रामलाल जोशीको ऐनालाई मदन पुरस्कार

रामलाल जोशीको ऐनालाई मदन पुरस्कार

काठमाडौं: पेसाले शिक्षक । जिन्दगीका करिब १४ वर्ष उनले चक घोटे । विद्यार्थीका बीचमा चिच्याएर पढाए । तर २०५७ सालमा प्रकाशन गरेको 'हत्केलामा आकाश' गजलसंग्रहपछि रामलाल जोशी साहित्य सिर्जनामा मौन देखिए । एकाएक २०७२ साल चैतमा उनले 'ऐना' नामको कथासंग्रह पाठकसामु पस्किए । सुदूरपश्चिमको धनगढीमा बसेर गरेको सिर्जना जब मदन पुरस्कार र पद्म श्री सम्मानको सूचीमा पर्‌यो, यसले साहित्यानुरागीमाझ एक खालको हलचल ल्यायो ।

'निजी जीवनकै संघर्षमा रुमल्लिएर हुँदैन भन्ने लाग्यो, एक वर्ष गुप्तबासजस्तै बसेर कथा लेखें', मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार दिने घोषणा गरेपछि जोशीले अन्नपूर्णसँग भने, 'लेख्दा पनि निराश थिएँ, प्रकाशनदेखि विमोचनसम्म पनि एकखालको असहज अनुभूति भइरहेको थियो । राजनीतिदेखि सबै क्षेत्र विसंगतिले गाँजिएको देख्दा कुनै उत्साह थिएन । तर केही क्षेत्र अझै जीवन्त रहेछन् भन्ने अनुभूति भइरहेको छ ।'

ऐना लेखेर प्रकाशन गर्दा पनि सुदूरपूर्व र पश्चिमका पाठकको मन जित्न सक्छु कि सक्दिनँ भन्ने चिन्ता आफूमा रहेको उनले बताए । 'जब कृतिले आजको अवस्था दिलायो, मैले केही लेखेको रहेछु भन्ने लागेको छ', कथाकार जोशीले भने, 'म कुनामा बसेर सागरमा होमिएको लेखकको यो मूल्यांकनले अझै सत्यता बाँकी छ भन्ने पुष्टि गरिदिएको छ ।'

मंगलबार मदन पुरस्कार गुठीले २०७२ सालको मदन पुरस्कार रामलाल जोशीद्वारा लिखित 'ऐना' लाई दिने निर्णय गरेपछि उनले आफ्ना पुराना दिन स्मरण गरे । उनले तिनै सेरोफेरोमा मुलुकभित्रका अनेक विदीर्ण अनुहार ऐनामा कोरेका छन् ।

'म ६ वर्षको हुँदा बाबाले टुहुरो बनाएर जानुभयो । उहाँको डायरीमा कोरिएको एउटा कविता मैले पढें', उनले साहित्यमा लाग्नुको रहस्य खोल्दै भने, 'त्यही मार्मिक कविताले मलाई साहित्यमा लाग्ने प्रेरणा दिएको थियो, आज यो उचाइ दिलाएको छ । यो मेरो बुवाले कोरिदिएको मार्ग थियो अनि विधवा आमाको कठोर संघर्षको प्रतिफल ।' २०३१ फागुन १७ गते डोटीको कानाचौरमा जन्मिएका जोशीका पिता स्वर्गीय हरिभक्त जोशी र माता तुलसादेवी जोशी हुन् ।

मदन पुरस्कारले उत्साहितमात्रै नभएर एउटा गहन भारी बोकाएको जोशीले बताए । आफूले पुरस्कार नै पाउन साहित्य नलेखेको भन्न रुचाउने जोशीले भने, 'मैले त मोफलसमा बसेर भोगेको, बाँच्दाखेरि देखेको अनुहार कथामा उतारेको हुँ, मलाई डर थियो, यसले पाठकको मन जित्ला कि नजित्ला ? तर आज जित्न सकेछु भन्ने लागेको छ । अब यो उचाइको गरिमा जोगाइराख्ने चुनौती आइलागेको छ ।'

यसैगरी गुठीले चर्चित उपन्यास 'बसाइँ' का उपन्यासकार लीलबहादुर क्षेत्रीलाई २०७२ सालको जगदम्बा पुरस्कार प्रदान गर्ने निर्णय गरेको छ । भारतको असम गुवाहटीमा सन् १९३२ मा जन्मिएका क्षत्रीले अतृप्त, ब्रह्मपुत्रको छेउछाउलगायत कृति लेखेका छन् । ब्रह्मपुत्रको छेउछाउका लागि उनले भारतीय साहित्य एकेडेमी पुरस्कार प्राप्त गरिसकेका छन् । उनी ६० वर्षदेखि नेपाली भाषा र साहित्यको श्रीवृद्धिमा समर्पित छन् ।

गुठीले २०७२ सालका लागि रामलाल जोशीको ऐना, भुवनहरि सिग्देलको आमोई, घनश्याम खड्काको निर्वाण, नीलम कार्की निहारिकाको चीरहरण, सरिता तिवारीको प्रश्नहरूको कारखाना, बुद्धिसागरको फिरफिरे र दामोदर पुडासैनी 'किशोर' को सिमानाका रंग सिमानाका तरंगलाई पुरस्कारका लागि सूचीमा पारेको थियो । जोशीको कृति पद्म श्री पुरस्कारका लागि पनि सूचीमा परेको थियो ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.