शिल्पीमा कविताका चित्र 

शिल्पीमा कविताका चित्र 

हजुरले कुल्चेर आएका मजदुरका रगत
हजुरले कुल्चेर आएका सुत्केरीका स्तन
हजुरले कुल्चेर आएको आफ्नै वीर्य
कालो पोतेर छोपछाप पारेपछि
म मेरो भोक मेट्छु
तर, बुझ्दिनँ
हजुर किन मन पराउनुहुन्न कालो रङ ?
000
माफ गर्नुहोला हजुर
धेरै वर्षपछि आज मलाई
यो कालो पालिस
हजुरकै अनुहारमा पोत्न मन लागेको छ !

प्रकाश गुरागाइँको 'हजुरको बुट' शीर्षकको यो कवितामा मनीष हरिजनले चित्र बनाउँदै थिए । सुन्दर अनि महँगो कुर्सीको चित्र भएको क्यानभासमा जुत्तामा लगाउने पोलिसको बट्टा र ब्रस टाँसिएको थियो । उत्पीडनको बाँध फुटेर निस्किएको आक्रोशको ज्वारभाटाले सलक्कै समुद्रकिनारको बालुवा बगाएजस्तै कुर्सीको माथिल्लो भागमा त्यसको सुन्दरता कुरूप बनाउँदै लपक्कै कालो पोतिएको थियो ।

सोमबार शिल्पी थिएटरको आँगनदेखि मञ्च भरिभराउ थियो । कोही कविता सुन्न मस्त त कोही चित्रकला हेर्न व्यस्त । कविहरू भित्र कविता सुनाउँदै थिए, चित्रकारहरू बाहिर तिनै कवितामाथि रङ पोत्दै थिए । उन्मुक्त पुस्तकको जमर्कोमा कवितासंग्रह 'आफर' विमोचन हुँदै थियो ।

आठजना कविका दलित सौन्दर्यशास्त्रमा आधारित ३२ वटा कविता समावेश आफरको विमोचन समारोह कुनै कम्युनिस्ट आन्दोलनको कार्यक्रमजस्तै थियो । कवितामा उत्पीडनका कुरा उठाइएको छ । यो विषय समाज र राजनीतिभन्दा अलग अवश्य पनि छैन ।

कार्यक्रममा शक्तिशाली कवितावाचनमात्र नभई परिवर्तनका लागि आवश्यक विषयमाथि पनि छलफल भयो । लेखक आहुतिले आठ कविको लेखनशैलीको मूल्यांकन गर्दै भने, 'अबको लेखन सहानुभूतिको स्तरबाट माथि उठ्न जरुरी छ, अहिलेसम्म भएका बहसलाई उल्ट्याउन जरुरी छ ।' समता बुक्सले बजारमा ल्याएको कवितासंग्रह जातीय विभेदविरुद्धको आन्दोलनको अंश हो । जसले दलितका पीडामात्र नभई आक्रोश पनि बोलेको छ ।

कलाकार लालकाजी लामाले कवि मोक्तान थेवेको कविता 'अन्तर्राष्ट्रिय जात' माथि चित्र बनाए । सधैं चलिआएको कुरा हो, कुनै नौलो कुरा यसमा थिएन, दलितले भगवान्को मूर्ति कुँदिरहेका । सुन्दर गणेशको मूर्तिमा दलितको रगत, पसिना मिसिएको छ । भगवान्कै निर्माता त्यही भगवान्को मन्दिरमा जानबाट वञ्चित छ ।

पीडालाई आँसुबाट बगाइरहेको दृश्य चित्रमा देखिएको छ । कलाकार आरएन मौनिकले कवि केवल विनावीको, देवेन्द्र थुम्केलीले केशव सिलवालको, केशव खनालले केशरी अमगाईंको, नारदमणि हार्तम्छालीले माधव घिमिरे अटलको, भानु भट्टराईले राजु स्याङ्तानको र अजित शाहले हरिशरण परियारको कवितामाथि चित्र बनाए ।


प्रतिक्रिया दिनुहोस !

Unity

working together is no longer optional-it is a matter of compulsion

Annapurna Media Network has announced the Unity for Sustainability campaign which comes into force from January 1, 2022. The main aim of this campaign is to 'lead the climate change dialogue' working closely with all the stakeholders on sustainable development mode, particulary focusing on climate-change issues.