चीनसँग असमझदारी छैनः प्रचण्ड

चीनसँग असमझदारी छैनः प्रचण्ड

नयाँदिल्ली: प्रधानमन्त्री पुष्पकमल दाहालले उत्तरी छिमेकी चीनसँगको सम्बन्धमा कुनै असमझदारी नरहेको बताएका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री दाहालले नयाँदिल्लीमा पत्रकारहरूसँग शनिबार भने, 'हाम्रो चीनसँगको सम्बन्धमा कुनै तलमाथि भएको छैन ।' चीनसँगको सम्बन्ध किन बिग्रेको हो भन्ने भारतीय पत्रकारको प्रश्नमा दाहालले यस्तो बताएका हुन् ।

चिनियाँ राष्ट्रपति सी जिनपिङको अक्टोबरमा प्रस्तावित नेपाल भ्रमण स्थगित भएको सम्बन्धमा एक पत्रकारले सोधेको प्रश्नमा दाहालले भने, 'चीनबाट उच्चस्तरीय भ्रमण तय हुन सकिरहेको छैन । पहिले पनि भ्रमण हुने निर्णय भएको थिएन । हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।' उनले छिमेकी मुलुकहरू भारत र चीनसँगको सम्बन्धलाई सरकारले प्राथमिकतामा राखेको बताए ।

दाहालले आफ्नो भ्रमणबाट भारतसँगको सम्बन्ध नयाँ धरातलमा विकसित भएको दाबी गरेका छन् । 'प्रधानमन्त्री मोदीजीसँग यसपटक खुलेर दिलबाट कुरा भएको छ । विश्वासको आधार बनेको छ । उहाँ नेपालप्रति अत्यन्तै सकारात्मक हुनुहुन्छ', नयाँदिल्लीस्थित होटल ताज प्यालेसमा शनिबार दाहालले भने, 'मेरो भ्रमणले नेपाल र भारतबीचको सम्बन्ध नयाँ धरातलमा उठाउन आधार तयार गरेको छ ।'

भारतले अझै पनि नेपालको नयाँ संविधानको पूर्ण स्वागत गरेन नि भन्ने प्रश्नमा दाहालले स्पष्ट जबाफ दिन सकेनन् । उनले भने, 'संविधान हाम्रो आन्तरिक विषय हो । हिजै जारी भएको नेपाल–भारत संयुक्त वक्तव्य हेर्दा स्पस्ट थाहा हुन्छ, उहाँहरूले हाम्रो संविधानलाई कसरी लिनुभएको छ । यसलाई कसैले बंग्याएर व्याख्या गर्नु उचित हुँदैन । भाषा आफैं प्रस्ट छ ।'

हामी चीनबाट उच्चस्तरीय भ्रमणका लागि तयार छौं । हामीलाई विश्वास छ चीनबाट चाँडै उच्चस्तरीय भ्रमण हुनेछ ।'

नेपाल र भारतबीच शुक्रबार राति जारी संयुक्त वक्तव्यमा भारतले नेपालमा संविधान जारी भएकोमा स्पष्ट रूपमा स्वागत गरेको छैन । बरु उसले घुमाउरो पारामा संविधान संशोधनका लागि नेपालमाथि थप दबाब दिएको छ ।

भारतले संयुक्त वक्तव्यमा नेपालका सबै पक्ष समेटेर समावेशी संवादका माध्यमबाट समस्या समाधान गर्न नेपाललाई सुझाएको छ । भारतले नेपालको नयाँ संविधान कार्यान्वयनका लागि अहिलेको सरकारले गरेको प्रयासको भने स्वागत गरेको छ ।

प्रधानमन्त्री दाहालले आफू भारत भ्रमणबाट पूर्ण सन्तुष्ट रहेको बताए । उनले छिमेकी मुलुकहरूसँगको सम्बन्धलाई प्राथमिकता दिएर भारत र चीनमा विशेषदूत पठाएको बताए । 'यसबाट थाहा हुन्छ कि मेरो सरकारले छिमेकसँगको सम्बन्धलाई सन्तुलित रूपमा अघि बढाएको छ', उनले भने ।

दाहालले मधेसीहरूको माग सम्बोधनका लागि दोस्रो पटक संविधान संशोधन हुन लागेको बताए । 'दुई तिहाइ बहुमतबाटै संविधान संशोधन हुन्छ', उनले भने । प्रधानमन्त्री दाहालले भारतीय गृहमन्त्री राजनाथ सिंहसँग दुवै देशले सीमालाई दुरुपयोग हुन नदिने, एकीकृत सुरक्षा जाँच चौकीहरूको निर्माण चाँडै सम्पन्न गर्ने, खुला सीमा व्यवस्थित गर्न सहकार्य गर्नेलगायतका विषयमा छलफल भएको बताए ।

उनले नेपालको शान्ति प्रक्रियामा भारतको सहयोग र सद्भाव रहेको र आगामी दिनमा पनि रहिरहने बताए । दाहालले संविधान संशोधनको विषय आन्तरिक रहेको र मुलुकभित्रै टुंग्याइने बताए । मधेस आन्दोलनमा भारतको हात रहेको भन्ने आफूले विगतमा कहिल्यै नबताएको उनले बताए । 'मधेस आन्दोलनको नेताका रूपमा म थिएँ ।

मधेसीहरूसमेत सहभागी ३० दलीय मोर्चाको नेता मै थिएँ । मैले कुनै दोस्रो देशको इसारामा मधेस आन्दोलन भएको भनेको थिइन', उनले भने ।
दाहालले मधेस समस्याको समाधानका लागि सकारात्मक रूपमा कुराकानी भइरहेको बताए । 'हामी मधेसी दलसँग सहमतिको मार्गतर्फ अघि बढिरहेका छौं', उनले भने ।

नाथ्पा झाँक्री परियोजना भ्रमण

प्रधानमन्त्री दाहालले शनिबारै भारतको हिमाञ्चलस्थित नाथ्पा झाँक्री विद्युत् परियोजनाको अवलोकन भ्रमण गरेका छन् । दाहालले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका राष्ट्रिय सुरक्षा सल्लाहकार अजित डोभालसँग पनि भेटेका छन् । त्यस्तै उनले दिल्लीस्थित पूर्वकूटनीतिज्ञहरू र भारतीय कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरूसँग पनि भेटेका छन् ।

उनले नेपालले नयाँ संविधान जारी गरेर राजनीतिक प्रक्रिया पूरा गरेको र आर्थिक विकासको पथमा लागेको बताए । नेपालमा अहिले वैदेशिक लगानीका लागि राम्रो अवसर रहेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा लगानी गर्न आग्रह गरे । चारदिने भारतको राजकीय भ्रमण पूरा गरी दाहाल आइतबार स्वदेश फर्किंदैछन् ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.