हाँगा जरामा ‘जीवन’

हाँगा जरामा ‘जीवन’

काठमाडौः उनले घरमा दाउराको थुप्रोमाझ एउटा बेग्लै आकृति देख्न थाले । पृथक् दृष्टिकोण तेस्र्याएपछि त्यसले उनको ध्यान तानिरह्यो । अन्तरचेतनाले देखेको आकारमा ढाल्न त्यो काठ खुर्किन थाले । त्यसपछि त के चाहियो र ?

मन परेकी प्रेमिकालाई भेटिरहेजस्तो, गफ गरिरहेजस्तो, सुम्सुम्याइरहेजस्तो । कलाकार नरेन्द्रबहादुर श्रेष्ठ भेटिएका सबैजसो काठ र काठका टुक्रामा घोत्लिन थाले, बातचित गर्न थाले अनि तिनलाई दिन, रात सुम्सुम्याउन थाले ।

उनी रूख, जरा, बांगाटिंगा हाँगाहरू कतै फालिएका देखेपछि संकलन गर्न थाले । ४२ वर्षअघिको स्मृति गर्दै नरेन्द्रले भने, ‘घरमै ल्याएर त्यसैसँग खेल्न थालेँ, मेरो मनले खोजेको एउटा आकृति नबनुञ्जेल ।’ कवि एवं कलाकार नरेन्द्र आइतबारदेखि राजधानीमा पहिलोपटक यिनै दर्जनौं जराहरूमार्फत छताछुल्ल भएका छन् ।

दुई शताब्दी पुरुष राष्ट्रकवि माधव घिमिरे र वरिष्ठ संस्कृति एवं इतिहासविद् सत्यमोहन जोशीले बबरमहलस्थित आर्ट काउन्सिलमा जराहरूको घुम्टो खोलेपछि नरेन्द्र जराहरूमार्फत जनमनमा छताछुल्ल बनेका हुन् ।

कलामा रुचि हुनेहरूले नरेन्द्रको ‘दृष्टिकोणः जरामा अर्थ खोज्दा’ लाई दस दिनसम्म ३५ पृथक् कलात्मक जराहरूको स्वाद लिन सक्ने छन् । घिमिरेले भने, ‘नरेन्द्रबहादुर श्रेष्ठका कलामा आफ्नो युगको तस्बिर छ ।

कला लाभका निम्ति होइन, कलाकै निम्ति समर्पण हो भन्ने उनको दर्शन हो ।’ जोशीले थपे, ‘नरेन्द्रबहादुर श्रेष्ठका कलामा उन्नत चिन्तन र ज्यादै मनन्योग्य सन्देशको संयोजन छ । त्यही कारण म भित्री दिलैदेखि उनको कलाको प्रशंसक पनि हुँ ।’

आर्ट काउन्सिल पुगेका दर्शक भन्दै थिए, ‘फालिएका काठमा ज्यान भर्ने कलाकार ।’ कसैले भने, ‘जरामा पनि कस्तो जगमगाउँदो जीवन ? बोलुँला झैं ।’ उनको पहिलो र एकल प्रदर्शनीमा पुग्ने जो कोहीले भन्नेछ, ‘कसैको ध्यान नपुगेका, कसैको आँखा नपरेका, जो कोहीले सामान्य ठानेका र धेरैले मूल्यहीन सम्झेका काठ, हाँगा र जराबाट पनि यति सुन्दर कृति बन्दोरहेछ ? ’

काठेकलामा जीवन, जगत् र दर्शन खोज्ने नरेन्द्र र उनका यिनै जराका कलाहरूमाथि अशेष मल्ल, उषा शेरचन, माधव घिमिरे, डा. राजेन्द्र विमल, राजेन्द्र शलभ, रमण घिमिरे, कृष्ण जोशी, उषा शेरचनलगायत ३४ जनाले कविता लेखिसकेका छन् । राष्ट्रकवि घिमिरेको ‘जीवनको अन्तिम क्षण’ शीर्षकमा नरेन्द्रको काठेकलामा कविता लेखेका छन् ।

नरेन्द्रले भने, ‘यी कृति केवल एक आकृति, एक आवेग वा तत्क्षणका भावनाका उपज होइनन्, यिनमा तपाईंले धार्मिक, प्राकृतिक, सांस्कृतिक, राजनीतिक र पर्यावरणीय मिथक, दृश्यचित्र, परिघटना र पात्रहरू भेट्न सक्नुहुनेछ ।’


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.