुने भए । यो सञ्चालन गर्ने खर्च धान्ने राजस्वको स्रोतबारे पनि आयोगले हेरेको छ ?


चार हजार गाविस बनाउँदाको जुन अवस्था थियो, त्यो विकटतासँग तुलना गर्दा त अहिले पाँच सय ६५ धेरै हो । यी धेरै सुगम इकाइ बन्छन् । हामी भन्छौं– हिजो ७५ वा १४ वा पाँच ठाउँमा जाँदा वा राजधानी काठमाडौं आउँदा टाढा भएको थिएन ।

अहिले पाँच सय ६५ ठाउँमा जाँदा कसरी टाढा भो ?

हामीले अहिलेको आयस्तर हेर्‍यौं । स्रोतमा नाटकीय हिसाबले बढोत्तरी हुने देखिँदैन । त्यसैले गर्दा हामीलाई साधनस्रोतले एकदमै सीमा तोक्छ । सरकारको बजेटलाई हेर्दा आन्तरिक राजस्वले साधारण खर्च धान्न मुस्किल छ । हामीले खाने तलब पनि ऋण लिएर खानुपर्ने स्थिति आउन सक्छ । त्यो दृष्टिकोणबाट हेर्दा स्थानीय तहको संख्या पाँच सय ६५ पनि धेरै हुन्छ ।


‘संविधान बनाउँदै गल्ती भो’

शेखर कोइराला/नेता, नेपाली कांग्रेस
‘हामीले संविधानमा स्थानीय तहलाई जे अधिकार दियौं, आयोगले त्यसैलाई आधार बनायो । संविधानमा स्थानीय तहलाई पाठ्यक्रम र कानुन बनाउनेसम्म अधिकार दिएका छौं, बेग्लाबेग्लै गाउँपालिका वा नगरमा अलगअलग कानुन र पाठ्यक्रम बन्न थाले भने के होला ? अहिलेको परिस्थितिमा ती अधिकार लागू हुन सक्दैनन् । संविधान बनाउँदै गल्ती भो । अहिले समय घर्किसकेको छ । त्यो अव्यावहारिक र अवैज्ञानिक छ ।

आयोगले हिमाल-पहाडबाट तीन सय ७७ र तराई-मधेसबाट एक सय ८८ वटा स्थानीय तह जुन अघि सारेको छ, यसलाई राजनीतिक हिसाबले मात्र हेरेर हुँदैन । स्थानीय तहका प्रतिनिधिले राष्ट्रियसभा सदस्यका लागि भोट दिन्छन् । अहिलेको हिसाबले त माथिल्लो सदनमा मधेसको प्रतिनिधित्व नै हुन सक्दैन । त्यसैले पहाड–हिमालमा भूगोल र मधेसमा जनसंख्यालाई मात्र आधार मानेर स्थानीय तह बनाउनुपर्छ । तराई-मधेसमा पनि तीन सय देखि–तीन सय ३० सम्म स्थानीय तहको संख्या हुनुपर्छ ।

आयोगका पदाधिकारीले संवैधानिक आयोगको निर्णय सबैले स्वीकार्नुपर्छ भन्ने ढंगले अभिव्यक्ति दिनुभएको छ । पहिले सरोकारवालासँग छलफल गरी संख्या सार्वजनिक गर्नुपर्नेमा उल्टो काम भएको छ । प्रजातन्त्र यसरी चल्दैन । चैतमा चुनाव गर्ने भनेर हतारमा आयोगको प्रतिवेदन ल्याउनुभन्दा चुनाव गर्न पुरानै स्थानीय निकाय वा इलाकालाई आधार मानेर चुनाव विकल्पमा सहमति खोज्नुपर्छ । स्थानीय तह पुनर्संरचना आयोगलाई एक वर्ष हैन, १० वर्षको समयावधि तोकेर यो काम टुंग्याउनुपर्छ ।’


‘जबर्जस्ती गरे चुनाव बहिष्कार गर्छौं’

जितेन्द्र सोनार/महामन्त्री, तराई-मधेस लोकतान्त्रिक पार्टी
‘स्थानीय तहको संख्या-सीमा तोक्ने र अधिकार के-के दिने भन्ने तोक्ने अधिकार प्रान्तलाई दिनुपर्छ भन्ने हाम्रो धारणा हो ।

आयोगले अहिले गरिरहेको कामले मधेसलाई विभेद गरेको छ । ५१ प्रतिशत जनसंख्या मधेसमा छ तर पाँच सय ६५ मध्ये एक सय ८८ वटा स्थानीय तहमात्र मधेसलाई दियो । यो न्यायोचित भएन । चारैतिरबाट यसको विरोध भइरहेको छ । मधेसी मोर्चा यसलाई स्वीकार्दैन । यही आधारमा चुनाव गर्‍यो भने हामी बहिष्कार गर्छौं ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.