खचाखच यात्रु बोकेको डुंगा सप्तकोसीमा दुर्घटना

खचाखच यात्रु बोकेको डुंगा सप्तकोसीमा दुर्घटना

धरान: सुनसरीको श्रीलंका टापुबाट प्रकाशपुर गाविसमा लाग्ने हटिया भर्न हिँडेका यात्रु बोकेको डुंगा शनिबार सप्तकोसी नदीमा दुर्घटना हुँदा कम्तीमा सातजना बेपत्ता भएका छन् । क्षमताभन्दा बढी यात्रु चढाएका कारण दुर्घटना भएपछि सप्तकोसीमा डुबेका ३७ जनालाई स्थानीय बासिन्दाले सकुशल उद्धार गरेका छन् ।

सुनसरीका प्रहरी प्रमुख एसपी पोषराज पोखरेलका अनुसार प्रकाशपुरमा लाग्ने शनिबारे हटियामा किनमेल गर्न उक्त डुंगामा ५० भन्दा बढी सर्वसाधारण चढेका थिए । डुंगा सप्तकोसीको बीचमा पुगेपछि छालमा परेर पल्टिएको थियो । डुंगा ठेकेदार तुफान चन्द्रवंशी आफैंले चलाएका थिए । चन्द्रवंशीसहित कम्तीमा सातजना बेपत्ता भएको पोखरेलले जानकारी दिए । उनले भने, 'बेपत्ता कति भन्ने यकिन हुन सकेको छैन तर कम्तीमा पनि सातजना नदीमा हराइरहेको हाम्रो अनुमान छ ।'

उद्धार गरिएका स्थानीय बासिन्दाले भने १५ जनाभन्दा बढी बेपत्ता भएको बताएका छन् । तर डुंगामा कति थिए र कति हराए भन्ने यकिन हुन नसकेको एसपी पोखरेलले बताए ।

दुर्घटनाको खबर पाएलगत्तै घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीको टोली उद्धारमा खटिएको थियो । कोसीमा अत्यधिक बाढी आएको र दिनभर पानी परेकाले बेपत्ता भएकाको खोजी कार्यमा समस्या भएको एसपी पोखरेलले बताए ।

उद्धार गरिएका श्रीलंका टापुका अर्जुन चन्द्रवंशीलेसप्तकोसी नदीमा डुंगा दुर्घटनामा परी बेपत्ता भएकाको उद्धारमा खटिएको नेपाली सेनाको टोली । सप्तकोसीको बीच भंगालोमा पुगेपछि डुंगा दुर्घटनामा परेको बताए ।

उनका अनुसार डुंगामा ६ बालबालिकासहित ५०–६० जना यात्रु थिए । 'कोसीको बीच भंगालोमा डुंगा पल्टियो । हेर्दाहेर्दै सँगैका साथीहरूलाई बगायो', उनले भने, 'दाउरा खोज्दै आएको अर्को डुंगामा रहेका स्थानीयले डुबेका ३७ जनाको उद्धार गरे, ज्यान बचाए ।'

उद्धार गरिएका विष्णु चन्द्रवंशीले कोसी टप्पुका बासिन्दा बाध्यताका कारण बाढी आएको कोसीमा डुंगाको भरमा यात्रा गर्नुपरेको गुनासो गरे । उनले भने, 'कोसी टप्पुका करिब पाँच हजार सर्वसाधारणलाई सरकारले सामान्य सेवासुविधासमेत प्रदान गरेको छैन । नुन, तेल, चिनीलगायत दैनिक उपभोग्य वस्तु खरिद गर्न प्रकाशपुर र महेन्द्रनगरको हाटबजार जानुपर्छ ।'

जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रमुख पोषराज पोखरेल, राष्ट्रिय अनुसन्धान कार्यालय सुनसरीका प्रमुख नगेन्द्र दाहाल, नेपाली सेनाको बटुकदल गणको इनरुवा गुल्मका गुल्मपति आमोद कार्की, सशस्त्र प्रहरी बल सीमा सुरक्षा कार्यालयका एसपी कृष्ण सुवेदीको नेतृत्वमा दुई सयभन्दा बढी सुरक्षाकर्मी र स्थानीय बासिन्दा उद्धारमा खटिएका छन् ।

बेपत्ताहरूको खोजीमा नेपाली सेना र सशस्त्र प्रहरीको दुईदुईवटा मोटरबोट र स्थानीय बासिन्दाका दुईवटा डुंगासहित उद्धार टोली परिचालन गरिएको छ । उद्धार कार्यमा सशस्त्र प्रहरीको गोताखोरसहितको टोली परिचालन गरिए पनि शनिबार साँझसम्म कसैलाई फेला पार्न नसकिएको एसपी पोखरेलले बताए ।

प्रकाशपुर र महेन्द्रनगर गाविसले यात्रुहरूको बिना सुरक्षा सप्कोसीमा डुंगा सञ्चालनको ठेक्का लगाएका कारण बर्सेनि सप्तकोसीमा दर्जनौं सर्वसाधारणले ज्यान गुमाउनुपरेको सप्तकोसी पीडित संघर्ष समितिका सचिव बाबुराम कार्कीले बताए ।

सुनसरीका प्रमुख जिल्ला अधिकारी मोहनबहादुर चापागाईंले डुंगा दुर्घटनाका विषयमा छानबिन गरिने बताए । उनले बेपत्ताको संख्या यकिन नभएकाले उदयपुर प्रहरीको सहयोगमा कोसी टप्पुका घरघरमा गएर हराएकाको पहिचान गर्न थालिएको बताए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.